देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटाइने

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताए ।

चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने आयोगले तयारी गरेको हो । उक्त निर्वाचनबाट २३ हजार ३८३ जनप्रतिनिधिको चयन हुनेछ ।

चारवटा प्रदेशका ४३ जिल्लामा जेठ ६ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ । मुख्य निर्वाचन अधिकृतका रुपमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशले जिम्मेवारी सम्हाल्ने छन् भने निर्वाचन अधिकृतको जिम्मेवारी निजामती सेवा वा न्याय सेवाका उपसचिवस्तरका कर्मचारीबाट हुनेछ ।

स्थानीय तहमा मतदान अधिकृतको कार्यालय यही जेठ १५ गते खोलिने छ । मुख्य निर्वाचन अधिकृतले समग्रमा जिल्लाभरिको निर्वाचन प्रक्रियाको नेतृत्व गर्नुका साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहको मतदान अधिकृतको कार्यसमेत गर्नेछ ।

मुख्य निर्वाचन अधिकृतले त्यस जिल्लाको हरेक मतदान केन्द्रमा पठाउनुपर्ने निर्वाचन सामग्रीको रुजु गर्ने, अन्य बन्दोबस्तीका सामग्रीको प्रबन्ध गर्ने, मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन तथा तालिम गर्ने लगायत कार्य गर्ने छन् ।

प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी दिए ।

दोस्रो चरणको निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।

सरकारले पछिल्लोपटक २२ स्थानीय निकाय थप गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतको आदेशले स्थगित भएको छ ।