जनकपुरधाम । नेपाली बजार मूल्य भन्दा सस्तोमा भारतीय धान भित्रिन थालेपछि धनुषाका किसान मारमा परेका छन् ।
बन्द हडतालको कारण उत्पादन गरेको धान सहरसम्म ल्याउन नसकेका किसानलाई भारतीय बजारबाट तस्करी भई धान नेपाल भित्रिन थालेपछि दोहरो मार परेको छ । भारतीइ धान अवैध रुपमा खुला सिमानाबाट जिल्लामा व्यापक मात्रामा भित्रिन थालेपछि मूल्य नपाउँदा किसान बाध्य भएर सस्तो मूल्यमा बेच्न थालेका छन् ।
भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसकेपछि बिचौलियालाई सस्तो मूल्यमा धान बेच्न थालेको लक्करका किसान नन्द किशोरले सुनाउनुभयो । सरकारी अनुदान नपाएका कारण महँगो लागतमा उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्दा यहाँका किसानले घाटा बेहोर्नु परिरहेको छ । नेपाल खाद्य संस्थानले धानको खरिद मूल्य नतोकिदिँदा किसानले घरमै आइपुग्ने बिचौलियालाई सस्तोमा धान बेच्ने गरेका छन् ।
अहिले धान प्रतिक्विन्टल रु एक हजार ८०० का दरले बिक्री भइरहेको छ । यसवर्ष जिल्लामा ५६ हजार ३९० हेक्टरमा एकलाख ४३ हजार ६५३ मेट्रिक टन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गतवर्ष ६२ हजार २०० हेक्टरमा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
]]>
प्रतिक्रिया