देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोबोट प्रसाद र गर्भशाला– १

देशान्तर

डा. विदुरप्रसाद चौलागाईं

सिमसिम : मंसिर त आउनै लाग्यो, अब झ्याइँ पार्ने होइन यस पाला ?

बुलबुल : मंसिर हुँदैमा तीन सिर पार्नै पर्छ र ? फेरि झ्याइँ पार्ने चाहिँ को सँग ? अचेलका मान्छेमा दम छैन रोबोट किन्नलाई दाम छैन ।

सिमसिम : किन अब मान्छेभन्दा रोबोटको बढी विश्वास हुन लाग्यो कि के हो ?

बुलबुल : अब के गर्ने त ? मान्छेसँग बिहे गरे थकाइ लागेर घर छिर्दा यसो चिया पकाएर हातमा थमाइदिँदा लोग्नेको जात जान्छ भनिठान्छन् । बरु एउटा रोबोट प्रसादसँग घरजम गरियो भने कम्तीमा अह्राएको खटाएको भरमा आफ्नो काम तमाम त गरिदिन्छ ।

सिमसिम : ल हेर स्वार्थी मन । अनि घरधन्दाका काम त रोबोट प्रसादबाट गराउली तर भोलिपर्सि सन्तान सुख र मायाप्रेम पनि त चाहिएला नि ।

बुलबुल : तिमी पनि अब यहीँ अल्झेर बस । जमाना कता कता पुग्न थालिसक्यो । अब बालबच्चा पनि मूल कोष विज्ञान र वंशाणु प्रविधिको सहायताले आफ्नो चाहनाअनुसारकै र आफ्नै बलबुतामा जन्माइन्छन् । अब पहिले जस्तो पोइको पछि लागेर हिँड्ने जमाना गए ।

सिमसिम : लौ सक्किगो नि । अब पुरुष नचाहिने भए हैन त । अनि त्यसो भए महिलै महिलाको मात्रै संसार बनाउने कि ? छोरोसहितको संसारको लागि त पुरुषको वाई क्रोमोजोमसहितका शुक्रकीट पनि त चाहिएला नि ? 

बुलबुल : पुरुषको वाई क्रोमोजोममा के के पजिन हुन्छ भन्ने त थाहा छँदैछ, अब प्रयोगशालामा तिनै जिनहरू तयार गर्न डीएनको संश्लेशण गरेर झन् आफ्नो रोजेको छोरा जन्माइन्छ । छोरी त झन् आफ्नै डिम्ब वा कोषहरूबाट हुबहु सोझै जन्माउन भइहाल्छ ।

सिमसिम : ऐ, लौ ! अनि क्रोमोजोमको जोडामा चाहिँ भिन्नता हुनु पर्दैन, आमाकै २२–२३ जोडा क्रोमोजोम छोराछोरीमा सारे त आमा र सन्तानमा फरक नै के भो र ? अनि मान्छेको जनसंख्या पनि आलुको आँखा काटेर सारे जस्तै ।

बुलबुल : हेर संकुचित दिमाग । अरू राम्रा उपायहरू पनि त छन् नि । म कुनै जिनब्यांकबाट अथवा व्यक्तिगत तवरबाट कुनै चतुर र वलवान् आदर्श पुरुष खोज्नेछु र उसको शुक्रकीट किन्नेछु वा सरसापटमा लिनेछु जसको बदला उक्त जीवकोष अथवा व्यक्तिलाई आफ्नो डिम्ब पैसामा बेच्नेछु वा आफ्नो डिम्ब पैंचोमा दिनेछु । यसो गर्दा मलाई पुरुषसँग लोलोपोतो गरिराख्नु पनि पर्दैन र माया प्रेमको नौटंकीमा खर्च गर्नुपर्ने समय र ऊर्जा बचत हुनेछ र आफ्नो घरधन्दा र व्यवसायमा ढुक्कले लाग्ने समय पाउनेछु । मेरो त्वचाको कोषले भ्रूणको प्रारम्भिक गर्भ पोषण कोषिकाको काम गर्नेछ भने मेरो डिम्ब र बाहिरबाट लिएको शुक्रकीटले शेचन पछि भ्रूणको रूप धारण गर्नेछ ।

