देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्र पौडेलको जित सुनिश्चित

देशान्तर

महाधिवेशन भव्य र सौहाद्रपूर्ण, नेतृत्वका लागि आज मतदान

काठमाडौं । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशन सफलताको अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट विभिन्न क्षेत्र, प्रदेश, जातजाति आदिको प्रतिनिधित्व गर्दै छानिएका तीन हजार एक सय ७२ महाधिवेशन प्रतिनिधिहरूमध्ये अधिकांशले भाग लिएका छन् । तर महाधिवेशन प्रतिनिधिहरूभन्दा धेरै ठूलो संख्यामा देश तथा विदेशबाट कार्यकर्ताहरू राजधानी ओर्लिएपछि कांग्रेसको महाधिवेशनको रौनक अझ बढेको छ । अघिल्लो महाधिवेशनबाट निर्वाचित सभापति सुशील कोइरलाको निधन भएको तीन हप्ता पनि वित्न नपाउँदै आयोजना भएको महाधिवेशन सौहाद्रपूर्ण वातावरणमा सहज र समझदारीपूर्वक सम्पन्न हुनुलाई राजनीतिक पर्यवेक्षकहरूले प्रशंसा गरेका छन् । अघिल्ला महाधिवेशनहरूको तुलनामा १३ औं महाधिवेशन सहज रूपमा टुंगिएको उनीहरू बताउँछन् ।

महाधिवेशनअन्तर्गत शुक्रबार र शनिबार दुई दिनसम्म चलेको बन्द सत्रले केन्द्रीय समितिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित गरेको छ । निर्वाचनबाहेक अरू कार्यक्रम हिजो साँझ सम्पन्न भएको छ भने आज आइतबार ८ बजेदेखि ४ बजेसम्म आगामी चार वर्षको निम्ति केन्द्रीय नेतृत्व छनोट गर्न मतदान हँुदैछ । यसको परिणाम भोलि बिहानसम्ममा घोषणा हुने अनुमान गरिएको छ । आज हुने निर्वाचनले सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ जनालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्दैछ । ६४ वटा पदमा ३१२ जनाले प्रतिस्पर्धा गर्दैछन् । मुख्य तीन पदमध्ये सभापतिमा तीन, महामन्त्रीमा तीन र कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।   

यसैबीच, सभापति पदमा संस्थापन पक्षबाट उम्मेदवार बनेका कार्यवाहक सभापति रामचन्द्र पौडेलको जित सुनिश्चित देखिएको छ । कुल मतमध्ये रामचन्द्र पौडेलले करिब ५६ प्रतिशत हासिल गरेर पहिलो चरणमै निर्वाचित हुने बलियो सम्भावना रहेको पर्यवेक्षकहरू बताउँछन् । जिल्लाजिल्लाबाट आएका मतदातामध्ये सभापति पदका प्रत्याशी शेरबहादुर देउवाको पक्षमा ३८ प्रतिशतमात्र रहेकाले संस्थापनका उम्मेदवार पौडेलले पहिलो चरणमै बाजी मार्ने पर्यवेक्षकहरूको अनुमान छ । त्यसैले यतिबेला देउवा पक्ष मतदातामाझ आफ्नो प्रभाव विस्तार गर्न भरमग्दुर प्रयासमा जुटेको छ । तर पछिल्लो समयमा आफ्नै सहयोगी टिमका सदस्यहरू असन्तुष्ट बनेकाले उनको स्थिति थप मजबुत बन्न सकिरहेको छैन । आफ्नो प्यानलमा उम्मेदवारको छनोट गर्दा सहयोगीहरूको भावनाको कदर नगरी एकतर्फी रूपमा आफ्ना अन्धसमर्थकलाई मात्र छनोट गरेपछि देउवा पक्षका महत्वपूर्ण हस्तीहरू नै देउवासँग क्षुब्ध बनेका छन् । देउवाको खुलेर विरोध गर्न नैतिक संकट परे पनि व्यावहारिक रूपमा सहयोग नगर्ने मनस्थितिमा उनीहरू पुगेका छन् । देउवा पक्षको सबैभन्दा बलियो सहयोगी मानिएका खुमबहादुर खड्कासमेत अहिले उनीसँग रुष्ट भएका छन् । खुमबहादुर समर्थकहरूलाई बढी स्थान दिँदा पछि आफूलाई विभिन्न प्रकारले दबाब दिएर अप्ठ्यारोमा पार्ने आशंकाले देउवाले खड्का समर्थकहरूलाई आफ्नो प्यानलमा राखेनन् । देउवा समूहभित्र बढेको यो असन्तोषको लाभ पनि पौडेललाई पुग्ने भएको छ । देउवा पक्षको लागि आफ्नो सम्पूर्ण राजनीतिक भविष्य दाउमा राखेर वर्षांैदेखि सहयोग गरिआएका सहयोगीहरू पनि अन्तत: उनको प्यानलमा नपरेकोमा मर्माहत भएका छन् । यहासम्मकि हिजो बिहानसम्म आश्वासन पाएकाहरू पनि दिउँसो अन्तिम सूचीबाट फालिए ।

