देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेशमान सिंहले शिलान्यास गरेको विमानस्थलको निर्माण तिव्र

देशान्तर

राजविराज ।  विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको निर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ ।  २०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको सो विमानस्थलको निर्माण कार्य एक महिनादेखि यता तीव्र पारिएको हो । सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले जिम्मा पाएपछि निर्माण कार्य सुरु भएको हो ।

 करिब  ३० करोडमा उक्त कम्पनीले ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको बताइएको छ । माटो भराइको काम सकिएपछि पिचिङको कार्य सुरु गरिने सो कम्पनीले जनाएको छ ।  कम्पनीका इन्जिनियर मणिगोविन्द श्रेष्ठका अनुसार पिचिङका लागि चैतदेखि जेठसम्मको समय उपयुक्त हुने भएकाले  त्यस अवधि भित्रै काम पूरा गर्ने प्रयास भइरहेको छ । 

एकहजार पाँचसय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग र ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एकसय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए । धावनमार्ग निर्माण भइसकेपछि राष्ट्रियस्तरको जुनसुकै उडान यहाँबाट बाह्रै महिना भर्न सकिने बताइएको छ ।  विमानस्थलको स्तरोन्नति भएपछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरीका बुद्धिजीवीको भनाइ रहेको छ । विकास निर्माणको दृष्टिकोणले सप्तरी पछाडि परेको अवस्थामा राजविराजमा विमानस्थल सञ्चालन भइसकेपछि जिल्लाको समग्र विकासमा योगदान मिल्ने र यसमा सबै राजनीतिकर्मीले समेत ठोस कार्यमा ध्यान दिनुपर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्रकुमार मण्डलले बताए ।

 विमानस्थलको स्तरोन्नतिका लागि जिविस सप्तरीले छुट्याएको दुई करोड बजेटबाट हवाई मैदानको घेराबेरा गर्ने कामसमेत थालिएको जिविसले जनाएको छ । पञ्चायतकालमा काठमाडौँ र खोटाङको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदै आएको थियो । कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेका थिएनन् । 

]]>