सिमसिम : तर आमाको गर्भमा सुरुदेखि नै हुर्केको शिशु र काँचको नलीमा हरहिसाब गरी मिलाइएको रसायनमा हुर्केको बालकको शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त पनि त नहोला नि । गर्भवती आमाको मायाले कोखमा प्रवाह हुने जीव रसायनले पार्ने र पाइने सकारात्मक प्रभाव बाहिर काँचको गर्भशालामा बस्दा र हुर्कंदा पनि उत्तिकै सन्तुलित तवरले पाइएला र ? 

बुलबुल : ह्या त्यो गर्भको भारी बोक्ने लेठो कस्ले लिन्छ अब ? आमा भएर गर्भ बोक्नाका समस्या पनि कम्ताका छन् र ? बोक्नु पर्नेलाई पो थाहा हुन्छ । समय एकनासले चल्दैन । एकातिर मानो जुटाउन र मर्यादा बढाउने नाममा दिनदिनको दौडधुप, सुखसयल पुर्‍याउन चाहिने पैसाको अभावमा हुने मानसिक पीडा, गर्भसम्बन्धी स्वास्थ्य जोखिम र अन्य भैपरि आउने सम्भावित मानसिक प्रताडना पनि छन् । फेरि अर्कोतिर कार्यालय जाँदा हाकिम र सहकर्मीहरूको खनखनदेखि घरपरिवारको पनि बेलाबेलामा टोकसोसमेत सहनुपर्छ ।

उता सहरबजारमा स्वस्थ्यकर खाना किन्न पाइन्न । सहरको हावापानी प्रदूषित छ । यस्ता भौतिक, रासायनिक र मानसिक समस्याहरूबाट गर्भमा भएको बालकलाई अत्यधिक मानसिक आघात र उपरी आनुवांशिक प्रभाव पर्ने सम्भावना रहन्छ । तर गर्भशालामा यी सबै कारक कुराहरूलाई कुशलतासाथ नियन्त्रण गरिएको हुन्छ र शिशु झन् शान्त वातावरणमा हुर्कन पाउँछ । त्यसैले गर्भशालामा नै शिशु हुर्कने झन् स्वस्थकर वातावरणसहितको स्थान हो भन्ने कुरामा म त ढुक्क छु ।

सिमसिम : कोख पो प्राकृतिक रूपले निर्मित हुनाले सबै जीव रसायनहरू र पोषण पदार्थ मात्रा मिलाएर गर्भाशायमा जान्छ र भौतिक तनाव र गडबडी पनि आवश्यकताअनुसार शरीरले नै सन्तुलित बनाएर स्थिरता प्रदान गदर्छ । काँचको गर्भशालामा जुटाइने पोषण, रसायनहरू र भौतिक स्थितिको अलिकता गडबडीले पनि दिगो उत्परिवर्तन र उपरी उत्परिवर्तन गराएर भ्रूणको वंशाणु परिवर्तन भई स्वास्थ्य बिगार्ने समस्या पनि त हुन सक्छ नि ।

बुलबुल : त्यसको पनि त उपाय छ नि । गर्भशालामा सेचन गराएका सुरुका धेरै भ्रूणहरूमा सबैको सम्भावित शारीरिक प्रक्रिया, जीव रसायनिक र वंशाणु गुणहरू परीक्षण गरिन्छन् र प्रमाणिक रूपले स्वस्थ्यसँग हुर्किने सम्भावना भएका निचोडका आधारमा केही भ्रूणहरू रोजी तीमध्येको पनि उत्तम एकलाई सन्तानका रूपमा हुर्काइनेछ ।

सिमसिम : अनि साँच्चै, बाउआमाबाट जन्मने सन्तान त छिमल नै पिच्छे फरकफरक हुन्छन् र कस्तो सन्तान जन्मन्छ भन्ने उनीहरूलाई ज्ञान नै हुन्न । तिम्रो भनाइको भावी सन्तान चाहिँ कस्तो हुन्छ भन्ने निक्र्याैल पनि पहिल्यै हुन्छ कि ?

