सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेपाल वायुसेवा निगम
निगमको भविष्य एकदम उज्ज्वल छ । दुईवटा वाइडबडी जहाज आइसकेपछि फेरि अर्को दुईवटा न्यारो बडी जहाज किन्छौ । त्यसपछि हामी भारतलगायत चीनका विभिन्न सहरहरूमा गन्तव्य विस्तार गर्छौं । र, नेपालको राष्ट्रिय ध्वजावाहक २०–२५ वर्षअगाडि दक्षिण एसियाकै सबैभन्दा राम्रो एअरलाइन्स भनेर स्थापित थियो ।
दुईवटा नयाँ वाइड बडी हवाईजहाज खरिद गर्ने प्रक्रिया अघि बढेको छ, जहाज कहिले आइपुग्छ ?
अबको ८ देखि १६ महिनाभित्र दुईवटै जहाज आइसक्छ । विस्तृतमा कुरा गर्न बाँकी नै छ । खरिद सम्झौता हुन बाँकी नै छ । पर्चेच एग्रिमेन्ट नेगोसिएसन हुनुपर्छ । यो सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ला । यति नै समय लाग्छ भन्न अलि गाह्रो छ । तर ८ देखि १६ महिनाभित्रमा दुईवटै वाइड बडी जहाज नेपाल आइसक्छ ।
पचेर्च एग्रिमेन्ट नेगोसिएसन चाहिँ कहिले हुने कुरा छ ?
अर्को हप्तादेखि सुरु हुने सम्भावना छ । अहिले चाहिँ एमओयूमात्र हुन्छ । एमओयूमा हस्ताक्षर गर्न सम्बन्धित कम्पनीलाई पत्राचार भइसकेको छ । सायद आज (आइतबार) भोलिसम्ममा एमओयूमा हस्ताक्षर हुने सम्भावना छ ।
यसअघि असोजसम्ममा जहाज ल्याइसक्ने लक्ष्य थियो, हैन ?
हो, तर राजनीतिक तहबाट निर्णय गर्न अलि ढिलो भएकोले असोजसम्ममा ल्याउन सम्भव भएन ।
जहाज खरिदको लागि आर्थिक स्रोत कसरी जुटाउँदै हुनुहुन्छ । यसका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिने तयारीमा निगम छ भन्ने पनि सुनिएको छ । यसबारेमा बताइदिनुस् न ?
विदेशी वित्तीय संस्थाबाट पनि एकदुई ठाउँबाट कुरा आएको छ । यसबारेमा अहिले प्रारम्भिक छलफलमात्रै भएको छ । ठोस रूपले कुरा अघि बढिसकेको छैन । एक–दुईजनाले विदेशबाट सस्तो ब्याजदरमा पैसा ल्याउन सक्छु भनेका छन् ।
कहाँ–कहाँबाट त्यस्तो प्रस्ताव आएको हो ?
दिल्लीबाट एकजना मान्छे आएका थिए । अरू चाहिँ नेपाली संस्थाहरू नै आएका थिए ।
तपाईंहरूको इच्छा पनि विदेशी वित्तीय संस्थाबाटै ऋण लिने हो ?
हाम्रो इच्छा भनेको जसले सस्तो ब्याजदर दियो त्यसैका जाने भन्ने हो । अन्तर्राष्ट्रिय संस्थाबाट ल्याउँदाखेरि विनिमय दरको रिस्क हुन्छ कि भन्ने हो । विदेशी संस्थाले धेरै सस्तो ब्याजदरमा पैसा दियो भने त नेपाल एयरलाइन्सलाई मात्रै होइन देशलाई नै फाइदा हुन्छ । त्यस्तो हुने हो भने किन नलिने भन्ने हो ।
यहाँ पनि सञ्चय कोष, नागरिक लगानी कोषले लगानी गर्न इच्छुक छ नि ?
यहाँबाट लिँदा साढे ७ देखि ९ प्रतिशतसम्म ब्याजदर पुग्न सक्छ । विदेशबाट ल्याउँदा आधा नै ब्याजदर सस्तो हुन्छ भने हामी त्यतै जानुपर्छ । यस्तो भयो भने त नेपाल एयरलाइन्सको लागि ठूलो उपलब्धि हुन्छ नि । त्यो हिसाबले प्रारम्भिक कुरामात्रै गरिराखेको हो, केही निर्णय भएको छैन । बोर्डमा छलफल गर्न बाँकी छ ।
तपाईं निगममा आएदेखि खाली जहाज खरिदको मात्रै कुरा गरिरहनुभएको छ । जहाज खरिद गरेपछि निगम नाफामा जाने ग्यारेन्टी छ ?
