देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज दशौं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

देशान्तर

काठमाडौं । दशौं गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सरकारले साँझ देशभर सबैका घरघर, कार्यालय, व्यापारिक प्रतिस्ठानलगायतमा दिपावली गर्न आग्रह गरेको छ । दुई सय ४० वर्ष लामो शाही राजतन्त्र अन्त्य भएको आज ९ वर्ष पूरा भएको छ । पहिलो संविधानसभाको चुनावपछि गठन भएको संविधानसभाको पहिलो बेठकले २०६५ साल जेठ १५ गते अर्थात आजैका दिन राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

राजनीतिक रुपमा गणतन्त्र स्थापनालाई महत्वपूर्ण उपलब्धी ठानिए पनि जनताको जनजीवनमा खासै परिवर्तन ल्याउन नसकेको गुनासो बढेको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार जेठ १४, १५ र १६ गते राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिदैछन् । कार्यक्रमअन्तर्गत शनिवार विभिन्न सञ्चारमाध्यमबाट गणतन्त्र दिवसबारे प्रचारप्रसार, पत्रपत्रिकामा गणतन्त्र विशेषाङ प्रकाशन, गणतन्त्रको महत्व सम्बन्धमा परिसंवादलगायतका कार्यक्रम राखिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जंगी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा जेठ १६ गते रेडियो नेपालबाट फूलबारी सम्मेलन, दीपावलीलगायतका कार्यक्रम सार्वजनिक गरिनेछ । तीन दिनसम्म भव्यरुपमा मनाउने गरी घोषित अन्य कार्यक्रमअनुसार विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा विभिन्न कार्यक्रम आयोजनाका साथै उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमका साथ राष्ट्रिय दिवसका रुपमा कार्यक्रम गरिने मूल आयोजक समितिले जनाएको छ ।