देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा दीप बस्न्यात

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन् । 

प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बनेका हुन् । आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए । आयोगमा हाल पाँच आयुक्त छन् । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १५७ सांसदले बुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव आजको संसद् बैठकमा पेस योजना थियो । 

नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा “संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ” भन्ने व्यवस्था छ । 

महाभियोगको प्रस्तावलाई संसद्मा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । 

यसैबीच, नेकपा (मसाल)को खुल्ला सङ्गठन राष्ट्रिय जनमोर्चाले महाभियोग प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति प्रकाशन गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएको उल्लेख गरेका छन् ।

]]>