देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसलाई मधेसको सन्देश

देशान्तर

नेपाल देशको संविधान नेपाली जनताको नेतृत्वमा बनाउने दशकौं पुरानो नेपाली सपनालाई बहुसंख्यक दलहरूको नेतृत्व गरेर हाम्रो पार्टीले पूरा गरेको छ र एक नवीन युगको प्ररम्भ गराएको छ । यो इतिहास निर्माणको लागि हाम्रो नेतृत्व विशेष बधाईको पात्र छ तर सिंगो तराई मधेसको भूमि भने नयाँ संविधानको अपनत्वको दायराभन्दा बाहिर करिब पाँच महिनादेखि आन्दोलित रहिरहनु एक दु:खद उपकथाका रूपमा रहिरहेको यथार्थ सर्वविदितै छ ।

तराई मधेसमा संविधान किन जलाइयो ? किन बीपी, गिरिजाबाबु र पुष्पलालहरूको सालिक ढालिए ? हाम्रो पार्टीलगायत मुख्य राजनीतिक दलका पार्टी कार्यालयहरू किन जलाइए ? काठमाडौं चुकेर यस्तो भएको हो कि मधेसले नबुझेर ? किन मधेस हाम्रोविरुद्ध आन्दोलित भए झै देखियो ? हामीले कसो गरे मधेस मुद्दालाई उचित सम्बोधन हुनेछ र पार्टीको साख र शक्तिलाई पुनस्र्थापित गर्न सकिनेछ ? यिनै प्रश्नको धरातलीय उत्तर खोज्न हामी तराई मधेसको यात्रामा निक्लियौं ।

छलफलका लागि प्रस्तावित चार बुँदा

१.    असोज ३ मा जारी गरिएको संविधानका प्रति तपाईं र तपाईंको कार्य क्षेत्रका साथीहरूको अभिमत के छ ?  
२.    दुईबुँदे संशोधन कति उपयुक्त कति पर्याप्त छ । यसले मधेसका नागरिक पंक्तिको भावनालाई कुन हदसम्म सम्बोधन गरेको छ ।
३.    प्रस्तावित सीमांकन चित्त नबुझ्दो हुनुको कारण के हो ? हेरफेर कुन रूपमा गरे त्यो तुलनात्मकरूपले बढी उपयुक्त हुनेछ ।
४.    मधेसमा रक्षात्मक अवस्थामा पुगेको पार्टीलाई कसरी नयाँ ढंगले उठाउन सकिन्छ ?

साथीहरूको राय यस्तो रह्यो

बुँदा नं. १ बारे :</strong>

मधेस र मधेसी समुदायको हितमा निश्चय नै केही राम्रा प्रावधान नयाँ संविधानमा छन् तर थप केही दिनको समय लगाएर संविधान जारी गरेको भए विमतिका थप महत्वपूर्ण प्रश्नहरू हल गर्न सकिन्थ्यो । फास्ट ट्रयाकबाट संविधान जारी गरिरहँदा मधेसबाट विजयी हाम्रै पार्टीका सांसदहरूको आवाजलाई नजरअन्दाज गरिएको हाम्रो ठहर छ । नयाँ संविधान जारी गर्ने इतिहासको नेतृत्व त हाम्रो पार्टीले गर्‍यो तर एकतर्फ मैनबत्ती बाल्ने र अर्कोतर्फ टायर जलाउने मनोवैज्ञानिक विभाजनको अवस्था उत्पन्न भयो । तराई मधेसमा रहेका हामी कांग्रेस कार्यकर्ता न मैनबत्ती बाल्ने उत्साहको नेतृत्वमा रह्यौं न टायर बालेर संविधान जलाउने अक्रोशको नेतृत्वमा ।

बुँदा नं. २ बारे :

दुईबुँदे संशोधन अत्यन्तै उपयुक्त छ । हाम्रो सरकारको पालामा यसलाई अघि बढाइएको हँुदा हामी कांग्रेसजनलाई तराई मधेसमा उभिन यसले मुद्दा र आत्मबल दिएको छ । यदि यो दुई बुँदालाई सुरुमै समाहित गरेर संविधान जारी गरिएको भए सायद आन्दोलन उठ्नुपर्ने अवस्था नै सिर्जित हुने थिएन । अब प्रस्तुत दुई बुँदालाई थप परिमार्जन गरेर थप सम्वृद्ध गर्न जरुरी छ ।

बुँदा नं. ३ बारे :

प्रान्त नं. २ को सीमांकन बिलकुलै अनुपयुक्त छ । संघीयतामा गइसकेपछि निश्चित भूगोललाई अखण्ड राख्ने भन्ने मनोविज्ञान हाम्रा नेताहरूले पनि राख्नु उचित भएन । पार्टीको त्रिवेणी महासमितिले तराईमा तीन प्रदेश भनेर पारित गरेको अवधारणाबाट हाम्रो नेतृत्व पछि हट्न हुन्नथियो । सीमांकनमा हेरफेर गर्नैपर्ने अवस्था छ । पहिचानलाई प्रधान बनाइरहँदा प्रान्त नं. २ सामथ्र्यका दृष्टिले अनुपयुक्त बन्न पुगेको छ । चुरेको केही भाग र कोसीलाई यसमा गाँसिनु सम्वृद्धिका दृष्टिले व्यावहारिक र न्यायोचित हुनेछ ।

