ताप्लेजुङ । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार वर्षीय अंशु तामाङ र तीन वर्षीय अमृत तामाङ रहेका छन् । आज विहान करिव २ वजेको समयमा माथीबाट झरेको पहिरोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका बालबालीकाको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीय सिता तामाङ र दिदी १२ वर्षीय अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । यता, मेची राजमार्ग अन्तरगत दोखुमा पर्ने ल्याङ्बा सडकखण्ड पहिराका कारण अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन वीचमै अलपत्र परेका छन् । मध्य राती देखि ताप्लेजुङमा लगातार वर्षा भईरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानियबासी त्रसित भएका छन् ।
]]>
प्रतिक्रिया