बचत तथा ऋण सहकारीहरुको छाता संघ नेफ्स्कूनले अहिले प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान सञ्चालन गरेको छ ।
सारमा हेर्दा यो संघले संस्थागत गतिविधि गरिरहे पनि यसको उद्देश्य भनेको राजनीतिक गतिविधि गर्ने देखिएको छ । नेफ्स्कुनका केही पदाधिकारी अहिले संस्थाको कार्यक्रमका लागि विभिन्न ठाउँमा पुगेर एमालेको संगठन गरिरहेका छन् । सहकारी संघसंस्थामा राजनीतिक रुपमा धारहरु स्पष्ट भए पनि विगतमा यसका गतिविधिहरु संस्थागत हितका लागि नै केन्द्रित हुने गरेका थिए । तर, एमाले पार्टी विभाजन भएपछि यसको प्रभाव नेस्फ्कुनमा पनि देखिन थालेको छ ।
एमालेको जनआधार भनेकै सहकारी र एनजिओहरु नै हुन भन्नेमा कसैको दुई मत छैन । अहिले नेफ्स्कुनको ब्यानरमा एमाले निकटका व्यक्तिहरुलाई भेला पार्दै कार्यक्रम सफल भएको सामाजिक सञ्जालमा लेख्ने र अन्य व्यक्तिहरुलाई निषेध गर्ने काम गरिएको छ ।
अहिले सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महाधिवेशनकाे संघारमा रहेको छ । त्यसका लागि अहिले वडा तथा क्षेत्रीय अधिवेशनहरु धमाधम भइरहेका बेला नेफ्स्कुनमा रहेका पदाधिकारीहरुले जुन प्रदेशमा कांग्रेसको अधिवेशनहरु भइरहेको छ, त्यसै वरिपरि कार्यक्रम तय गर्ने काम गरेका छन् । जसले गर्दा कांग्रेसमा आस्था राख्ने सहकारीकर्मीहरु पनि यसबाट बन्चित भएको गुनासो गरेका छन् । एक अभियन्ताले भने ‘हाम्रो प्रदेशमा नेफ्स्कुनको कार्यक्रम तय भएको ढिला थाहा पाए तर पार्टीको अधिवेशन भएकाले सहभागी हुन पाइन् ।’
अहिले अध्यक्ष परितोष पौडेलले विशुद्धरुपमा एमालेको संगठन गरि रहेका छन् । अहिले पार्टी विभाजन पछि शुक्रबारदेखि काठमाडौंमा एमालेको विधान महाधिवेशन पनि भइरहेको छ, यो कार्यक्रमका नाममा आफू निकटहरुलाई बोलाएर छलफल गर्ने गरेको उनको भनाई छ ।
सहकारी कार्यक्रमको आवरणमा नेफ्सकूनका सम्पूर्ण सवारीसाधन दुरूपयोग गर्दै के.पी. ओलि निकट रहेका सञ्चालकहरू देश दौडाहामा लागेको बुझिएको छ । यो समुहका नेतृत्वकर्ता अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरूले सञ्चालक समितिबाट निर्णय गराउनु त टाढाको कुरा जानकारीसम्म पनि नगराई संघको भौतिक स्रोतसाधनलाई चरम दुरुपयोग गरिरहेको स्रोतको दाबी छ ।
यसैगरी आफूखुसी बजेट निकासा गरेर खर्च गर्ने काम भइरहेको पनि जनाइएको छ । नेफ्स्कुनको खाताबाट पछिल्लो समय यस्तै कार्यक्रमका लागि भन्दै झण्डै ३४ लाख रुपैयाँ खर्च भएको बुझिएको छ । यस सम्बन्धमा नेफ्स्कूनका प्रवक्ता एवम् बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्पर्क गर्दा हाल भईरहेको कार्यक्रमका बारेमा र यसबारेमा समेत आफूलाई कूनै जानकारी नभएको र आधिकारिक रूपमा जानकारी भएपछि मात्र बोल्न सक्ने देशान्तरलाई बताए ।
प्रतिक्रिया