देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको विवाद अब जिल्लाजिल्लामा

देशान्तर

काठमाडौं । केन्द्रीय नेताहरूबीच बढ्दै गएको सत्तारूढ नेकपा एमालेभित्रको विवाद अब जिल्लाजिल्लामा विस्तार भएको छ । एमालेका दुई गुटले मदन भण्डारीका नाममा गठन गरेका दुईवटा संस्था मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी अध्ययन केन्द्रका नाममा गुटको राजनीति अब जिल्लाजिल्लामा विस्तार भएको हो । मदन भण्डारी अध्ययन केन्द्रमा सबै नेपाल पक्षका नेता कार्यकर्ता छन् भने मदन भण्डारी फाउन्डेसनमा अध्यक्ष ओली पक्षका नेता कार्यकर्ता छन् । यी दुई संस्थामा नाममा दुई गुटले देशव्यापी भेलामा आयोजना गरेका थिए । 
केन्द्रमा देखिएको दुई गुटको विवादका कारण दाङको जिल्ला कमिटीमा सल्किसकेको छ । त्यहाँको विवाद झनै चुलिँदै जाने संकेतहरू देखा परेको छ । जिल्ला कमिटीको सचिवालयले कारबाही गरेका व्यक्ति र स्पष्टीकरण सोधिएका सचिवको अगुवाइमा धमाधम एक पछि अर्को निर्णय गर्दै जानुले त्यस्तो संकेत देखिएको हो । एमाले दाङका इन्चार्ज मेटमणि चौधरीले अवैध व्यक्ति र कथित पदमा रहेकाहरूले पार्टीलाई नै बदमान गराउने र मुठभेडको स्थिति सिर्जना गर्न खोजेको आरोप लगाए । कायवाहक अध्यक्ष हुकुमबहादुर बस्नेत नेतृत्वको अर्काै समूहले पनि कार्यवाहक अध्यक्ष जोगबहादुर राणालाई जेठ १६ गते नै कारबाही र निलम्वन गरिएकोले उक्त समूह अवैद्य रहेको बताउँछ ।

नेकपा एमाले दाङ जिल्ला कमिटीको सचिवालयमा २१ जना रहेकोमा गत जेठ १३ गतेका दिन १२ जनाको बहुमतमा बैठक बसेकोमा मंगलबार स्पष्टीकरण सोधिएका जिल्ला सचिव हुकुम बस्नेत र दुई वर्षका लागि कारबाहीमा परेका पूर्वसचिवालय सदस्य मनोहर बुढाथोकीसमेत सात जना बैठक बसेको र त्यो बैठक कुनै पनि अर्थमा वैधानिक नरहेको जिल्ला इन्चार्ज चौधरीले दाबी गरे । 

यस्तै विवाद एमाले जिल्ला कमिटी नवलपरासीमा विवाद देखिएको छ । जिल्ला कमिटीका ३५ सदस्यले संयुक्त विज्ञप्ति निकालेर जिल्ला नेतृत्वले हैकम चलाएर पार्टी कमजोर पारेको आरोप लगाउँदै तत्काल नेतृत्व फेर्न माग गरिएको छ । साढे तीन वर्षअघि निर्वाचित जिल्ला कमिटीले २० प्रतिशत सदस्य मनोनीत गर्नुपर्नेमा अझै मनोनीतका बारेमा बैठकमा एजेन्डा समेत प्रवेश गराउन नसकेको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन् । जिल्ला समितिले पूर्णता नपाएका कारण कमिटीको पूर्ण बैठकसमेत बस्न सकेको छैन ।

एमाले विधानअनुसार हरेक वर्ष कम्तीमा एक पटक गर्नुपर्ने प्रतिनिधि परिषद्को बैठक साढे तीन वर्षसम्म पनि बस्न सकेको छैन । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका जिल्ला नेताहरूको भेलाले ७ वटा बुँदासहितको विज्ञप्ति पार्टी केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् । केन्द्रीय कार्यालयमा ६१८ नम्बरमा दर्ता गराइएको निवेदनमा पार्टी नेतृत्व विधान विपरीत चल्दै आएकोले विधानअनुसार चल्न निर्देशन गरिदिन आग्रह गरिएको छ ।

उनीहरूले निर्वाचित भएको साढे तीन वर्षसम्म पनि जिल्ला कमिटीले पूर्णता पाउन नसकेको, सचिवालय गठन पूरा नभएको, पार्टीका विभागले पूर्णता नपाएको, हरेक दुई महिनामा बस्नुपर्ने नियमित बैठक बस्न नसकेकोलगायत आरोप लगाउँदै नेतृत्व असफल भएको दाबी गरेका छन् ।

यस्तै विवाद अधिकांश जिल्लामा बढ्ने एक केन्द्रीय नेताले बताएका छन् । उनका अनुसार मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी अध्ययन केन्द्रका नाममा गुटको राजनीतिले केन्द्रमा देशव्यापी भेलाको असर जिल्लाजिल्लामा देखिन लागेको छ । अर्कोतर्फ एमालेभित्रका केपी ओली र माधव नेपाल गुटले आगामी दसौं महाधिवेशनलाई लक्षित गरेर अहिलेदेखि नै आफ्नो गुटलाई बलियो बनाउने अभियान थालेकाले गुटको राजनीतिको विवाद देशव्यापी फैलने सम्भावना बढेको छ । 

 

]]>