देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

देशान्तर

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका विद्यार्थीले आज विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मूलढोकामा तालाबन्दी गरी धर्नामा बसेका छन् । 

क्याम्पस प्रवेश गर्ने मूलढोकामै तालाबन्दी गरेर विद्यार्थी धर्नामा बसेपछि क्याम्पसको पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ । पठनपाठनका लागि क्याम्पस पुगेका विद्यार्थी मूलढोकाबाटै घर फिर्ता हुन थालेका छन् । क्याम्पसका बिहानी कक्षा समेत तालाबन्दीका कारण सञ्चालन हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । शुक्रबार विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको उपस्थितिमा विश्वविद्यालयमा लामो समयदेखि देखिएको गतिरोध हटाउनका लागि विद्यार्थी सङ्गठनसँग छलफल भइरहेका बेला अनेरास्ववियुका विद्यार्थीले नेविसङ्घका पुरोहित बडूमाथि कुर्सीले हिर्काई घाइते भएका थिए । 

रजिस्ट्रार भट्टको उक्साहटमा अनेरास्ववियुका विद्यार्थीले विद्यार्थी नेता बडूमाथि हमला गरेको नेविसङ्घको ठहर छ । बडूमाथि हमला गर्ने र उक्साउने रजिस्ट्रार भट्टको राजीनामाको माग गर्दै तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घका किशोरप्रसाद जोशीले बताए ।  दोषीमाथि कारबाही नहुँदासम्म धर्ना र तालाबन्दी जारी रहने उनले बताए ।  

यसैबीच नेविसङ्घ केन्द्रीय कार्यसमितिले समेत विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।    विश्वविद्यालयमा भएको घटनाप्रति नेपाल प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले दुःख व्यक्त गरेका छन् । घटनाको छानबिन गरी परिस्थितिलाई सहज बनाई पठनपाठनको वातावरण सिर्जना गर्न माग गरिएको छ ।

]]>