देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सधैं अस्तव्यस्त

देशान्तर

काठमाडौं । विमानस्थल हालैमात्र अमेरिकाको सीएएनन टेलिभिजको अनलाइन संस्करणले संसारभरका खराब विमानस्थलमध्येमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई १० नम्बरमा पर्ने तथ्य सार्वजनिक गर्‍यो । उसले विमानस्थलको व्यवस्थापन, भौतिक पूर्वाधारको आधारमा उक्त मूल्यांकन गरेको प्रष्ट पारेको छ । हुन त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि खराब अरू नभएका होइनन् तर पनि कुनै पनि देशको स्वागतद्वारको रूपमा रहने विमानस्थलको हालत यति नाजुक हुनु चाही टीठलाग्दो विषय नै हो । 

हालैमात्र भएको भारतीय राष्ट्रपतिको भ्रमणको क्रममा दुईदिन गरेर करिब तीन घन्टा विमानस्थल ठप्प भयो भने त्यसको असर घन्टौंसम्म हवाई ट्राफिकजाम भयो । एउटामात्र रनवे, सीमित हवाई रुट आदि कारणले यस्तो भएको विमानस्थलका अधिकारीहरूको भनाइ छ । 

त्योभन्दा केही दिन अगाडिमात्र विमानस्थलको धावनमार्गमा एउटा मरेको चमेरो र केही सिसाका टुक्रा भेटिएपछि डेढ घन्टाभन्दा बढी समय उडान–अवतरण ठप्प भयो । मरेको चमेरो र सिसाका टुक्रा हटाउन डेढ घन्टाभन्दा बढी समय लागेपछि उक्त समयमा आन्तरिक र बाह्य उडान तथा अवतरण ठप्प भएको थियो । त्यसले गर्दा पनि घन्टौंसम्म हवाई व्यवस्था अस्तव्यस्त भएको थियो । 

विमानस्थलको धावनमार्ग पनि यस्तो कमजोर छ कि प्राय: दैनिक रूपमा पिच उप्केको उप्कै गर्छ । जसको कारणले कतिपय उडानहरू डाइभर्ट हुन्छन् भने कतिपय होल्डमा पर्छन् । जसबाट एयरलाइन्सहरूले नोक्सानी पनि बेहोर्नुपर्छ भने असुरक्षा पनि उत्तिकै बढेर जान्छ । 

उसै त नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले कालोलिस्टमा राखेको छ । त्यसैमा अन्तर्राष्ट्रिय विमानस्थलको यस्तो हालतले झनै खराब भविष्यको चित्रण गरेको छ । यतिमात्र होइन त्यसरी पिच उक्किदा मर्मत गर्नमा जुन तदारुकता देखाउनुपर्ने हो त्यो कहिल्यै पनि देखिँदैन । 

किन यस्तो हुन्छ ? 
आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईवटा टर्मिनल भएको विमानस्थलमा १० हजार फिटको सिंगल कंक्रिट धावन मार्ग रहेको छ । सामान्यतया दैनिक ४०/५० वटा उडानको लागि भनेर बनाइएको उक्त विमानस्थलले अहिले ओभर सर्भिस गर्नुपरेको कारण भौतिक अवस्था जर्जर बन्दै गएको अधिकारीहरू बताउँछन् । 
यही कुरालाई ध्यानमा राखेर सरकारले विमानस्थलको स्तरोन्नती आयोजना पनि सुरु गरेको थियो तर उक्त आयोजनाको निर्धारित मिति सकिँदासम्म काम भने जम्मा १६ प्रतिशतमात्र सम्पन्न भएको छ । 