यो कुरा त शतप्रतिशत सही हो नि । फ्याक्ट्रीमा मेसिन नराखेपछि समान कहाँबाट उत्पादन हुन्छ ? फ्याक्ट्री बनाउने, कामदार राख्ने अनि मेसिन चाहिँ नराख्ने भयो भने त्यसले उत्पादन गर्न सक्छ ? वायुसेवा निगम छ तर जहाज छैन भने कसरी नाफा हुन्छ । जहाज नकिन्ने हो भने निगम पनि खारेज गरिदिए भइगो ।
तपाईं आएपछि निगम जहाज किन्न सफल भएको छ । निगमले जहाज किन्न खोजेको धेरै वर्ष भयो, तर सफल भएको थिएन । तपाईं चाहिँ कसरी सफल हुनुभयो ?
कुनै पनि चिजमा कन्भिन्स गराउन सक्नुपर्छ । अहिले आएर नेपाल सरकारले पनि महसुस गर्यो, जहाज नकिन्ने हो भने निगम चल्न सक्दैन भनेर । जहाज नकिनेसम्म नेपाल एअरलाइन्स माथि आउँदैन, नेपाल एयरलाइन्स माथि नआएसम्म पर्यटक भित्र्याउन मद्दत पुग्दैन भन्ने सबैतिरबाट महसुस भएपछि यो सफलता हात परेको हो । देशको आर्थिक विकास गर्ने हो भने अहिले जस्तो वर्षको सात लाख पर्यटककै रमाएर बस्न मिल्दैन । मलेसियाले सवा दुई करोड पर्यटक भित्र्याउँछ, थाइल्यान्डले पनि डेढ करोड भित्र्याउँछ, त्यति सानो सिंगापुरमा सवा करोड पर्यटक आउँछन् वार्षिक रूपमा, कम्बोडियामा ५० लाख भित्रिन्छन् अनि हामीचाहिँ ७–८ लाख पर्यटकमै मक्ख परेर बस्न मिल्छ ? एसियाको सबैभन्दा महँगो हवाई गन्तव्य काठमाडौं भइराखेको छ । संसारभरिबाट आउँदा दिल्ली जान सस्तो, बैंकक जान सस्तो, हङकङ जान सस्तो तर नेपाल चाहिँ महँगो । यो कारणले पनि पर्यटक कम आउँछन् । काठमाडौं गन्तव्यलाई सस्तो बनाउन पनि नेपाल एयरलाइन्सको क्षमता बढाउनुपर्छ । राष्ट्रिय ध्वजावाहक माथि नआएसम्म पर्यटन क्षेत्र पनि माथि आउन सक्दैन र पर्यटन क्षेत्र माथि नआएसम्म हाम्रो अर्थतन्त्र पनि माथि आउन सक्दैन । विदेशी मुद्रा आर्जन गर्न पर्यटन क्षेत्रको जति योगदान अरूले गर्नै सक्दैन । विदेशी मुद्रा नेपालमा ल्याउने कि त रेमिट्यान्स नै हो, कि त पर्यटन क्षेत्र नै हो ।
संसारभरिकै अवस्थालाई हेर्दा एयरलाइन्स व्यवसाय त्यति नाफा कमाउने व्यवसाय होइन, धेरै लगानी गरेर थोरै मुनाफा कमाउने व्यवसाय भनिन्छ नि ?
नाफामा चल्ने व्यवसाय हो तर अरू क्षेत्रभन्दा कम नाफा कमाउछ, यो सत्य हो । कम नाफा छ भनेर नेपाल एयरलाइन्सले सेवा विस्तार नगर्ने हो पर्यटक कसरी आउँछन् । पर्यटक नआएपछि अर्थतन्त्र पनि माथि आउँदैन । रोजगारी सिर्जना हुन सक्दैन । अस्ति समाचार आएको थियो, नेपालका बैंकहरूको ३५ अर्ब लगानी होटेलहरूमा रहेछ । पर्यटक आएनन् भने ती होटेलहरू कसरी चल्छन् ? होटेल पनि डुब्छ, बैंक पनि डुब्छ । यो कारणले पनि राष्ट्रिय ध्वजावाहकलाई माथि ल्याउनै पर्छ ।
तपाईं आएपछि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज आइसकेको छ । त्यसपछि केही अन्तर्राष्ट्रिय गन्तव्य पनि वृद्धि भयो । यो हिसाबले निगमको व्यवसाय र नाफा कत्तिको बढेको छ ?
