देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी निवासबाट पूर्वराजाको बर्बराहट

देशान्तर

काठमाडौं । नेपालबाट राजतन्त्र उन्मूलन भएको सात वर्ष पूरा भइसकेको छ । जनताले पटकपटक मौका दिँदा पनि निरंकुशताको लाठी बर्साउन नछोडे पछि जनता राजतन्त्रको विकल्प खोज्न बाध्य भएका हुन् । पटकपटक प्रजातन्त्रविरुद्ध षड्यन्त्र गर्ने र राजनीतिक अस्थिरताको बीजारोपण गरिरहने विगतमा राजतन्त्रको प्रवृत्ति रह्यो । २१ औं शताब्दीका सचेत नागरिकलाई समेत अधिनायकवादको लाठी देखाएर शासन गर्ने उत्कट अभिलाषा बोक्नु नै नेपाली राजतन्त्रको लागि अभिशाप बन्न पुग्यो ।

अन्तत: २०६४ साल जेठ १५ गते नेपाली जनताले निर्माण गरेको सार्वभौम संविधानसभाले राजा ज्ञानेन्द्रलाई सम्मानपूर्वक पूर्वराजाको दर्जा दिँदै सदाका लागि दरबारबाट बिदा गर्‍यो र नेपाललाई गणतान्त्रिक मुलुकमा परिणत गर्दै निरंकुशताको बिउ मास्यो । शान्तिपूर्ण तवरले भएको यो परिवर्तन विश्वमै उदाहरणीय बन्यो । नेपाली जनताले निरंकुशताको लाठी बर्साउने ज्ञानेन्द्र शाहलाई सम्मानपूर्वक पूर्व राजाको हैसियत दिए सरकारी निवास नागार्जुनमा राखेको घटना विश्वमै उदाहरणीय बन्यो । 

तर, नेपाली जनताले दिएको त्यो सम्मानसमेत पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपाच्य भएको प्रतीत हुन थालेको छ । उनले आफ्नो हैसियत बिर्सेर जसरी राजनीतिक गतिविधिमा आफूलाई संलग्न गराइरहेका छन् त्यसले उनी पूर्वराजाको हैसियतमा सन्तुष्ट छैनन् भन्ने बुझ्न कठिन छैन । गत बुधबारबिना कुनै अवसर उनले आफूलाई ‘श्री ५ महाराजाधिराज’ कै दर्जा दिएर जुन राजनीतिक विज्ञप्ति सार्वजनिक गरे त्यसले उनको यही असन्तुष्टिलाई अझ प्रष्टसँग सतहमा ल्याइदिएको छ । न कुनै चाड, न कुनै अवसर उनले विज्ञप्ति जारी गरेर र जनतालाई अहिलेको राजनीतिक प्रणालीविरुद्ध सडकमा आउन अप्रत्यक्ष रूपमा आह्वान गरेका छन् ।

संविधान कार्यान्वयनमा देखा परेको जटिलता, दलहरूबीच चुलिएको ध्रुवीकरण र राष्ट्रियता माथि बढिरहेको चुनौतीको मौका छोपेर ज्ञानेन्द्रले आफ्नो पुनरुत्थानको सपना बुनिरहेको उनले विज्ञप्तिमा प्रयोग गरेको भाषाबाट प्रष्ट हुन्छ । 

‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवद्वारा जारी गरिबक्सेको प्रेस विज्ञप्ति’ शीर्षक दिइएको उक्त प्रेस विज्ञप्तिमार्फत ज्ञानेन्द्र अहिलेका राजनीतिक दल र गणतान्त्रिक प्रणालीमाथि ठाडै चुनौती दिएका छन् । यसबाट ज्ञानेन्द्रले आफूलाई राजनीतिको मैदानमा उतारेका छन् । त्यसैले अब उनलाई राज्यले पूर्वराजाको हैसियत दिनुपर्ने कारण पनि समाप्त भएको छ । कतिपयले उनले देशको एउटा नागरिकको हैसियतले विज्ञप्ति जारी गरेको बताएर उनको बचाउ गरेका छन् । तर, त्यसरी बचाउ गर्नेहरूले राज्यको संरक्षणमा बसेको व्यक्तिले विद्यमान राजनीतिक प्रणालीविरुद्ध धावा बोल्न पाइन्छ कि पाइँदैन, त्यसबारे कुनै जवाफ दिन सकेका छैनन् ।

<p style=”text-align: justify;”> 
अवश्य पनि एउटा नागरिकको हैसियतले बोल्न पाउने र आफूलाई अभिव्यक्त गर्न पाउने अधिकार सबै नेपाली जनतालाई छ । तर, यहाँनेर बिर्सन नहुने तथ्य भनेको ज्ञानेन्द्र कुनै साधारण नागरिक होइनन् । राज्यको सुविधा उपभोग गरेर सरकारी निवास नागार्जुनमा बसिरहेका पूर्वराजा हुन् । पूर्वराजाको हैसियत स्वीकार गरेर बसेको राज्यको एक सम्मानित पूर्व पदाधिकारीले आफूलाई राज्यले प्रदान नै नगरेको हैसियतको रूपमा उभ्याउन खोज्छ भने त्यस्तो व्यक्तिलाई राज्यले सम्मान दिइरहनुपर्ने आवश्यकता रहँदैन ।

उनलाई पूर्वराजाको रूपमा दिइएको सम्पूर्ण सुविधा राज्यले खोस्नुपर्छ र एउटा सामान्य नेपाली नागरिकको रूपमा व्यवहार गर्नुपर्छ । ज्ञानेन्द्रले पनि आफूलाई वर्तमान राजनीतिक प्रणालीको विपक्षमा उभ्याउन चाहेको र जनतालाई आफ्नो पक्षमा ल्याउन चाहेको हो भने नागार्जुन छोडेर मैदानमा आउने हिम्मत देखाउन सक्नुपर्छ । कमल थापाले सडकमा उभिएर राजतन्त्रको वकालत गर्न कसैले रोकेको छैन । त्यसैले ज्ञानेन्द्रलाई पनि कमल थापाको हैसियतमा ओर्लिएर राजनीतिक वक्तव्यवाजी गर्ने छुट छ ।

तर, पूर्व राजाको हैसियतामा वर्तमान राजनीतिक प्रणालीको हिस्सा बनेर नागार्जुन दरबार ओगटिरहन्छन् तबसम्म उनलाई विद्यमान प्रणालीका विरुद्ध विष घोल्ने छुट दिन मिल्दैन । हिम्मत छ भने उनी नागार्जुन छोडेर निर्मल निवासबाट राजतन्त्र पुनस्र्थापनाको बिगुल फुकून । त्यतिबेला उनलाई साथ दिने नदिने, जनताले निर्णय गर्ने नै छन् ।

 

]]>