December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

नेतृत्वले कसरी प्रदर्शन गर्ने कुशलता ?


विश्व महाशक्ति राष्ट्र चीनको प्रसंगबाट आजको चर्चा सुरु गरौं ।

Advertisement

चिनियाँ नेता देङ स्याओ पेङलाई फादर अफ मोडर्न चाइना, क्रिएटर अफ मोडर्न चाइना, आर्किटेक्ट अफ मोडर्न चाइनालगायतका सम्मान र उपाधिले स्मरण गरिन्छ । सन् १९७६ मा माओत्सेतुङको देहावसान भएपछि नेतृत्व र शक्तिमा उदाएका देङले त्यतिबेलासम्म विश्वको दोस्रो गरिब देशको रूपमा रहेको विशाल चीनलाई आजको समृद्ध चीन बनाउन अतुलनीय भूमिका खेलेका थिए र यस भूमिकालाई आधुनिक चीनको इतिहासमा अभूतपूर्व योगदान मानिन्छ । देङ बेगरको आजको चीनको परिकल्पना गर्न कठिन छ । उनको राजनीतिक अठोट, आर्थिक नीति र प्रभावकारी कार्यान्वयनको परिणामस्वरूप आजको चीन विश्वसामु प्रतिष्ठित बनेको हो ।

बजार अर्थतन्त्रसहितको समाजवाद नै उनको प्रमुख नीति थियो । आधुनिक तथा वैज्ञानिक शिक्षा नैं समृद्ध चीन निर्माणको आधार हुनसक्छ भन्ने उनको बुझाइ थियो । उनले त्यतिबेला अवलम्बन गरेको नीतिसँग परम्परागत माक्र्सवाद या माओवादले पटक्कै मेल खाँदैन । सन् १९७८ बाट १९८९ सम्म आइपुग्दा तेनमेन स्क्वायरको विद्यार्थी आन्दोलनको निर्मम दमनबाहेक त्यस अवधिमा चीनमा खासै आलोचनात्मक राजनीतिक घटना भएनन् । देङले खडा गरेको विकासको आधारशीला नै आधुनिक चीनको गौरव हो ।

राजनीतिक रूपमा उनी र उनको देशले अवलम्वन गरेको बाटो या प्रणालीसँग सहमत हुन सकिँदैन तर उनका केही कार्यशैलीहरू अनुकरणीय छन् । त्यसमध्ये एउटाको मात्रै चर्चा गरौँ । पढेलेखेका जमिन्दार बाबुका छोरा असाध्य मेहनती तथा मेधावी देङलाई एकपटक पत्रकारहरूले सोधेछन्, दिनमा कति घण्टा काम गर्नु हुन्छ ? उनले जवाफ दिएछन्, दुई घण्टा । उनको जवाफबाट आश्चर्यचकित पत्रकारहरूले फेरि सोधेछन्, बाँकी समय के गर्नुहुन्छ ? उनले जवाफ दिएछन्, सोच्छु अर्थात् योजना बनाउँछु । काम गर्न छुट्टयाइएको २ घण्टाबाहेक देङले कसरी राम्रो काम गर्न सकिन्छ भनेर २२ घण्टा सोच्दा रहेछन् र परिणाम निकाल्दा रहेछन् ।

के यो कार्यशैली सिंगो संसारका लागि अनुकरणीय छैन त ? उनले जिमी कार्टर र रोनाल्ड रेगनजस्ता विश्वविख्यात अमेरिकी राष्ट्रपतिहरूसँग बुद्धिमत्तापूर्णरूपले जुन सम्बन्ध राखे, त्यसले पनि आधुनिक चीनको निर्माणमा ठूलो तथा ऐतिहासिक योगदान पुगेको छ भन्दा अतिशयोक्ति नहोला । यो प्रसंँग किन स्मरण गरिएको हो भने कुनै पनि व्यक्ति वा संस्थाले जस्तो कार्यशैली अख्तियार गर्छ परिणाम त्यस्तै निस्किन्छ । देङले जनअधिकार र नागरिक स्वतन्त्रताको विषयलाई समेत महत्व दिएको भए उनको उचाइ अझ बढ्ने थियो ।