बुलबुल : यसरी जन्माएका सन्तानले भविष्यमा यसो र उसो गरेर डाका पिट्लान, विश्व हाँक्लान् भन्ने कुरा त्यसै भन्न सकिन्न तर एकै पटकमा धेरै थरीका शुक्रकीट र डिम्बको सेचन गराएर भ्रूणहरू उत्पादन गरिने हुनाले र पछि ती सबैको वंशाणु सम्मिलनको अध्ययन गरिसकेपछि उत्परिवर्तन नभएका, कुनै रोगी जिन नबोकेको अनि आफ्नो मनलागि गुणहरूको सम्मिलन भएका दुई–चारवटा स्वस्थ्य भ्रूणहरू छु्ट्याइनेछ र त्यसमध्ये पनि सग्लोसँग वृद्धि विकास हुने गरी एक भ्रूणलाई भावी सन्तानको रूपमा राखिनेछ र अन्यलाई नष्ट गरिनेछ ।

सिमसिम : यो त विद्या नष्ट र भूण नष्टजस्तो दुई जघन्य आपराधिक काम एकै पटक भएन र ? त्यत्रो ज्ञानको दुरुपयोग र ज्यानको नास एकैसाथ ।

बुलबुल : कसरी हुन्छ ? अन्धकारमा गोली हानेर सम्भावित लुला लंगडा अथवा रोगको भारी बोकेका अनुत्पादक सन्तान स्याहार्नुभन्दा पहिल्यै होस पुर्‍याएर सबलांग सन्तान हुर्काउनु जाति होइन र ? एउटा अस्वस्थकर बच्चा आमादेखि समाजसम्मलाई भार पर्न सक्छ र उसले बोक्ने विकृत वंशाणु फेरि भोलि अरू पुस्तामा पनि यौन संसर्गमार्फत फैलने सम्भावना रहन्छ ।

सिमसिम : यसको मतलव तिमीहरूलाई अब पुरुष प्रेमचाहिँ चाहिँदै नचाहिने भएको हो त ?

बुलबुल : त्यस्तो पनि कहाँ हो र ? आफूले खोजेको शारीरिक काँटछाँट भएको र मानवीय चरित्र हालिएको पुरुष रोबोट बजारबाट झिकाउने र घरमा राख्ने वा घुमफिर गर्दा सँगै लिएर हिँड्ने नि । आफूले खोजेको निश्चित चरित्र भएको दिमाग राखेको रोबोटले कुनै खाले धोका देलाँ भन्नु पनि परेन अनि चाहिएको बेलामा कुराकानी गरेर मन बहलाउनेदेखि देहसुखसमेत पाइहालिन्छ ।

सिमसिम : रोबोट पनि यन्त्र नै हो आखिर, मगज बिग्रियो र जतिखेर जे मन लागि त्यही भन्ने, गर्ने र अति कामुक भइदियो भने नि ? बरु दु:खसुख, रीतिथिति संस्कार बुझ्न सक्ने पुरुष मान्छे नै भरपर्दो होइन र ?

