देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्ता छन् कांग्रेस केन्द्रीय समितिका निर्णयहरु

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले आन्दोलनकारी दल, प्रमुख प्रतिपक्षी, व्यवस्थापिका—संसद्भित्रका सबै दलसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको छ । 

तराई—मधेस र थारू, आदिवासी जनजातिको माग सम्बोधनका लागि सीमाङ्कनसमेतका विषयमा संविधान संशोधन गरी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउने काँग्रेसको पूर्व निर्णय रहेको जनाउँदै आजको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनकारी सबै दल, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका—संसद्भित्रका सबै दलसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको हो । 

काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलको सुझाव र सहमतिका आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुङ्गो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको छ । 

मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, प्रदीप गिरी, अम्बिका बस्नेत, शङ्कर भण्डारी, मीन विश्वकर्मा, सीता गुरुङ र केशवकुमार बुढाथोकीले आफ्नो धारणा राखेका थिए । 

महाभियोग प्रस्ताव अचानक 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावबारे बैठकमा छलफल हुँदा सो प्रस्ताव अचानक आएको ठहर गरेको छ । 

“महाभियोग प्रस्ताव संसद्को विशेषाधिकारको विषय भएकाले आवश्यक प्रक्रियाको सम्बन्धमा काँग्रेस संसदीय दलले छलफल गरी टुङ्गो लगाउनेछ”–बैठककपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

एकमहिने अभियान 

बैठकले पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवम् शुभेच्छुक संस्थालाई सङ्गठन सुदृढीकरणका लागि परिचालन गर्ने निर्णय गरी पार्टीको नीति र कार्यक्रम एवम् निर्वाचनको पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी सङ्गठनको विस्तार एवम् सुदृढीकरण गर्नका लागि सबै प्रदेश र सबै जिल्लामा एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय सदस्यसमेत लाई प्रतिनिधि खटाउनेछ । 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको तेह्रौँ महाधिवेशनपश्चात् मात्र लागू हुनेगरी स्वीकृत गरेका नयाँतर्फका क्रियाशील सदस्यताको नामावलीको सूचीलाई कार्यान्वयनका लागि पार्टीका सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरिएको छ । 

शोक प्रस्ताव 
बैठकले थाइल्यान्डका राजा भूमिबल अदुल्यादेजको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । अदुल्यादेजप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै थाई सरकार, त्यहाँका जनता तथा उहाँका शोकाकुल परिवार एवम् आफन्तजनप्रति नेपाली काँग्रेसले सहानुभूति र समवेदना प्रकट गरेको छ ।

]]>