त्यति मात्र होइन विश्व राजनेताको प्रतिष्ठा पाएका विख्यात अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्– यदि तिमी मलाई रूख काट्नको लागि ६ घण्टा समय उपलब्ध गराउँछौ भने म सुरुका चार घण्टा मेरो बञ्चरो उधाउनमा खर्च गर्छु । कति राम्रो कुरा ! भुत्ते बञ्चरोले त रूख काट्न सक्तैन र धारिलो बञ्चराले चाँडै रूख छिनाल्छ । यसले कुनै काम गर्नु अगाडि राम्रोसँग तयारी गर्नुपर्छ भन्ने कुरालाई इंगित गर्दछ । तयारी बिनाका कुनै पनि काम उपलब्धिमूलक नहुन सक्छन् । परीक्षा, प्रतियोगिता, युद्ध सबैका लागि पूर्वतयारी चाहिन्छ । कुनै पनि संस्था, समाज र देश भनेको पनि आखिर मानिस नै हुन् ।

मानिसकै योग्यता र बुद्धिमत्ताले सबै उन्नत बन्ने हुन् । कुनै अदृश्य शक्तिले रातारात प्रगति गराउने होइन । यो सत्यलाई सबैले बुझ्दैनन् र भाग्यवादी बन्छन् । भाग्य जन्मजात पैदा हुने कुरा होइन । मानिसको कर्मले भाग्य पैदा गर्दछ । राम्रो र असल कर्म सौभाग्यको जननी हो भने दुष्कर्म दुर्भाग्यको जननी हो । मानव सभ्यतालाई असल मानिसहरूले नै आजसम्म डोर्‍याएर ल्याए नत्र मानव जातिको अस्तित्व नै नरहन सक्थ्यो । यसमा इतिहासको विभिन्न कालखण्डमा निर्णायक भूमिका खेल्ने महापुरुषहरू तत्कालीन समयका सफल नेता हुन् । यस्तै दृष्टान्तमध्येको एउटा नमुना हुन् लिंकन ।

सफल संस्था या नेता वा राष्ट्रसँग जीवनको कार्यसूची हुन्छ । यसका लागि अन्तस्करण खुल्नुपर्छ । राष्ट्र किन निर्माण भयो, संस्था किन बनाइयो र मेरो जन्म किन भयो भन्ने कुरा थाहा नपाउनेहरू कदापि सफल हुँदैनन् । यिनले आफूले त दुःख पाउँछन् नैं, अरूलाई पनि दुःख दिन्छन् । अफगानिस्तान र अफगानी जनता यसको पछिल्लो उदाहरण हो । आतंक र परतन्त्रता अगाँलेका अफगानीहरूले अझै निकै दुःख पाउने पक्का छ । उनीहरूले अरूलाई पनि दुःख दिने पनि पक्का नैं छ । आफ्नो अस्तित्वको महत्व नबुझ्नेहरूले अन्ततः अस्मिता, स्वतन्त्रता र पहिचान गुमाउँदछन् ।

अस्तित्व आफ्नै बेहोसीले गुम्ने हो । पहिचान, राष्ट्र सबै कुरा आफ्नै नालायकी र अयोग्यताले गुमाउने र हराउने हो । ठूलठूला पदमा पुग्नेबित्तिकै पुग्ने जति सबै योग्य भइहाल्दैनन् । घटनाक्रम, परिस्थिति र संयोगले पनि कहिलेकाहीँ ओहदा प्राप्त हुने गर्छ । अक्सर यस्तो अवसरलाई कमै मात्रले सदुपयोग गर्दछन् । जसले सदुपयोग गर्छन् ती महान् बन्दछन् । सबै व्यक्ति चाणक्य हुँदैनन् जसले पहिले आफूलाई तयार गर्‍यो र पछि चन्द्रगुप्त पैदा गर्‍यो । त्यसैले प्राप्त अवसर त्यस्तो मौका हो जसलाई अधिकतम सदुपयोग गरी सिंगो समाज र आफू स्वयंलाई समेत लाभान्वित तुल्याउन सकिन्छ । यसको तात्पर्य प्राप्त जिम्मेदारीलाई सार्थक बनाउन सकिन्छ ।

