देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन भ्रमण स्थगित गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब

देशान्तर

काठमाडौं । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री दाहाललाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले जानकारी दियो । देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने गरी बोआओ मञ्चको सम्मेलन र बेइजिङ पठाउन आग्रह गरेकोसमेत उनीनिकट स्रोतले बताएको छ ।

‘पछिल्लो घटनाक्रमबारे निकटस्थहरूसँग छलफल गर्ने क्रममा मंगलबार साँझ सभापतिले प्रधानमन्त्रीज्यूलाई फोन गरेर आग्रह गर्नुभएको हो,’ देउवानिकट स्रोतले भन्यो । तर, यसबारे प्रधानमन्त्री र देउवाको सचिवालयले आधिकारिक जानकारी दिएका छैनन् । परराष्ट्र स्रोतले भने प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको र यसबाहेक अन्य विषयमा जानकारी नआएको जनाएको छ । १५ सदस्य भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ७ दिन लामो चीनको भ्रमणका लागि बिहिबार चीन जाने भएका छन्। चीनको हाईनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोआओ फोरममा भाग लिन दाहाल चीन जान लागेका हुन्।

भ्रमणमा टोलीमा दाहाल पत्नी सीता, पुत्र प्रकाश, दुई सुरक्षा अधिकारी र प्रेस सल्लाहकार गोविन्द आचार्यसँगै रहने छन्। साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव र अन्य सरकारी अधिकारीहरु पनि दाहालसँगै चीन जानेछन्। परराष्ट्र स्रोतका अनुसार दाहालले मार्च २५ मा बोआओ फोरममा सम्बोधन गर्नेछन् र २६ तारिखमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटका लागि बेइजिङ जानेछन्। दाहाल २८ तारिखमा तिब्बतको ल्हासामा एक रात बिताएर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।