देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विधान संशोधनमा विकल्पसहित प्रस्ताव ल्याउन निर्देशन

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताले पार्टीको विभिन्न संरचना निर्माण गर्नुभन्दा पहिले आन्तरिक रुपमा विस्तृत छलफल गरी विकल्पसहित प्रस्ताव ल्याउन पार्टीको विधान मस्यौदा समितिलाई आग्रह गरेका छन् । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पार्टी पदाधिकारी र विधान मस्यौदा समितिको बसेको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेरमात्रै विधान संशोधन आवश्यक निर्णय लिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।  गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति भने यसअघि नै भएको छ ।

तर प्रदेश र केन्द्रमा भने कस्तो संरचना बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । उनले बैठकमा केही नेताले सबै तहमा निर्वाचित हुने व्यवस्था गर्दा जायज हुने धारणा राखेको भए पनि अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा मतैक्य देखिएको बताए । तर केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बताए ।

राज्यको नयाँ संरचनाअनुसार अब बन्ने प्रदेश राजनीतिको महत्वपूर्ण केन्द्र हुने भन्दै त्यसमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिइएको उनको भनाइ छ ।  सङ्गठन विभाग प्रमुख ढुङ्गाना भने व्यापक छलफल गरेर विभिन्न विकल्पसहितको खाका ल्याउन शीर्ष नेतृत्वले निर्देशन दिएको उल्लेख गरे । बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक सबै पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य सहभागी थिए । 

 

]]>