सरकार राज्यको तर्फबाट काम गर्ने प्रतिनिधि हो । र सरकारले गर्ने सबै काम जनताका लागि हो । सरकारी अधिकारीहरू जनताको पसिनामा बाँच्दछन् । यसबापत उनीहरूले जनतालाई समान रूपले राज्यको सेवा प्रवाह गर्नुपर्दछ । यसमा कमि हुनासाथ राज्यको बेइमानीको प्रश्न उठिहाल्छ । यो स्वाभाविक हो, उठाउन पाईन्छ । किनभने राज्य जनताले आफ्नो सेवा र सुरक्षाका लागि निर्माण गरेको संगठित संस्था हो । अन्यथा राज्यको दरकारै छैन । सरकार निश्चित प्रक्रियाबाट आफ्नै लागि जनताले छानेको पहरेदारहरूको जमात हो । यो कुनै अलौकिक वा देव प्रदत्त समूह होइन ताकि जनताले यसको पूजा अर्चना गर्नु परोस् । आफ्नो आवश्यकताले, आफ्नै धन खर्चेर खडा गरेको सरकारलाई भन्ने, सचेत गराउने र हटाउने अधिकार जनतालाई हुन्छ । बरु सरकारहरूले जनताको पूजा गर्नु पर्छ । किनभने जनताले चाहेन भने सरकारको चुल्हो निभ्छ । यस्तो वास्तविकतालाई नजरअन्दाज गरेर चलेका सरकारहरू नैं जनविरोधी हुन्, निरंकुश र दमनकारी हुन् । अफगानिस्तानका खराब सरकारहरूले सोभियत संघलाई नभित्र्याएको भए आजको दुर्दशा झेल्नु पर्दैनथ्यो । सरकारमा पुगेका खराब पात्रहरूको क्षुद्र स्वार्थको परिणाम नै आज देश तालिवानी हिंसा र आतंकको मुहान भएको छ र विदेशीहरूको क्रीडास्थल बनेको छ ।

नेपाल देश नेपाली पुर्खाहरूको अथक संघर्ष र ठूलो बलिदानबाट निर्माण भएको हो । यो एकैरातमा बनेको होइन । अर्को कुरा यहाँ चलेका पुराना राजनीतिक प्रणालीहरूभन्दा वर्तमान प्रणाली उत्तम ठानेर वा मानेर स्थापना गरिएको हो । यस प्रणालीसँग गर्न सकिएन भन्ने सुविधा छैन । माथि नैं चर्चा भइसक्यो कि हरेक प्रणालीको सफलता या असफलता व्यक्तिको नेतृत्व कुशलतासँग जोडिने कुरा हो । व्यक्तिको सामथ्र्य र योग्यताले संस्था, समाज र राष्ट्र बन्ने हो । लि क्वान, महाथिर, पार्क चुङ हाम्रा नजिकका उदाहरण हुन् । उनीहरूले आफ्नो देशको सामथ्र्य र आवश्यकतालाई ठम्याए । तदनुकूलको तयारी गरे र आफ्नो इमान, नैतिकता र कठोर मेहनतले देश बनाए । यसबाट हामीले सिक्नु पर्छ कि पर्दैन ? यसअघि हामीबाट धेरै कमजोरी भए, जसको ठूलो मुल्य चुकाउनु पर्‍यो । अब त्यस्ता गल्ती कमजोरी दोहोर्‍याएर फेरि देशलाई अन्योलतर्फ धकेल्नु हँुदैन, जनतालाई निराश बनाउनु हुँदैन ।

