देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भत्किएका सम्पदाको पुनःनिर्माण अन्यौलमा

देशान्तर

काठमाडौं। गत वर्षको भूकम्पबाट भत्किएका काठमाडौंँ उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोप्रति यस क्षेत्रका विज्ञहरुले दुःख व्यक्त गरेका छन् ।  

उनीहरुले यी ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा भएको ढिलाइले काठमाडौं उपत्यकाको सुन्दरतामा ह्रास आउनुका साथै यहाँको धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  

विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा आयोजित काठमाडौँका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा रोकारवालाहरुले सम्पदाको महत्व बुझेर समयमा निर्माण गर्न नसकिएमा यसले विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  

पुरातत्वविद डा साफल्य अमात्यले बारम्बारको आग्रह एवम् अनुरोध भएपनि काठमाडौँका पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाको निर्माणको काम सरकारले थाल्न समेत नसकेकाप्रति गुनासो गरे ।  

उनले पछिल्लो समयमा काठमाडौंँ महानगरपालिकाले यस्ता सम्पदाको पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरेकोप्रति आपत्ति प्रकट गर्दै यी सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्व बुझ्न आग्रह गरे । 

यी ऐतिहासिक सम्पदाको पुरातात्विक र सांस्कृतिक महत्व नगुम्ने गरी तथा पुरानै कलाकारिता र कच्चा पदार्थको प्रयोग गरी निर्माण गर्नसक्ने क्षमताका कम्पनी वा संस्था नेपालमा नरहेकोले बोलपत्रबाट निर्माणको काम सम्भव नरहेको उनको भनाइ थियो । 

डा अमात्यले यस्ता सम्पदाहरु अब निर्माण गर्दा तिनको सबै पक्षीय सूचना संरक्षित हुनेगरी सूचना एवम् स्रोत केन्द्र खडा गरी सबै जानकारी राख्न सुझाव दिए ।  

वास्तुविद प्रा डा सुदर्शन तिवारीले यी सम्पदाको निर्माणमा स्मारकको वास्तुकला, प्रविधि, धार्मिक र सांस्कृतिक पक्ष तथा जीवन्त संस्कृतिको पनि समावेश हुनुपर्नेमा जोड दिए ।  

उनले अबको पुनःनिर्माणमा विश्व सम्पदा सूचीमा रहेका यी सम्पदाहरु त्यो सूचीबाट नहटुन्भन्ने पक्षमा विशेषरुपमा ध्यान दिनुपर्ने र त्यसका लागि विश्व सम्पदा सूचीको प्रावधान र मूल्य मान्यताबमोजिमकै कला र सामग्री प्रयोग गर्न सुझाए ।  

प्रा डा नरेशमान बज्राचार्यले सम्पदाको निर्माण भनेको पर्यटकलाई फोटो खिच्नका लागि होइन भन्दै जीर्णोद्वारभन्दा पनि पुनःनिर्माणमा सम्बेदनशील हुने हँुदा सम्पदाको कुनैपनि महत्व नघट्ने गरी निर्माण गर्न आग्रह गरे ।  

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङले यी पुरातात्विक सम्पदाको निर्माणको अगुवाइ कसले गर्नेभन्ने विषयमा स्पष्ट नहुँदा निकै गाह्रो भएको बताए ।  

पुनःनिर्माणको कामका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरेपनि स्थानीय जनता वा यस क्षेत्रका विज्ञहरुको परामर्शबाटै काम गर्ने तामाङले जानकारी दिए ।  

सो कार्यक्रममा सो प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोल, पर्यटनविद् कर्ण शाक्य, शिक्षाविद् केदारभक्त माथेमालगायतले सम्पदाको पुनःनिर्माणका लागि सबैको चासो हुनुपर्नेमा जोड दिए । 

]]>