तेजप्रसाद सिटौला
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली धेरै सपना देख्छन् र सपना बाँड्छन् पनि । भनिन्छ, सपना देख्नु राजनीति गर्ने मान्छेका लागि स्वाभाविक हो तर सपना बाँड्नु गलत हो । सपनालाई साकार पार्नु सच्चा राजनीतिज्ञको धर्म हो । सपनामा देश हुनुपर्छ, सपनामा जनता हुनुपर्छ र सपनामा देश र जनताको सम्मान, स्वाभिमान र समुन्नति हुनुपर्छ । स्वप्नद्रष्टाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउँछ र तिनलाई व्यवहारमा नै परिणत गरेर देखाउँछ । त्यस्तो स्वप्नद्रष्टा प्रधानमन्त्रीमा मैलेमात्र बीपी कोइरालालाई पाएको छु । उनी जुन बेला प्रधानमन्त्री बने त्यसबेलाको स्थिति एकदमै प्रतिकूल थियो । राजा महेन्द्र प्रजातन्त्र विरोधी थिए । बीपीको व्यक्तित्व, उनको अठोट र उनको लोकप्रियताबाट राजा महेन्द्र त्रसित थिए । त्यो समयमा जबकि साक्षरता दर ५ प्रतिशतभन्दा कम थियो, सार्वभौम अधिकार राजामा निहित थियो, राजनीतिक चेतना ज्यादै न्यून थियो, सञ्चारमाध्यमको पहुँच छँदै थिएन, काम गर्न कति सकस थियो, कल्पना गर्न सकिन्छ । छिमेकी भारतका प्रधानमन्त्री बीपीलाई मन पराउँदनथे, कारण उनी (बीपी) इशारामा होइन आफ्नो देशको हितमा, आफ्नो निर्णयमा काम गर्दथे । २०१७ साल पुस १ को कालरात्रिमा नेहरूको प्रत्यक्ष संलग्नता थियो । नेहरूले ऋषिकेश शाहलाई (तत्कालीन विदेशमन्त्री) भनेका छन्, मैले तिम्रो राजालाई बीपीलाई हटाउन भनेको थिए, संसद् भंग गर्न भनेको थिइनँ ।
यी सबका बाबजुद पनि आफ्नो छोटो कार्यकालमा (१८ महिना) राजारजौटा उन्मूलन, बिर्ता उन्मूलन, जंगलको राष्ट्रियकरण र वैज्ञानिक भूमिसुधारको खाका तयार पार्नु चानचुने कुरा थिएन । १५ वर्षमा हरेक नेपालीको जीवनस्तर आफू सरह बनाउने उनको चाहना भलेही निमोठियो तर राजा महेन्द्रलाई पनि भन्न कर लाग्यो,… । विदेशमा पनि देखाउनलायक प्रधानमन्त्री त बीपीमात्र हो । आजको सिंगापुर ली क्वान यूको सपना हो । आजको चीन देङको सपना भने आजको कोरिया (द.) पार्क चुङ हीको सपना हो ।
सपना देख्नु आफैंमा नराम्रो कुरा होइन । सपना त हरेक क्षेत्रका अगुवाले देख्छ । राजनीति गर्ने मान्छे त्यसमा पनि प्रधानमन्त्री नै भएको मान्छेले सपना नदेख्ने त कुरै भएन । आज काम गर्छु भन्नेलाई, सपना साकार गराउँछु, राजनीतिक चेतना व्यापक छ, जनता सार्वभौम छन्, बौद्धिक जमात पनि ठूलै छ, संसद् छ, संविधान जननिर्मित छ र सबैभन्दा ठूलो कुरा सञ्चार क्षेत्र यति व्यापक छ, संसारको कुनै पनि ठाउँमा क्षणभरमा सम्पर्क गर्न सकिन्छ । सानातिना व्यवधान त आउँछन् तर तिनले काम गर्छु भन्ने सक्षम र इमानदार मान्छेलाई, उच्च मनोबल भएको नेतालाई रोक्न सक्तैनन् । प्रश्न यत्तिमात्र हो, सपना सत्ता टिकाउनका लागि या देश र जनताका लागि ? दुई वर्षमा लोडसेडिङ अन्त्य गर्ने, ग्यास पाइप घरघर पुर्याउने, तिब्बतको रेल काठमाडौं ल्याउने, काठमाडौंलाई विद्युतीय द्रुत गतिको रेलले घेर्ने, प्रशान्त र हिन्द महासागरमा जहाज चलाउने, आफ्नै देशको इन्धनले गाडी चलाउने आदि । यी कुराहरू जब प्रधानमन्त्रीले गरिरहेका हुन्छन् । उनका श्रोताहरूबीच हाँसोको फोहोरा नै चल्दछ । अर्थात् उनका श्रोताहरूलाई उनका कुरा पच्दैनन्, फोस्रा लाग्दछन् । हुँदाहुँदा उनकै दलभित्रबाट पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनाल दिक्क मान्दै भन्न लागेका छन्, जे पायो त्यही बोलेर विकास हुन्छ, सोचेर बोल्नुपर्छ, पार्टी धराशायी बन्दैछ । केही पहिला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसित उनले नौबुँदे सहमति गरे, त्यसबाट उनी अरू आलोच्य बन्न पुगे । सत्ता जोगाउनकै लागि ओलीले त्यो नौ बुँदेमा हस्ताक्षर गरे र त्यसो गर्दा उनले सर्वोच्चको निर्देशनात्मक फैसलालाई समेत बिर्सन पुगे । उनले कतिपय कुरामा राम्रै अडान लिए पनि भावनामा बग्ने उनको स्वभावले जनतामाझ उनी फिक्का लाग्न थाले । देशको प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगेको व्यक्ति विकासको कुरा गर्दा वस्तुनिष्ठ भएर जानुपर्नेमा उनी नितान्त सतही कुरा गर्ने सरकार प्रमुखमा सीमित हुँदैछन् । विकास भनेको भौतिक हो, दृश्यवान् हुन्छ । विकास आध्यात्मिक र चारित्रिक पनि हुन्छ तर प्रम केपी ओलीको सपना भौतिक हो, चाहे त्यो गाँस, बास र कपासको प्रश्न होस् या फेरि कुर्ची मोहमा सीमित संकीर्ण सोच ।
]]>
प्रतिक्रिया