कहाँ पुग्यो स्तरोन्नति आयोजना ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजना सरकारलाई निल्नु न ओकल्नु भएको छ । सुधार आयोजना सम्झौता समयावधि सकिँदासम्म जम्मा १६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सन् २०१३ मार्च १६ मा स्पेनको सान्जेसो कम्पनीसँग तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर तीन वर्षभन्दा बढी समय बित्दासम्म आयोजनाको प्रगति न्यून छ । योसँगै आयोजना सम्पन्न हुनेमा सरोकारवाला निकाय नै अन्योलमा परेका छन् । 
६ अर्ब १० करोड लागतको उक्त आयोजनामा एसियाली विकास बैंक (एडीबी) को लगानी छ । सन् २००९ मा एडीबीसँग ऋण सम्झौता भएको आयोजना सन् २०१६ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य थियो । १४ सय मिटरको नयाँ ट्याक्सीमार्ग, तीन सय मिटरको धावनमार्गसँगै नयाँ अन्तर्राष्ट्रिय एप्रोन तथा टर्मिनल भवन, अन्य हवाई सुरक्षासँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने भनिएको आयोजनाको भविष्य अन्योलग्रस्त बनेको छ ।

आ–आफ्नै डम्फु
पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको माटो प्रयोग गर्दै आएको निर्माण कम्पनीले ल्याउन नपाएपछि समस्या झिक्दै आयोजना निर्माणभन्दा पनि क्षतिपूर्ति दाबी गर्दै आएको छ । 

निर्माण कम्पनी सान्जेसोले काम एक अर्ब जतिको गरे पनि उसले दुई अर्बभन्दा बढी रकम क्षतिपूर्ति माग गर्दै आएको छ । सरकारी पक्ष भने उसले काम पनि नगर्ने भएपछि ठेक्का सम्झौता भंग गर्ने मनस्थितिमा पुगेको छ । तर यसरी एकलौटीरूपमा सम्झौता भंग गर्दा एडीबीको पनि सरोकार जोडिएकोले अगाडि बढ्न नसकेको अधिकारीहरूले बताएका छन् । 

माटो आपूर्ति गर्ने जिम्मेवारी आफ्नो नभएको र त्यस्तो सम्झौता पनि नभएकोले क्षतिपूर्ति नतिर्ने बरु उल्टै निर्माण कम्पनीबाट हर्जाना दाबी गर्ने तयारीमा रहेको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन् । अहिलेको सम्झौता तोडिएमा सरकारले कुनै पनि हालतमा क्षतिपूर्ति नतिर्ने तर भंग भएमा एकातिर लागत बढ्ने अर्कोतिर आयोजना नै नबन्ने खतरा रहेको सरकारी अधिकारीको ठहर छ ।

ठेक्का सम्झौता तोडिएमा अर्को नयाँ गर्दा आयोजनाको लागत अहिलेको भन्दा दोब्बर अर्थात् १२ अर्ब बढी हुने प्राधिकरणको प्रक्षेपन रहेको छ ।  अर्कोतिर यो सम्झौता तोडिनेबित्तिकै एडीबीले ऋण सम्झौता फेरि नवीकरण नगरेमा विमानस्थल सुधार आयोजना अन्योलमा पर्ने खतरा रहेको प्राधिकरणका महानिर्देशक गौतम बताउँछन् । यसरी आयोजना समयमा सम्पन्न नहुँदा निर्माणसँगै ऋण सम्झौता पनि भंग भएका प्रशस्त उदाहरण रहेको उनको दाबी छ । 

निर्माण कम्पनीको नियतमै खोट
कम्पनीले गत वर्षको भूकम्प, नाकाबन्दीजस्ता कारण देखाएर निर्माणमा ढिला भएको बताउँदै आयोजनाको समय र रकम बढाउने दाउमा रहेको अधिकारीले शंका गरेका छन् । सन् २०१४ मै पशुपतिको माटो प्रतिबन्ध भएको थियो । उसले अन्यत्रबाट ल्याएर काम चलाइरहेको भए पनि पछिल्लो अवस्थामा निहुँ मात्र खोजेको अधिकारीहरूको आरोप छ । 

 

 

]]>