चन्द्र महर्जन
यो तिहारअघि दुईवटा काम धेरै नै चर्चामा रहे । एउटा सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण भएको भूकम्प पीडितहरूका लागि सामूहिक आवास र अर्को स्वास्थ्य मन्त्रालयले गाउँमै मिर्गाैला परीक्षणको व्यवस्था मिलाएको कुरा । यी कुनै धेरै ठूला काम थिएनन् खासगरी लगानीको हिसाबले । तर, यी कामले देशको ध्यान तान्यो । त्यसकारण पनि यसका पात्रहरू चर्चित रहे, उदाहरणीय नै हुने गरी ।
एक : गिरानचौर पुनर्निर्माण
करिव पाँच करोडको लागतमा गिरानचौरमा एउटा सामुदायिक भवनसहित ६६ घर भएको सामूहिक आवास खडा भयो । यसको कुल लागत करिब पाँच करोड र एउटा घरको करिब ६ लाखको लागतमा । यसको बनौट हेर्दा आधुनिक सहर जस्तै लाग्छ । त्यसकारण पनि होला यी घर पाएकाहरूले यसलाई घर नभनेर दरबार नै माने । हास्यकलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरे दम्पतीले गरेको यो प्रयास राष्ट्रकै लागि दिएको अनुपम उपहार र शिक्षामा परिणत भयो । पुनर्निर्माणका लागि करिब १० खर्बको लागत र पाँच वर्षको समय अनुमान गरिएको अवस्थामा यो चार महिनामै निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भयो । हस्तान्तरण सम्माननीय राष्ट्रपतिबाट भयो । उहाँ आफैंले यो हस्तान्तरण भएको बेला ६ महिनाअघि शिलान्यास गरेको एउटा घरको कुनै अवशेषसमेत नरहेको बेलामा यो ठाउँमा यति धेरै संख्याको यो आवास निर्माण हुनु आफैंमा असल मनशाय राखेर काम गरियो भने सम्भव रहेछ भन्ने एउटा उदाहरण नै हो । गिरानचौर त्यस्तो ठाउँ हो जो योभन्दा दुर्गम अरू नहोलान्, अपवादबाहेक ।
भूकम्पका नाममा यता धेरै कुरा भए । महाभियान नै थालिए, पहिलो महाभूकम्प गएको ८२ वर्षको अवसर पारेर । यो गएको माघको कुरा हो जो वर्ष दिन पुग्दै छ । पुनर्निर्माणका लागि रकम कलम जुटिसकेको थियो, भूकम्प गएको ६० दिनभित्र नै अर्थात् अघिल्लो असारमै । तर यो १८ महिनामा कति रकम दिने, कसरी दिने भन्नेसम्म टुंगो लाग्न नसकेको अवस्थामा काम थालिएको चार महिनामै करिब चार सयको संख्या अट्ने सामूहिक आवास नै बन्यो । पुनर्निर्माणका लागि त्यसबेला साढे चार खर्बको प्रतिबद्धता जनाइएको १६ महिनासम्म ती दातासँग सम्झौतासमेत गरी नसकिएको अवस्थामा त कुनै मनकारीले गरेको यो काम झनै उदाहरणीय नै हुनुपर्छ, खासगरी पुनर्निर्माणका सन्दर्भमा । पुनर्निर्माणको पहिलो आवश्यकता हो पीडितहरूलाई घरमा भित्र्याउनु । सरकारबाट त्यही काम नगरिएको अवस्थामा कम्तीमा यति संख्याले घर पाएको कुरा सामान्य होइन ।
यता यी आवासहरू हस्तान्तरण हँुदै थिए, उता अर्को एउटा जिल्ला गोरखामा भूकम्प र तिनबाट पीडितहरूका नाममा चार अर्ब रुपैयाँ खर्च भएको तर काम चाहिँ कतै नदेखिएका समाचारहरू अखबारमा आइनै रहे । त्यो रकम सदुपयोग भएको भए यस्ता करिब पाँच हजार घर बनिसकेका हुने रहेछन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका— ८ गिरानचौरमा निर्माण गरिएका यी घरमा सौर्य बत्तीसमेत जडान गरिएको छ भने ‘चिल्ड्रेन पार्क’, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा पनि बनाइएको छ । यसको अर्को महत्वको र अनुकरण गर्नै पर्ने पक्ष हो यी ६५ वटा घर चार महिनामा निर्माण भए र हस्तान्तरण पनि भयो । यसले के देखाउँछ भने यो काम गर्ने जसको दायित्व हो ती निकाय चाहिँ ठूलाठूला योजनाका कुरा मात्र गरिरहे र जसले नगर्दा पनि हुने थियो तिनबाट चाहिँ कामै फत्ते भयो कुनै पनि बस्ती विकासका लागि नमुना नै भएर । यहाँ जेजस्ता सुविधा खडा गरियो ती सबै नै कुनै पनि एउटा आधुनिक बस्तीमा हुनुपर्ने जति भएको भन्नुपर्छ ।