नेतृत्व एउटा त्यस्तो प्रतीक वा धरोहर हो जो निर्माण हुन वर्षाैं लाग्छ र नेतृत्वसँग जनताका आशा जोडिएका हुन्छन् । अझ लोकतान्त्रिक प्रणालीमा त राजनीतिक दलको मुख्य नेताको भूमिकामा समाज र राष्ट्रको भविष्य अडिएको हुन्छ । नेताको कर्मले जनताको भाग्य निर्माण हुन्छ र कुकर्मले दुर्भाग्य । हामी आफैंले वकालत गरेको र संघर्षद्वारा स्थापना गरेको राजनीतिक प्रणालीको अहिले स्वयं नेतृत्व गरिरहेका छौँ । विगतको लामो राष्ट्र सञ्चालनको अनुभव पनि छ । साँच्चै भन्ने हो भने यतिबेला जनता घोर निराशामा डुबेको छ । दुई तिहाइ निकटको सरकार चल्न सकेन । जनताका सामान्यभन्दा सामान्य समस्या पनि सम्बोधन भएनन् । एक प्रकारले जनता अभिभावकविहीन भए । गरिबी र बेरोजारी बढ्यो । शिक्षा क्षेत्र तहसनहस भयो । शान्ति सुरक्षा नाजुक भयो । कोरोना महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिएन ।

संघीय शासन प्रणालीका सबै तहका सरकारहरूप्रति जनविश्वास बढेन । राजनीतिक दलहरूका बीचमा न्यूनतम समझदारीसमेत भएन । दलहरूभित्रको अन्तरकलह उत्कर्षमा पुग्यो । यस्तो बेलामा प्राप्त जिम्मेदारी सम्पादनमा निकै जटिलताहरू हुन्छन् नै । तथापि नेतृत्वले आफ्नो क्षमता प्रदर्शन गर्ने र परिणाम निकाल्ने यस्तै बेलामा हो ।

जनतामा सामाजिक तथा सांस्कृतिक जागरुकता कम हुनु पछौटे र अविकसित समाजको लक्षण हो । हाम्रो देश पनि यसको अपवाद छैन । राजनीतिक रूपमा भने नेपाल धेरै अगाडि छ । यसको उदाहरण नेपालमा सम्पन्न भएका चरणबद्ध राजनीतिक आन्दोलनहरू नै हुन् । तर देशको समुन्नतिका लागि राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुँदो रहेछ । त्यसैको परिणाम आजको दुरवस्था हो । त्यसैले अहिले हामी राष्ट्र निर्माणको गह्रौं बोझले थिचिएका छौँ । पुरानो पुस्ताको सक्रियता निवृत्तिको मोडमा छ । उमेर पुगेको राजनीति बाहिरको कान्छो पुस्ता अन्योलपूर्ण भविष्यबाट निराश छ । सबै राजनीतिक दलभित्रका तीनै पुस्तामा शक्ति संघर्ष जारी छ । समाज तनावग्रस्त छ, त्यसैले अशान्त छ । राष्ट्रिय ढुकुटी मजबुत छैन र अर्थतन्त्रका सूचकहरू उत्साहजनक छैनन् । कर्मचारीतन्त्र अवसरपरस्त छ । व्यापारी, व्यवसायीहरू संत्रस्त छन् ।

वैदेशिक रोजगारी गम्भीर रूपमा प्रभावित छ, बिप्रेषण घटेको छ, व्यापार घाटा बढेको बढ्यै छ । यस्तो बेलामा सबैलाई आश्वस्त बनाएर देश चलाउन निकै गाह्रो छ । तथापि थाप्लोमा जिम्मेवारी लिएपछि उम्कन मिल्दैन । तसर्थ कुनै पनि कार्य निकै तयारीका साथमात्र थाल्नु पर्दछ । देङले भनेजस्तो बढीभन्दा बढी सोच्ने र जति काम गरिन्छ प्रभावकारी र परिणाममुखी मात्र गर्ने बुद्धिमानी देखाउनु पर्दछ । लिंकनले भनेजस्तो काम थाल्नु् अगाडि राम्रो तयारी गर्नुपर्छ । सबल र सफल नेतृत्वले जनतामा आशा जगाउन सक्नु्पर्छ । दिन मात्रै गनेर बस्यौंं भने समृद्धि आफैं आउँदैन, इतिहासले धिक्कार्छ ।