देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विख्यात गायक र हात्तीको कथा

देशान्तर

मणि लोहनी

म जन्मिएताका फत्तेमान हात्तीको व्यापार गर्थे ।

राजाहरूले दान दिने हात्तीको व्यापार । त्यसताका राजपरिवारका सदस्यहरूले आफ्नो संमृद्धि र उन्नतिका लागि ब्राम्हणहरूलाई हात्ती दान दिने प्रचलन थियो । उनी ब्राम्हणहरूसँग दान पाएको हात्ती किन्थे र राजपरिवारका सदस्यहरूलाई चाहिएको बेलामा बेच्दथे ।

फत्तेमानका साथीहरू उनलाई जिस्काउँथे पनि– ‘यो सानो मान्छे हो र ? हात्ती पाल्न सक्ने मान्छे हो ।’ हात्तीको किनबेच गर्नु सानु कुरा थिएन । बाहुनसँग किनेर नबिकेसम्म हात्तीलाई पाल्नु पनि पथ्र्यो । देवपतनको घरमा उनी हात्ती पाल्थे । त्यसताकाका फत्तेमानका हात्तीका अनेक किस्साहरू छन् । उनका समकक्षीहरू फत्तेमानको हात्तीको किस्सा सुनाउन पाउँदा अहिले पनि रोमाञ्चित हुन्छन् । साथीभाइका अगाडि सधैं सहज रूपमा प्रस्तुत हुने यी गायकका हात्ती किस्सा कम रोचक छैनन् ।

एकपटक किनेर ल्याएको हात्ती पाल्दापाल्दै ब्याइदियो । हात्तीको छावा हुर्काउन उनलाई कम दु:ख भएन । त्यसमा अझ साथीहरूले जिस्काएर हैरान । ‘के हो ? तेरो घरको हात्ती त ब्याएछ नि ।’ जावलाखेल चिडियाखानाका तत्कालीन माउते रामशरण बिँडारीलाई बोलाएर उनले छावा स्याहार्न लगाए । हात्तीका लागि दाना बनाउन उनले दुईजना मानिसलाई राखेका थिए ।

पशुपतिमा क्युरियोको व्यापार गर्दागर्दै उनले हात्तीको व्यापारमा फड्को मारेका थिए । क्युरियोको व्यापार गर्दा उनको संगत अभिनेत्री माला सिन्हासँग समेत थियो । मुम्बई ब्रान्दामा पुगेर उनी कैयौं पटक माला सिन्हाकहाँ बसेका पनि थिए । माला सिन्हासँगको उनको हिमचिम त्यस समयमा निकै चर्चित थियो ।

२०३४, ३५ सालतिर उनको नारायणगोपाल गुरुवाचार्यसँग भेट भयो र उनी गीतसंगीतमा नै व्यस्त भए । हरेक बिहान जस्तो नारायणगोपाल ‘महाराज’भन्दै फत्तेमानको घर पुग्थे । गीतका नयाँ नयाँ बान्की र संगीतका कुरा गर्थे । प्राय: जसो पशुपतिका जोगीहरूका साथमा भेटिने भएकाले नारायणगोपालले उनलाई ‘महाराज’ सम्बोधन गर्थे । किशोरवयका नारायणगोपाल फत्तेमानका स्वरका फ्यान थिए । गीतसंगीतका यी दुवै शिखर पुरुषको मित्रता नेपाली सुगम संगीतका लागि उपलब्धिपूर्ण रह्यो । वि.स. २०३५/३६ सालमा नेपाली सुगम संगीतले एउटा भिन्न मोड समायो । सुगम संगीतमा त्यो भिन्न मोड ल्याउने हस्ती थिए– फत्तेमान र नारायणगोपाल । त्यसताका नारायणगोपाल शब्द छनोट गर्ने र संगीत भर्ने गर्थे । फत्तेमान आफ्नो जादुमयी स्वरमा जीवन्तता दिन्थे–

‘वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले’ स्वर : फत्तेमान । संगीत : नारायणगोपाल । शब्द : कालीप्रसाद रिजाल ।

फत्तेमानको गायन शैलीको आफ्नै एउटा परम्परा छ । संस्कृति छ । फत्तेमानको आवाज भिन्न छ । उनको स्वरको छुट्टै माधुर्यताका कारण आज नेपाली सुगम संगीतको स्थान अझ फराकिलो भएको हो ।

पशुपति क्षेत्रमै जन्मेकाले भजनको पृष्ठभूमिबाट गायन यात्रा सुरु गरेका फत्तेमानको गहकिलो र माधुर्य स्वरका कारण ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’, ‘सान्ननीको गालैमा कालो कोठी’, ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’, ‘जिन्दगीको पानाभरि सुख भेटिँदैन’, ‘वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले’, ‘झरी जाने फूलको पनि’, ‘मर्न बरु गाह्रो हुन्न’ जस्ता दर्जनौं गीत कालजयी सांगीतिक कृति बन्न पुगेका छन् ।

