देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशनको संघारमा गच्छदारलाई संकट

देशान्तर

काठमाडौं । ओली सरकारका उपप्रधानमन्त्री समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदारको पार्टीमा महाधिवेशनको मुखमा गडबडि सुरु भएको छ । वैशाख २० गतेदेखि पार्टीको महाधिवेशन गर्न लागेका उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नाम परिवर्तन गर्ने तयारी थालेपछि विवाद सुरु भएको छ । हुन त गच्छदारको पार्टीमा नाम परिवर्तनको बारेमा पहिल्यैदेखि विवाद रहेको थियो ।

गच्छदारले आफ्नो मातृ पार्टी उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपालले नाम परिवर्तन गरेपछि पहिलो संविधानसभाताका नै पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव ल्याएका थिए । तर पार्टीभित्र कुरा नमिलेपछि उक्त प्रस्ताव त्यत्तिकै थन्किएको थियो । अहिले फेरि महाधिवेशनबाट नै पार्टीको नाम परिवर्तन गर्नुपर्ने लबिङमा उनी लागेका हुन् । तर अहिले पनि महाधिवेशनको मुखमा पार्टीको नाम परिवर्तनका विषयलाई लिएर विवाद सुरु भएको हो । यादवले राष्ट्रिय रूप धारण गरिसकेको अवस्थामा आफू भने क्षेत्रीय राजनीतिमै खुम्चनुपर्ने खतरालाई मध्यनजर गर्दै पार्टीको नाम परिवर्तन गरी राष्ट्रिय रूप लिन लागिपरेको बताइन्छ ।

गच्छदार नाम फेर्ने चक्करमा लाग्दा पार्टीका उपाध्यक्ष रामेश्वरराय यादव त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् । पार्टीका गतिविधिबाट असन्तुष्ट रहेका यादवलाई केही दिनअघि अध्यक्ष गच्छदारले आफ्नै निवासमा बोलाएर पार्टीको नाम परिवर्तन गर्नेलगायत अन्य विषयहरूमा छलफल गरेका थिए । तर, उनले त्यसलाई अस्वीकार गरिदिएको बताइएको छ । छलफलमा उनले आन्दोलनका कारण पार्टी त्यतिकै बदनाम रहेको, पार्टी पहाडी र थारूको भएको भनी आरोप लाग्दै आएको कारण पार्टीबाट मधेसी शब्द झिक्न नहुने तर्क राखेका थिए । उपेन्द्र यादवले आफ्नो पार्टीको नाम परिवर्तन गरेपछि मधेसमा उनको आलोचना भइरहेको भन्दै त्यसको फाइदा आफ्नो पार्टीले लिनुपर्ने सुझावसमेत उपाध्यक्ष यादवले गच्छदारलाई दिएका थिए । अहिले गच्छदारले पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय लोकतान्त्रिक पार्टी, तथा नेपाल लोकतान्त्रिक फोरम राख्ने प्रस्ताव गरेका छन् ।

पार्टीका अर्का उपाध्यक्ष जितेन्द्र देवले पार्टी नाम परिवर्तन बारेको हल्ला आफूले पनि सुनेको तर त्यो आधिकारिक कुरा नभएको दाबी गरे । उनले नाम परिवर्तन गर्ने नगर्ने कुरा महाधिवेशनले तय गर्ने बताए । यसैगरी पार्टीका कार्यालय सचिव परमानन्द मेहताले पनि पार्टीको नाम परिवर्तनको बारेमा चर्चा भए पनि त्यसको कुनै टुंगो नलागेको बताए ।

 

]]>