देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महन्थको पार्टीमा पोस्टर विवाद

देशान्तर

काठमाडौं । कुनैबेला मधेसी मोर्चाका संयोजक रहेका महन्थ ठाकुरको पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी अहिले महाधिवेशनको तयारीमा जुटेको छ । तर महाधिवेशनको तयारीमा लागिरहेको अवस्थामा महन्थको पार्टीमा दुईटा समूहका बीचमा चरम द्वन्द्व सुरु भएको छ । यही द्वन्द्वका कारण तराई मधेस लोकतान्त्रिक पार्टीमा यतिबेला पोस्टर विवाद चुलिएको छ । महाधिवेशनका लागि पछिल्लोपटक विभिन्न समिति बनाइए तापनि उक्त समितिहरू बनाउनुभन्दा पहिला नै तयार भएको दुई किसिमको पोस्टरले विवाद मच्चाएको हो । 

तमलोपाका एकजना पदाधिकारीका अनुसार पार्टीभित्र दुईटा समूहले अलग–अलग पोस्टर निकालेर आफ्नो आधिकारिक रहेको दाबी गरिरहँदा पार्टीमा पोस्टर विवादले चर्चाको शिखर चुमेको हो । सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लालले अलगअलग पोस्टर बनाएपछि पार्टीमा समस्या सिर्जना भएको हो । ती पदाधिकारीका अनुसार नयाँदिल्लीबाट पार्टी अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएर कार्यालयमा पस्नेबित्तिकै सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल आफूले तयार गरेको पोस्टर लिएर अध्यक्ष ठाकुरसमक्ष उपस्थित भएका थिए ।

तर, ठाकुर बसेको टेबलमा त्यो पोस्टर राख्नेबित्तिकै उनले सो पोस्टरलाई अस्वीकार गरेर बनाउनेलाई नै थर्काएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पोस्टर फ्यालेर लाल र शुक्लसँग ‘क्या है ये ?’ भनेर आँखा रातोपिरो गरेपछि दुवैजना केही समयका लागि मौन बसेका थिए । स्रोतका अनुसार ठाकुर पोस्टर हेर्नेबित्तिकै केही समय आफनो कार्यकक्षबाटै निस्केर बाहिर पुगेका थिए । अध्यक्ष ठाकुर रिसाएरै कार्यकक्षबाट बाहिरिएपछि पोस्टरवालाहरू पनि बाहिरिएका थिए । लाल र शुक्लाले तयार पारेको पोस्टरमा अध्यक्ष ठाकुरको फोटो सानो राखेर एक कुनामा राखिएको थियो भने अन्य दलका र तमलोपाका अन्य नेताहरूको आन्दोलनका फोटोहरू राखेर पोस्टरलाई भद्दा बनाइएको छ ।

अर्कातर्फ महासचिव जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको प्रचारप्रसार समितिले अर्को पोस्टर तयार गरेको छ । सो पोस्टर अध्यक्ष ठाकुरबाट स्वीकृत भइसकेको छ भने उक्त पोस्टरमा ठाकुरबाहेक कसैको फोटो राखिएको छैन । तमलोपाको महाधिवेशन असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुँदैछ ।

 

]]>