पशुपति मन्दिर परिसरमा हुने नित्य भजनबाट सात वर्षको कलिलो उमेरबाटै फत्तेमानले आफ्नो गला मिसाउन थालेका थिए । त्यसबेला भजन गायन नै उनको स्वर साधनाको राम्रो माध्यम थियो । २०१८ सालमा रेकर्डिङको मौका पाएपछि उनले पहिलो रेकर्डका रूपमा पनि भजन नै गाएका थिए । २०२६ सालमा रेडियो नेपालको संगीत प्रतियोगितामा नातिकाजीको संगीत र यादव खरेलको शब्दमा ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’ बोलको गीत गाएर प्रथम स्थान हासिल गरेपछि भने उनको गायनयात्राको काँचुली नै फेरियो । त्यो गीतबाट फत्तेमानले तत्कालीन राजा महेन्द्रलाई समेत आफ्नो फ्यान बनाइदिए । राजाकै हातबाट स्वर्णपदक प्राप्त गरेका उनको दरबारसँगको सम्बन्ध पनि झांगियो । दु:खसुखमा दरबार उनको सहयोगी बन्यो । बेलाबेलामा दरबार जाने र गीत गाउने सिलसिला सुरु भयो । राजा महेन्द्र पनि गीतसंगीतका पारखी । मुड चल्यो कि फत्तेमानलाई बोलाउँथे र महफिल जमाउँथे ।

दुखान्त गीतमा आवाज दिन रुचाउने फत्तेमानको नातिकाजी र शिवशंकरसँग अजीबको मित्रता थियो । नातिकाजीले भनेको उनी हार्न सक्दैनथे । नातिकाजीले भनेको सबै गीत उनले गाए । फत्तेमानको स्वरबाट प्रभावित नातिकाजीले उनलाई भजनबाट आधुनिक संगीतमा ब्रेक दिएका थिए । नातिकाजी फत्तेमानका प्रशंसकमात्र थिएनन्, सल्लाहकार र निर्देशक पनि थिए–

‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’  स्वर: फत्तेमान । संगीत : नातिकाजी । शब्द : यादव खरेल ।

हक्की र रसिक स्वभावका फत्तेमान मद्यपान र धूमपानका निकै सौखिन थिए । निधनभन्दा एक वर्षअघिसम्म उनले रंगमञ्चीय कार्यक्रमहरूमा आफ्नो दरिलो सक्रियता देखाए । बित्नुभन्दा केही समयअघि आयोजना भएको उनको एकल संगीत साँझमा उनले निर्धक्क गाएको देख्दा सबैले जिब्रो टोकेका थिए । पछिल्लो समय एल्बम निकाल्ने तयारीमा रहे पनि उनको स्वास्थ्यमा प्रतिकूलता आएपछि केही समयका लागि स्थगित गरिएको उनको रेकर्डिङ सधैंका लागि स्थगित भयो ।
‘मैले गाएको गीत आखिर सत्य रहेनछ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाले २०१६ सालमा ललितपुरको शान्त भवनमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भने झै शैलीमा फत्तेमानले भने, ‘मैले मर्न बरु गाह्रो हुन्न भनेर गीत गाएँ तर मर्ने बेलामा साह्रै गाह्रो हुँदो रहेछ । मलाई अहिले निकै गाह्रो भइरहेको छ ।’ ओम हस्पिटलको सघन कक्षमा थियौं हामी– जमुना भाउजू, प्रद्युम्न जोशी र म ।

उहाँको अन्तिम संवाद थियो, ‘मर्न निकै गाह्रो हुँदो रहेछ ।’

प्रशस्त चुरोट पिउने फत्तेमानलाई फोक्सोको क्यान्सर भएको थियो । क्यान्सर पत्ता लागेको एक साता पनि नबित्दै उनको निधन भयो । वि.स. २०१३ सालमा वासु शशीको नेवारी नाटक ‘ताचाप्वाया’मा गीत रचेर गीतसंगीतमा औपचारिक प्रवेश गरेका फत्तेमान वासु शशी स्मृति परिषद्को उपाध्यक्ष हुँदा म कार्यसमिति सदस्य थिएँ । अत्यन्त सरल र इमानदार यी गायक निकै स्वाभिमानी थिए । उनलाई आफ्नो नाममा संस्था खोल्ने ठूलो रहर थियो । भन्थे, ‘मेरो शेषअघि नै मलाई संस्था खोल्न मन छ । संगीतको क्षेत्रमा केही गर्न मन छ ।’ उनको यो सोचाइ भने पूरा हुन सकेन ।

नेपाली सुगम संगीतको इतिहासमा गायक फत्तेमान राजभण्डारीको नाम विशिष्ट छ । उनको गीतमा बिहान सबेरै आफ्नो गला तिखार्ने शिष्यहरूको संख्या कम छैन । फत्तेमान गायकीका लागि विद्यालय थिए । गायकीका यी विद्यालयलाई अब संस्थागत गर्नुपर्ने बेला आएको छ । नेपाली गीतसंगीतका सबै मिलेर फत्तेमानको सम्मानमा धेरै थोक गर्नुपर्नेछ । उनको नामबाट गरिएका कामहरूले नेपाली गीत संगीत अझ उचाइमा पुग्नेछ ।

manilohani@hotmail.com

 

]]>