देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस अधिवेशन: कर्णालीका अधिकांश वडामा सर्वसम्मत

देशान्तर

वीरेन्द्रनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ ।

दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कार्यसमितति चयन भएका वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । वडामा सर्वसम्मतरुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन् । दैलेखका पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मीलगायतका नेता जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेका छन् ।

जुम्लाका करिव सबै वडामा पनि सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ । जिल्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका–७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो । वडामा सर्वसम्मत पदाधिकारी छनौट भएपनि जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने अवस्था आउने कांग्रेस नेताको भनाइ छ ।

जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललगायतका नेता आकाङ्क्षी देखिन्छन् । हुम्लाका पनि करिव सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसैगरी सल्यान, कालिकोट र रुकुमपश्चिममा पनि वडा तहमा करिव सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन ।

कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ । प्रदेशका अधिकांश वडामा सर्वसम्मत नेतृत्व छनौट भएतापनि नगर र जिल्लामा भने चुनाव हुनसक्ने सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत नगरसभापतिका आकाङ्क्षीसमेत रहेका किरण वली बताउछन् ।

“नगरका सबै वडामा सर्वसम्मत नेतृत्व छनौटको लागि तयारी भइसकेको छ”, उनले भने, “नगर र जिल्लामा भने आकाङ्क्षी धेरै भएको हुँदा चुनाव हुने सङ्केत देखिएको छ ।” अव पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षी आफ्ना प्रतिनिधि भेट्मा व्यस्त छन् ।