व्यवसाय पनि बढेको छ, हाम्रो क्यास फ्लो पनि राम्रो भएको छ । विदेशी एयरलाइन्ससँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । हामी आहिले अन्तर्राष्ट्रिय रूपमा ८ वटा गन्तव्यमा गइरहेका छौं । ती आठवटा गन्तव्यमा विदेशी एयरलाइन्सहरूले कति अकुपेन्सी गर्यो त्यसलाई हेर्दा प्रष्ट हुन्छ, निगमको प्रगति । यो चार महिनाको अवस्थालाई हेर्दा विदेशी एअरलाइन्सको ७० प्रतिशत अकुपेन्सी थियो भने हाम्रो ७० दशमलव ५ प्रतिशत अकुपेन्सी रह्यो । विदेशीभन्दा हाम्रो अकुपेन्सी बढी छ भनेपछि योभन्दा राम्रो व्यवस्थापन खोज्न कहाँ जाने ?
अहिले त निगमले सबैभन्दा धेरै कमाइ गर्ने नै ग्राउन्ड ह्याल्डलिङको कामबाट हो । अब जहाज थपिएपछि निगमलाई बाच्न ग्राउन्ड ह्यान्डलिङको काम नलिए पनि हुन्छ होला नि, हैन ?
पहिलो कुरा, ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी संसारभरि नै राष्ट्रिय ध्वजावाहकले नै सम्हाल्छ । त्यसैले निगमले ग्राउन्ड ह्याल्डलिङ छोड्दैन । निगमले ४०–५० वर्षदेखि ग्राउन्ड ह्याल्डलिङ गर्दै आएको छ भने अहिले आएर छोड्ने भन्ने प्रश्नै आउँदैन । चलिरहेको, नाफा हुने व्यापार किन छोड्ने ? अर्को कुरा जहाज थपिएपछि उडानबाट पनि कमाइ हुन्छ नै । त्यसमा दुई मत छैन ।
तर ग्राउन्ड ह्यान्डलिङमा निजी क्षेत्रले पनि आँखा गाडेको अवस्था छ, कुनै दिन निजी क्षेत्रलाई दिइयो भने पनि निगम बाँच्न सक्छ कि सक्दैन भनेको ?
निजी क्षेत्रले राम्रो व्यापारमा आँखा लगाउनु स्वाभाविकै हो । तर त्यसो भन्दैमा निगमले छोड्नुपर्छ भन्ने छैन ।
वाइड बडी जहाज आइसकेपछि व्यावसायिक योजना के छ ?
हामीले तीन वर्षको बिजनेस प्लान भव्य रूपमा सार्वजनिक गरिसकेका छांै । हाम्रो चार्टर्ड एकाउन्टेन्डेटले बनाएर, विदेशी कन्सल्यान्टले हेरेर तीन सय पेजको बिजनेस प्लान हामीले सार्वजनिक गरिसकेका छौं । त्यही प्लानअनुसार नै अहिले हवाईजहाज किनिरहेको हो ।
भनेपछि अब निगमको हवाई गन्तव्यहरू फराकिलो हुन्छन्, हैन ?
अवश्य पनि गन्तव्य थपिन्छ । हामी युरोपसम्म सिधा उडान गर्न सक्षम हुनेछौ । नयाँ जहाज काठमाडौंदेखि युरोपको लन्डनसम्म नन्स्टप पुग्न सक्छ । त्यति क्षमता भएको हवाईजहाज हामीले ल्याउन लागेका हौं ।
बिहीबार नयाँ चिनियाँ जहाज पनि भित्र्याउनु भयो । चिनियाँ जहाजबारे विभिन्न नकारात्मक कुरा उठिराखेको भए पनि नयाँ जहाज चाहिँ ल्याउनु भयो, किन ?
यो नयाँ जहाज किनेको हैन । तीन चार वर्षअघि नै नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताबमोजिम आएको जहाज हो । यो नयाँ निर्णय गरेर ल्याइएको हैन । त्यतिबेला ६ वटा हवाईजहाज ल्याउने सम्झौता भएको थियो । त्यसबमोजिम चारवटा आइसक्यो । अब अझै दुईवटा बाँकी छ । हो, यो जहाजको प्राविधिक विषयमा बीचमा केही समस्या भएको थियो । त्यो सबै समस्या समाधान गर्छु भनेर चिनियाँ पक्षले लिखित प्रतिबद्धता जनाइसकेको छ । त्यही प्रतिबद्धतापछि ल्याउन बाँकी जहाज ल्याइएको हो ।
त्यसो भए अब चिनियाँ जहाज सेतो हात्ती सावित नहोला, हैन ?
हँुदैन, अब सेतो हात्ती हैन, खैरो हात्ती नै हुन्छ ।
तर, यात्रुहरू चिनियाँ जहाज चढ्न डराइरहेका छन् भनिन्छ । अस्ति पनि चिनियाँ जहाज यात्रु नचढेर उडान नै रद्द भएको समाचार आयो ?
