देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिआईबीले पूरा गर्या १ सय १ घटनाको अनुुसन्धान

देशान्तर

काठमाडौं । ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङको एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरे ।

पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अपराधीलाई समात्न सफल भयो र महिला बलि हुनबाट जोगिइन् । यो गत वर्षको भदौको घटना थियो ।

यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जीतबहादुर दर्जीलगायतको टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूतावास पुर्यायो । उनीहरुको यौनको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो ।

पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो सोही निवेदनका आधारमा पीडित महिलालाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरियो ।

यी केवल समाजमा हुने केही उदाहरणीय घटनामात्र हुन् । काठमाडौँ उपत्यकालगायत देशभर यस्ता घटना दिनहुँ थुप्रै घटिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले हाल यस्ता घटनाको अनुसन्धानका लागि सक्रियता बढाएको छ ।

आव २०७२/७३ मा ब्युरोले १०१ घटनाको सफल अनुसन्धान गरेको छ । ब्युरोका लागि गत आव नक्कली डाक्टर प्रकरण महत्वपूर्ण बन्यो ।

केही महिनाअघि मेडिकल क्षेत्रमा एउटा परीक्षार्थीले अर्काको नाममा परीक्षा दिएको फेला पारेपछि नक्कली डाक्टरको अनुसन्धान सुरु गरियो । ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल नक्कली परीक्षार्थी फेला परेपछि नक्कली डाक्टर पनि अवश्य हुन सक्छन् भन्ने विश्वासका आधारमा अनुसन्धान गर्दा ५४ जना नक्कली डाक्टर फेला परेको बताउछन् ।

उनले नेपालमा भन्दा पनि भारतका विभिन्न मेडिकल कलेज पढेर आएका डाक्टर बढी नक्कली हुने गरेको बताए । उनले भने– “मेडिकल काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल परीक्षा बोर्डको संयुक्त टोलीले विहार विश्वविद्यालयको बोर्डमा गएर अनुसन्धान गरेपछि नक्कली प्रमाणपत्र फेला पारेका हौँ ।”

प्रहरीले ५४ जना नक्कली डाक्टरमध्ये १७ जनालाई नेपाल मेडिकल काउन्सिल ऐन र बाँकी ३७ जनालाई ठगीको मुद्दा चलाएको छ ।

यस्तै आव २०७२÷७३ मै ब्युरोले तान्जनिया, किर्गिस्तान, लिविया, सिरियालगायतका देशमा मानव बेचबिखन गरेको आरोपमा १६ घटनाको अनुसन्धान गरेको छ । दूरसञ्चार हानिनोक्सानी गरी (भिओआपी) कल वाइपास गर्ने गरेको आरोपमा तीन घटनाको अनुसन्धान गरेको छ ।

छ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षको बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानका दोषीलाई समेत पक्राउ गरिसकेकोे ब्युरोले जनाएको छ । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते छ, चोरी एक र ठगीका ५० घटनाको अनुसन्धान गरेको छ ।

आव २०७१/७२ मा ७० मुद्दा हेरेर १३० जनालाई पक्राउ गरेको ब्युरोले आव २०७२÷७३ मा १०१ मुद्दा हेरी १०९ जनालाई कानुनी दायरामा ल्याएको छ । यस्तै सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची–१ बाहिर परेको मानिने नेपाल मेडिकल काउन्सिल ऐनअन्तर्गतको मुद्दासमेत ब्युरोले अनुसन्धान गर्ने भन्ने सरकारी निर्णयअनुसार १७ नक्कली डाक्टरलाई सो ऐनअन्तर्गत कारबाही गरिएको ब्युरोले जनाएको छ ।

]]>