महाधिवेशनका अधिकांश सहभागीहरू नेपाली कांग्रेस स्वच्छ, एकताबद्ध र गतिशील भएको देख्न चाहन्छन् । कदाचित देउवा र रामचन्द्रबीचको प्रतिस्पर्धामा उनीहरूको यो भावना, प्रतिनिधित्व देउवाभन्दा रामचन्द्रले बढी गर्ने उनीहरूको निष्कर्ष देखिन्छ । खासगरी देउवाको शासनकालमा सांसद्को खरिदबिक्री, जम्बो मन्त्रिपरिषद् र भ्रष्टाचारलगायत विभिन्न प्रकारका विकृति, विसंगतिहरू बढेको कारणले जनतामा कांग्रेसप्रति असन्तोष बढेको र कार्यकर्ताहरूको नूर गिरेकोले प्रतिनिधिहरू देउवाले नेतृत्व पाएमा फेरि इतिहास दोहरिने आशंका गर्दछन् । त्यस्तै देउवाले आफू सत्तामा टिक्नका लागि पार्टी नै फुटाएको र प्रधानमन्त्रीको लेटरप्याड दरबारमा लगेर सत्ता राजालाई सुम्पिएको तीतो इतिहास पनि उनीहरूले सम्झिरहेका छन् । त्यसकारण उनीहरू यतिबेला ‘कि रामचन्द्र, कि सिटौला’ भनिरहेका छन् । देउवाले आफ्ना कमीकमजोरी र गल्तीका लागि आत्मआलोचना गरी कार्यकर्ताहरूसँग क्षमायाचना गर्दै भविष्यमा त्यस्ता गल्ती नदोहोर्‍याउने कसम अहिलेसम्म खाएका छैनन् । त्यसको बदला उनी झन् आफ्ना विगतका कामको बचाउ गरिरहेका छन् जसलाई कार्यकर्ताहरूले पचाउन सकिरहेका छैनन् । यसकारण पहिले सत्तापक्षमा नभएकाहरू पनि अहिले रामचन्द्रको पक्षमा देखिएका छन् । रामचन्द्र पौडेलको छवि स्वच्छ तथा विचार अग्रगामी र व्यवहार सन्तुलित रहने गरेको कारणले पनि उनीहरू पौडेलको नेतृत्वमा पार्टी सुरक्षित हुने तथा स्वच्छ र सन्तुलित ढंगले अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।

कार्यकर्ताहरूको यस प्रकारको भावना भए पनि बाहिरी प्रचार तुल र ब्यानरहरू पौडेलकाभन्दा देउवाका बढी देखिएका छन् । र, यस्तो प्रचारमा संलग्नहरू महाधिवेशन प्रतिनिधि नभएर देउवाका समर्थक कार्यकर्तामात्र छन् । कतिपय देउवालाई भोट हाल्ने विश्वास गरिएका प्रतिनिधिहरू पनि देउवाको नाम लिन संकोच मानिरहेका छन् । तर पहिलेदेखिको प्रतिबद्धता तथा व्यक्तिगत संलग्नता तथा देउवाबाट पाइआएको संरक्षणले गर्दा उनीहरू त्यही खेमामा बस्न विवश जस्तो पाइन्छ । संस्थापन पक्षबाट एकमात्र प्रत्याशी भएको भए देउवाको स्थिति दयनीय देखिने चित्र स्पष्ट भएको छ । कृष्णप्रसाद सिटौलाको अप्रत्याशित उम्मेदवारीले संस्थापन पक्षका अधिकांश प्रतिनिधिहरू चकित भएका छन् । तर सिटौलाले आफू तेस्रो स्थानमा आए रामचन्द्र पौडेललाई नै समर्थन गर्ने र देउवालाई कुनै हालतमा पनि बल नपुर्‍याउने कसम आफ्ना सहयोगीहरूबीच खाएका छन् । उनले भन्दै आएका छन्, ‘म कुनै हालतमा पनि संस्थापन पक्षलाई छोड्दिनँ ।’ तैपनि कार्यकर्ताहरूमा केही मनोवैज्ञानिक प्रभाव परेको छ । यस कारणले संस्थापन पक्ष कमजोर भएको आशंका बाहिर गरिए पनि महाधिवेशनभित्रको वातावरण त्यस प्रकारको छैन । विजय अन्तत: संस्थापन पक्षले हासिल गर्ने कुरामा जानिफकारहरू विश्वस्त छन् ।