त्यो कुरा सत्य होइन । कोही पनि डराएका छैनन् । यसको इन्जिन अमेरिकाको सबैभन्दा राम्रो कम्पनीले बनाएको हो, पंखा क्यानडाको कम्पनीले बनाएको हो । भित्रको धेरै पाटपुर्जा पश्चिमका नाम चलेका कम्पनीहरूको छ । भनेपछि सुरक्षाको दृष्टिबाट अरू कम्पनीका जहाजभन्दा यो एक सिन्का पनि फरक छैन । हामीले केही समयअघिसम्म पनि चिनियाँ जहाज फुल अकुपेन्सीमा चलाइराखेकै थियौं । सुरक्षित नभएको भन्ने हल्लामात्रै हो ।
केही समय अगाडि निगममा विदेशी पाइलटले काम गर्न नपाउने कुरा उठेको थियो, यसमा के भइराखेको छ ?
उड्डयन क्षेत्रमा संसारभरि नै विदेशी पाइलटले काम गरिराखेका छन् । उदाहरणको लागि अहिले भियतनाममा ६० प्रतिशत विदेशी पाइलट छन् । चीनको चाइना एअरलाइन्समा ४० प्रतिशत विदेशी छन् । पाइलट भनेको कस्तो पेसा हो भने तालिम लिएर बोर्ड फस्ट आउनेबित्तिकै क्याप्टेन हुन पाइँदैन । ४–५ वर्ष अनुभव हासिल गर्नैपर्छ । त्यसैले हामीले हाम्रो पाइलट विकास नभएसम्मको लागि विदेशी पाइलट लिनै पर्छ । अहिले भएको जहाज पनि सुरुसुरुमा विदेशी पाइलट ल्याएर चलाएको हो । अहिले चाहिँ नेपालीले नै चलाइरहेका छन् । अब हामी विज्ञापन गरेर पाइलट पनि भर्ना गर्दैछांै । फ्रेस पाइलट लिने कि भनेर विचारविमर्श भइरहेको छ ।
अन्त्यमा, निगमको भविष्य र भावी कार्ययोजनाहरू के–के छन् ?
निगमको भविष्य एकदम उज्ज्वल छ । दुईवटा वाइडबडी जहाज आइसकेपछि फेरि अर्को दुईवटा न्यारो बडी जहाज किन्छौ । त्यसपछि हामी भारतलगायत चीनका विभिन्न सहरहरूमा गन्तव्य विस्तार गर्छौं । र, नेपालको राष्ट्रिय ध्वजावाहक २०–२५ वर्षअगाडि दक्षिण एसियाकै सबैभन्दा राम्रो एअरलाइन्स भनेर स्थापित थियो । त्यही साख फेरि फिर्ता गर्न हामी लागिपरेका छौं । त्यो मार्गमा हामी सफल पनि हुँदै गएका छांै । हामीले अहिले २६ वटा एअरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेका छौ । करौडौ डलर हैसियत भएका कम्पनीहरूसँग प्रतिस्पर्धा गरेर पनि उनीहरूले जत्तिकै हामीले व्यवसाय गरिरहेका छौं । त्यसैले यहा दुई सय वटा कम्पनीले वाइड बडी चलाउन सक्ने, दुई सयवटा राष्ट्रका हजारौ एअरलाइन्सले राष्ट्रिय ध्वजावाहकको रूपमा व्यापार गर्न सक्ने तर नेपाली भएकोले हामी चलाउन सक्दैनांै भन्ने मानसिकता छोड्नु पर्यो । यही मानसिकताले गर्दा नेपाल पछाडि परेको हो । सबैले गर्न सक्ने हामीले किन गर्न नसक्ने ? दुई–चारजनाले भनेको सुन्छु, वाइड बडी चलाएर नेपाल एयरलाइन्सले खान्छ र ? मेरो जवाफ चाहिँ यो छ कि यो प्रश्न नै गलत हो । मुलुकले विकास गर्न सक्छ र भनेर सोध्न पाइन्छ ? विकास त जसरी भए पनि गर्नै पर्यो नि पाउने तीन करोड जनताको लागि । दुई सयवटा राष्ट्रमध्ये एक सय ९९ ले विकास गर्न सक्ने तर नेपालले नसक्ने हुन्छ र ? नेपाल चाहिँ के मंगल ग्रहबाट आएको हो र ? दुईवटा वाइड बडीमात्रै होइन थप्दै गएर पाँच–सात वर्षमा १०–१२ वटा वाइड बडी ल्याउनुपर्छ । त्यसपछि पर्यटक ४०–५० लाख पुग्छ । त्यसपछि रोजगारी सिर्जना हुन्छ । आर्थिक उन्नति हुन्छ ।
]]>
प्रतिक्रिया