देशको वार्षिक बजेट साढे १० खर्बभन्दा बढी छ, त्यो देशका लागि मोटामोटी पाँच करोड रुपैयाँको आयोजना खासै ठूलो होइन । अहिले कतिपय गाविसको वार्षिक बजेट नै करोडौं रुपैयाँको हुने गरेको छ । करिब ६० लाख जति परिवार भएको देशमा ६५ वटा नयाँ घर थपिनु पनि संख्यात्मक हिसाबले नगन्य हो । निर्माण भएका ६५ वटा घर भनेको भूकम्पले नेपालभर भत्काएका ६ लाख घरहरूको ०.०१ प्रतिशतमात्रै हो । भूकम्पबाट करिब एक करोडभन्दा बढी मान्छे प्रत्यक्ष प्रभावित भएका थिए । तीमध्ये करिब पाँच सय जनसंख्या लाभान्वित हुने परियोजनाको चर्चा सामान्य नै हुनुपर्ने हो । तर, यही नै सबैभन्दा ठूलो कुरा भयो । सम्भवत: शून्य अवस्थामा रहेको बेला यति धेरै संख्यामा क्षति भएको अवस्थामा एक–डेढ वर्षमै यत्रो काम कसरी गर्न सकिन्छ भनी रहिएको बेला देशका लागि यो नै ठूलो कार्य हुन पुग्यो । त्यसकारण यसलाई सानो काम ठूलो परिणाम भनिएको हो । अर्को, यो काम एउटा दम्पतीको व्यक्तिगत पहलमा सम्पन्न भयो । राज्यले एउटा अनुमति दिनु र सेना प्रहरीले केही श्रमदान गर्नुबाहेक यसमा राज्यबाट अरू कुनै लगानी भएको छैन । दोस्रो, जसले यो काम सम्पन्न गरे त्यो परिवार चिनिएको त्यस्तो धनाढ्य पनि होइन । त्यसकारण यो आयोजना असामान्य र अनुकरणीय बनेको हुनुपर्छ ।
दुई : गाउँगाउँमा मिर्गौला परीक्षण
यही कात्तिकदेखि रेडियोमा एउटा विज्ञापन बज्न थालेको छ, सुन्दैमा एउटा नयाँ सन्देश दिने खालको । आफ्नै गाउँको स्वास्थ्यचौकीमा, त्यो पनि नि:शुल्क मिर्गौला परीक्षण हुन थालेको कुरा । धेरै समय पनि नलाग्ने । चौकीमा गयो, अलिकति पिसाब गरिदियो र तुरुन्तै आफ्नो मिर्गौला ठीक छ कि छैन भन्ने रिपोर्ट आइहाल्ने, ठाउँको ठाउँमै । यसअघि मिर्गाैला रोगका बारे सरकारले अनेक प्रस्ताव ल्याउने गरेका थिए जस्तो नि:शुल्क डायोलसिसदेखि उपचारमा हुने खर्चमा छुट आदि । तर ती कार्यक्रम त्यति आकर्षित भएनन्, कारण थियो पहुँचकै । सरकारको यो सेवा लिन पहिलो सर्त थियो आफ्नो मिर्गौला बिग्रिएको हुनुपर्ने । मिर्गौला बिग्रिएपछि त्यसको उपचार यति महँगो कि सर्वसाधारणले सक्दै नसक्ने तथा ऋणपान गरेर खर्चको जोहो भए पनि पहिलेको अवस्थामा ल्याउन असम्भव जस्तै हुन्थ्यो । चिकित्सकहरूले नै यस्तो जानकारी गराउँथे, उनका सुझाव हुन्थे– सुरुमै परीक्षण भए यसलाई पूरै जोगाउन सकिन्छ ।
यो पटक स्वास्थ्य मन्त्रालयले यस्तो प्रस्ताव ल्यायो जो यसको परीक्षणलाई घरघरमै पुर्याएको जस्तो । यतिखेर स्वास्थ्यचौकीमा गरिन थालिएको यस्तो परीक्षण अब सबै विद्यालयहरूमा अनिवार्य गरिने बताइएको छ । यसले बुझाउछ खासगरी ग्रामीण भेगमा मिर्गौलाको रोग घट्नेछ । बेलैमा जँचाइयो भने उपचार सजिलो, सहज र असाध्य मानिएको रोगबाट मुक्ति पनि पाइने ।
