देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षामा बजेट अपुग भएको गुनासो

देशान्तर

काठमाडौँ। यस वर्ष शिक्षामा छुट्याइएको बजेट शिक्षा सुधारका लागि अपुग हुने शिक्षा क्षेत्रका सरोकारवालाले गुनासो गरेका छन् । 

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा बजेट घट्दो क्रममा रहेको बताउँदै यसले शिक्षा क्षेत्रमा गुणस्तर बढ्नेमा शङ्का व्यक्त गरेका छन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले अघिल्ला वर्षको तुलनामा यस वर्ष शिक्षा क्षेत्रमा बजेट कम भएको बताउँदै भएको बजेटबाट गुणस्तरीय प्रतिफल निकाल्ने प्रयत्नमा लाग्नुपर्नेमा जोड दिए ।  

शिक्षाको बजेटको करिब ८७ प्रतिशत शिक्षकको तलबमा खर्च हुने जानकारी दिँदै उनले शिक्षकले आफूलाई समयानुकूल प्रविधिमैत्री शिक्षा दिनसक्नु पर्ने धारणा राखेका राखेका थिए ।  

शिक्षाविद् डा विष्णु कार्कीले नेपालमा आवश्यकताभन्दा बढी विद्यालय रहेको बताउँदै शिक्षामा नयाँ प्रविधिको प्रयोगका लागि बजेटमा व्यवस्था नभएको टिप्पणी गरे ।  

उच्च माध्यमिक सङ्घ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको गुनासो गर्दै शिक्षा क्षेत्रको बजेट शिक्षकलाई तलब खुवाउँदैमा सकिने भएकाले यसबाट गुणस्तरीय शिक्षाको अपेक्षा गर्न नसकिने बताए ।  

अघिल्लो वर्ष कुल बजेटको १६.६७ प्रतिशत शिक्षा क्षेत्रमा बजेट रहेकोमा यस वर्ष ११.०९ प्रतिशत मात्र बजेट छुट्याइएको छ ।

]]>