बुलबुल : जसले जे भने नि म त रोबोट पतिकै पक्षमा छु । धोखाधडी र वाह्य यौनसम्पर्कबाट पुरुष पतिले रोग ल्याउन सक्छ तर रोबोट पतिमा प्रोग्रामिंग गरेअनुसारको वफादारिता हुन्छ । पुरुष–पति बिरामी भइगयो भने अहिलेको जमानामा उपचार छोइ नसक्नु छ । डाक्टर महँगा छँदैछन् तर फेरि नक्कली सर्टिफिकेटवाला, पैसाका भरमा पढेका तर भर नै नभएका पो हुने हुन् कि भनी चिन्ता नि लिनु परेन । यसै कारणले महँगा अस्पतालमा खर्च गरेर पनि रोग निदान र उपचार नहोला भन्ने टन्टा पनि भएन अनि ओखती–मूलो महँगो र कमसल नक्कली पर्ला भन्ने पनि चिन्ता लिनु परेन ।

सिमसिम : फेरि रोबोट पतिलाई कसैले ह्याक गरी तिम्रा गोप्य संवाद चोरियो वा दिमाग सड्काइदिएर बदमाशी गर्‍यो, बैंकको सञ्चित पैसा पनि अन्तै सारिदियो भने नि ? जुलिएन असान्जे र यदवार्ड स्नोडेनको यत्रो चर्चा छ अचेल । उता हिलारीले सूचना ह्याक गरेको कारणले ठोकुवा जस्तै गरिएको चुनावसमेत हार्नु पर्‍यो भन्छन् मान्छेहरू । 

बुलबुल : प्रकृतिले बनाएको अति जटिल र कठिन मानिसको मन कज्याएर आफ्नो बनाउनु र मानिसलाई सेवा सुश्रुषा र रोगव्याधीको विभिन्न औषधी उपचार गर्नुभन्दा त मानिसले बनाएको रोबोटलाई नै मानिसले मर्मत उपचार गर्न सजिलो, सस्तो पर्छ र ढुक्क पनि हुन सकिन्छ । किनकि कहाँ बिग्रियो, के गरे हुन्छ भन्ने कुरा सुरुदेखि नै बनाउने मानिस वा कारखानालाई थाहा हुन्छ । अनि फेरि रोग लागि वा दुर्घटनाले पुरुष पति बिरामी वा मरिहाले पनि मायाले वा देखासिकीमै भए पनि रुवावासी मच्चाउनुपर्छ तर रोबोट पति नासिए बिग्रिए फेरि अर्को नयाँ किन्नसमेत पाइन्छ । आखिर लोग्ने भनाउँदो मानिस पनि त फेरि न बाउपट्टिको न आमापट्टिको हो ।

सिमसिम : होइन मानिसहरूप्रति, खासगरी पुरुषप्रति यत्रो बिध्न पराइपन किन हो ?

बुलबुल : विश्वास, भरथेग र न्यानोपन नभएर । आखिर पुरुषले पनि जापानतिरबाटै रोबोट माया झिकाए भइहाल्यो, आफ्नो इच्छाअनुसारको रूपराग र बानी व्यहोरा भएको । तिमी पुरुषहरू भनेको त राति अँध्यारो कोठामा सन्नी लियोनको नीलो सिनेमा हेरेर दिउँसो उज्यालोमा उसैलाई ढुंगा हान्नेहरूको जमात त हो । यस्ता पुरुषहरूको भन्दा सफा मन त रोबोटकै हुन्छ, एक पटक दिमाग भरिदिएपछि जुनिभर सफ्टवेयरअनुसारकै नैतिकवान् चरित्र देखाउँछ । 

सिमसिम : यतिमात्रै हो कि अरू पनि केही भन्न अझै बाँकी छ नि ?

बुलबुल : ए साँच्चै त, एउटा कुरा सोध्नु थ्यो । भनुँ कि नभनुँ खै ! भोलि तिम्रो फुर्सद छ ?

सिमसिम : त्यति साह्रो खाली समय त छैन तै पनि भन न किन हो । कामअनुसारको फुर्सद निकालुँला नि ।

बुलबुल : अरू त केही होइन । मेरो साइकलको ट्युबको हावा खुस्किएर एक हप्तादेखि चलाउनै पाएको छैन । यसो घुम्दै मेरो घरसम्म आएर साइकलमा हावा भरिदिन्छौ कि भनेर मात्रै हो ।

]]>