मिर्गौला रोगको उपचार धेरै नै महँगोमध्येमा पर्छ । आफ्नो गाउँठाउँमा त्यसको परीक्षण नहुँदा कि रोग पाल्न बाध्य कि घर खेतनै बेच्नुपर्ने अवस्था भोगिरहेका थिए खासगरी ग्रामीण तहका नागरिकले । कारण थियो परीक्षण सुलभ नहुनु । गाउँमै र अझ घरआँगनमै यो सुविधा उपलब्ध भएपछि लामो यात्रा तय गर्दै जिल्ला अस्पताल वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट बिरामीले मुक्ति पाउनेछन् । यसले रोगबाट मुक्तिमात्र होइन एक प्रकारले मिर्गौलाप्रतिको चेतना पनि बढाउने छ । मिर्गौलाको समस्याबाट ग्रसित हुनेको संख्या दिनहुँ बढ्दो छ र परीक्षणको कठिनाइले उपचारविहीन अवस्थासमेत आउने गरेको अवस्था थियो । चिकित्सकहरू अनुसार मिर्गौला खराब हुनुको प्रमुख कारण हो बेलामा परीक्षण नहुनु । बिग्रिसकेपछि त उनका लागि यो मृत्यु बराबर नै हुन्छ ।
सरकारले ल्याएको यो कार्यक्रमअनुसार देसंैभर पहिलो चरणमा २० लाखको संख्याको मिर्गौला परीक्षण गर्न पुग्ने गरी परीक्षण सामग्री स्थानीय तहमा पुगिसकेका छन् । अपवादबाहेक यतिबेलासम्म सबै जिल्लामा उक्त परीक्षणका लागि चाहिने प्रमुख वस्तु कीटको व्यवस्था भइसकेको छ अर्थात् गाउँगाउँमा परीक्षण सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताल तथा स्वाथ्यचौकी गरी परीक्षणको वस्तुलाई व्यापक बनाइसकिएको बताइएको छ । अहिले एक सय ३३ वटा स्वास्थ्य संस्थामा पुग्ने गरी कीट पठाएको र त्यहाँबाट यसलाई छिट्टै स्थानीय आवश्यकताअनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाइनेछ । चिकित्सकका अनुसार २० मिलिलिटर जति पिसाबले कीट भिजाएपछि देखिने त्यसको रङका आधारमा मिर्गौलाको अवस्था थाहा हुने गर्छ । कति सजिलो र सहज रहेछ यसको परीक्षण भन्ने पनि यसले बुझाउँछ । परीक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक वर्षपछि फेरि परीक्षण गर्न आउन आग्रह गरिने र समस्या देखिएमा उपचारका लागि सिफारिस गरिनेछ । यसको अर्थ हो घरघरमा मिर्गौला परीक्षण सुरु हुन थाल्नु । यो परीक्षणले वास्तवमै स्थानीय तहका जनताको मिर्गौला जोगाउनेछ ।
यसको अर्को त्यस्तै सकारात्मक पक्ष हो आफ्नो मिर्गौला जोगाउने चेतना पनि गाउँगाउँमा पुग्नेछ । परीक्षणसँगै सरकारले आफ्नो मिर्गाैलाको अवस्था आफैं जान्ने गरी यसका प्रारम्भिक लक्षणको पनि जानकारी गराएको छ । जसअनुसार कमजोरी महसुस हुनु, काममा ध्यान नजानु, खानामा अरुचि हुनु, निदाउन नसक्नु, राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, बिहान आँखावरिपरि सुन्निनु, छाला सुक्खा हुनु, चिलाउनु, राति बढी पिसाब लाग्नु, रक्तअल्पता र महिनाबारीमा अनियमितता हुनुलगायत मिर्गौला रोगका लक्षण हुन् । कुनै एउटा व्यक्तिले आफ्नो शरीरमा यस्ता लक्षण प्रकट भएमा तुरुन्तै जँचाउने अवस्था आउँछ र जँचाउन पाइयो भने थप क्षति हुनबाट रोकिने छ ।
यो परीक्षणका लागि सरकारले गरेको खर्च भनेको वा भनौं उसको लगानी भनेको सौ पचासको कीटमात्र हो । शंका लागेर परीक्षण गर्न आउनेलाई त्यही कीटमा अलिकति पिसाब गर्न लगाउने र पिसाब गरिसक्ता नसक्दै रिपोर्ट पनि त्यहीँ हेर्न पाउने, त्यो पनि आफ्नै आँखाले । पहिले यस्तो सुविधा थिएन । त्यसकारण पनि हतपत्ती परीक्षणमै नआउने, आए पनि खर्चिलो भएर टाढिनुपर्ने अवस्थाको यो एउटा अभियानले अन्त्य गरिदिएको छ । त्यसैले यसलाई सानो काम ठूलो परिणाम भनिएको हो । यो बेलासम्म देखिएअनुसार यो रोगले मान्छेलाई त लाने नै गरेको थियो भने उसको सर्वस्व नै गुमेका धेरै उदाहरण कायम भइसकेका छन् । यति सजिलोसँग र घर छेउछाउमै यसको परीक्षण हुने भएपछि स्वाभाविक छ यसले मान्छेको आयुसमेत बढाउनेछ । त्यसकारण यस्तो कार्यक्रमका प्रस्तावक धन्यवादका पात्र मानिएका हुन् ।
]]>
प्रतिक्रिया