महाधिवेशन प्रतिनिधिहरूको सम्पर्कमा रहेका विज्ञहरूको रायअनुसार पौडेलले ५६ प्रतिशत मत हासिल गर्ने सम्भावना देखिएको छ । यदि पौडेलको पक्षमा रहेको ५६ प्रतिशत मत पहिलो चरणको चुनावमा यताउता नभएमा दोस्रो चरणसम्म जानु नपर्ने विज्ञहरू बताउँछन् । तर, कथंकदाचित पहिलो चरणमा पौडेलेको मत सिटौलामा बाँडिए चुनाव दोस्रो चरणमा प्रवेश गर्ने सम्भावनालाई पनि नकार्न नसकिने उनीहरू बताउँछन् । त्यस्तो भएमा पनि दोस्रो चरणमा पौडेलको स्थिति झन् मजबुत बन्ने र अन्तत: जित पौडेलकै हुने उनीहरू बताउँछन् । उता देउवा पक्ष पनि जित्न सके पहिलो चरणमै जित्नु पर्ने नभए दोस्रो चरणमा कुनै हालतमा जित्न नसकिने निष्कर्षमा रहेको जानकारहरू बताउँछन् । संस्थापनका सिटौला पनि सभापतिमा प्रत्याशी बनेपछि त्यसको फाइदा आफूलाई हुने र जित्न सकिने उनीहरूको अनुमान छ । त्यसैले पहिलो चरणमै जित निकाल्न बल गर्नुपर्ने उनीहरूको निष्कर्ष रहेको छ । तर, सिटौलाको उम्मेदवारी भए पनि संस्थापनको भोट दायाँबायाँ नहुने भएकाले देउवा पक्षको उक्त अनुमान साकार हुने सम्भावना नरहेको संस्थापन पक्षका मतदाताहरूको मनस्थिति बुझेका पर्यवेक्षकहरू बताउँछन् ।

यसैगरी महामन्त्री पदमा डा. शंशाक कोइरालाको जित सुनिश्चित जस्तै देखिएको छ । बीपीका कान्छा सुपुत्र शंशाकप्रति कांग्रेसीहरूमा गहिरो आकर्षण रहेको छ । बीपीको विचारको सम्मानका लागि पनि शंशाकलाई महामन्त्रीमा मत दिन कांग्रेसका प्रतिनिधिहरू आतुर जस्तै छन् । त्यसमाथि शंशाक जहिलेदेखि राजनीतिमा प्रवेश गरे त्यहीबेला देखि उनी कार्यकर्ताको सुखदु:खमा साथ दिने नेताको रूपमा परिचित छन् । उनले संविधानसभाको दुईवटै चुनाव अत्यन्तै ठूलो मतान्तरले जितेका छन् । त्यसैगरी पार्टीको सिद्धान्त र आदर्शप्रति उनको निष्ठा निर्विवाद छ । उनलाई स्वच्छ छविको नेताको रूपमा कार्यकर्ताहरूले लिने गर्छन् । बीपीको सुपुत्र मात्र हैन बीपीको विचारको अनुयायी समेत रहेका शशांकको उम्मेदवारीमा सिंगो कोइराला परिवारको साथ र समर्थन रहेको छ । अन्य बेलामा शशांकको प्रतिस्पर्धी जस्तो देखिने सुजाता कोइराला र डा. शेखर कोइरालाले पनि निर्विवाद रूपमा महामन्त्रीमा उनको उम्मेदवारीलाई समर्थन गर्नुले पनि उनी कति बलियो उम्मेदवार हुन भन्ने अनुमान लगाउन सकिन्छ । देउवा पक्षमा रहेका मतदाताहरू समेत शशांकलाई मत दिने पक्षमा रहेको पाइएको छ । युवामाझ अत्यन्तै लोकप्रिय मानिएका महामन्त्रीका अर्का प्रत्यासी गगन थापाको चर्चासमेत उनको अगाडि फिका परेको छ, यतिबेला । त्यसैले शशांकको जित सुनिश्चित जस्तै देखिएको पर्यवेक्षकहरू बताउँछन् । यो स्थितीमा पुराना नेता अर्जुननरसिंह केसी भने तेस्रो स्थानमा आउने देखिन्छ । 

उता संस्थापन पक्षबाट कोषाध्यक्ष पदमा उम्मेदवार बनेकी सिरहाकी सीतादेवी यादव निष्ठाको राजनीतिको प्रतिमूर्ति जस्तै हुन् । आफ्नो पतिलाई माओवादीले हत्या गरेपछि कांग्रेसको राजनीतिमा सक्रिय भएकी यादवलाई देशभरका कांग्रेसीहरूले एक सरल, स्वच्छ छवि भएकी निष्ठावान नेतृको रूपमा चिन्छन् । सिरहा कांग्रेसको दुई कार्यकाल सभापति भइसकेकी र संसद्मा निर्वाचित सांसद्को हैसियतमा रहेकी यादवको उम्मेदवारीलाई एक कार्यकाल कोषाध्यक्ष भइसकेकी चित्रलेखा यादवले हराउन नसक्ने धेरैको अनुमान छ । चित्रलेखा यादव दोस्रो पटक कोषाध्यक्ष बन्न खोज्दैछिन् । दोहोर्‍याएर कोषाध्यक्ष बनाउनुपर्ने गरी उनले आफ्नो पहिलो कार्यकालमा कुनै त्यस्तो छाप नछोडेकोले पनि आम कांग्रेसी मतदाता सीतादेवीको पक्षमा देखिएका हुन् । कोषाध्यक्षका अर्का प्रत्यासी उमाकान्त चौधरीप्रति मतदातामा कुनै आकर्षण देखिदैन ।

 

]]>