बुँदा नंं. ४ बारे :

तराई मधेसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो, मधेस केन्द्रित दलका कतिपय मुख्य नेतालाई समेत नागरिकले संविधानसभामा पठाएनन् तर हाम्रै दूरदर्शिता नपुग्दा आज तिनै नेताहरू पूरै मधेसको नायक बन्ने दिशा अघि बढेका छन् । ध्रुवीकरण बढ्ने खतरा बढेको छ । र हामी भने आफ्नो झन्डा, पार्टी कार्यालय र स्वर्गीय अग्रज नेताहरूको सालिक ढालिएको वातावरणका बीच प्रतिरक्षात्मक अवस्थामा पुगेका छौं ।

मधेस मुद्दाको हल गर्न प्रतिपक्षमा रहेता पनि हाम्रो पार्टीले विशेष अग्रसरता निभाउनु पर्दछ । त्यसो गर्न सकियो भने मात्रै पार्टीलाई नयाँ ढंगले मधेसमा उठाउन सकिनेछ । मधेसको मुद्दा र भावना एकातिर अनि पार्टी संगठन अर्कातिर भइरह्यो भने मधेसमा हाम्रो हातमा झन्डा बाँकी रहनेछ, साथमा जनता हुने छैनन् । साथीहरूको राय यस्तै रह्यो ।

वातावरण यस्तो थियो हामी पुगेको समय :

हामी मोटरसाइकलमा वीरगञ्ज पुग्दै गर्दा परवानीपुरमा कान्तिपुर दैनिकको गाडी जलिरहेको थियो भने घण्टाघरचोकमा भिडन्त भइरहेको थियो । सर्लाही पुगेको बिहान हेमपुर गाविसमा एमाले पार्टीका एक जिल्ला सदस्यको रहस्यमय हत्या भएको थियो । गोइत समूहको गोलीबाट नेपाल प्रहरीको एक असईको हत्या भएको दुई दिनपछि हामी पुगेका थियौं सप्तरीको राजविराज । अध्ययन भ्रमणको क्रममा कतै पूरै बजार, खासगरी हाइवे क्षेत्रमा खुलेको देख्यौं त कतै यत्रतत्र टायर बालेका दृश्य सामान्य थिए ।

मधेसी मोर्चाका कार्यकर्ताले हाम्रो पार्टी कार्यालय तोडफोड गरेको भए पनि पहाडी समुदायको भएकै कारण कसैलाई प्रताडित गरिएको या अघिल्लो मधेस आन्दोलनको झैं कसैले थाकथलो छाड्नु परेको हामीले पाएनौं । बरु हाम्रै पार्टीका मधेसी समुदायका साथीहरूले झैं पहाडी समुदायका साथीहरूले पनि आन्दोलनको मुद्दालाई स्पष्ट समर्थन गरेको र यसलाई सम्बोधन गरेरमात्र देश कांग्रेस र मधेस हित हुने मत व्यक्त (व्यक्त अवधारणाको खण्डमा नाम ओहोदासहित यो विवरण पढ्न सकिन्छ) गरेको पायौं । तर दशजगामा धर्ना बसेर नाकाबन्दीलाई सघाएको विषय र एम्बुलेन्सबाट घाइते प्रहरी थुतेर मारिएका जस्ता अमानवीय घटनाप्रति साथीहरूको प्रष्ट विरोध पायौं । सँगैमा आन्दोलनलाई नियन्त्रणमा लिने नाममा अन्धाधुन्ध गोली चलाइएको घटनाप्रति साथीहरूको प्रशस्तै आक्रोश हामीले सुन्यौं ।  
यसरी गरियो छलफल :

स्थानीय पार्टी नेतृत्वको टेलिफोन सूचनाका आधारमा नै सबै भेलाहरू सम्पन्न भए । प्रतिकूल राजनीतिक वातावरणका बाबजुद पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय– नगर सभापति एवं भ्रातृ संस्थाका अगुवाहरू र थप शुभचिन्तकहरूको सहभागिता रहने गरेको थियो । कुनै जिल्लामा ६०–६५ त कतै दुई सयभन्दा बढी साथीहरूको उपस्थिति रहने गरेको थियो । कतै चार घन्टा लामो त कतै सात घन्टासम्म लामो एक ढंगको बन्द सत्र र गरमागरम बहस सम्पन्न भए ।

कुन जिल्लाको कुन तहको के नामको साथीले कस्तो राय दिनु भयो, निश्चित बुँदाहरू हामीले जो टिपोट गर्‍यौं । २८ पुसमा काठमाडौंमा पार्टी निकटका उपप्राध्यापक, चिकित्सक, इन्जिनियर, वकिल तथा पार्टीका जिम्मेवार साथीहरूको करिब सवा सयको भेलामा पनि तिनै चार बुँदा उपर छलफल गरियो ।

निष्कर्ष :       
“न केपी ओलीको राजपाठको नजरले न राजेन्द्र महतोको नजरले मधेसलाई पढौं, बुझौं, मधेसमा कांग्रेस जोगाएर/जिताएर बसेका साथीहरूको नजरले” हाम्रो मधेस मिसनको ध्येय यो थियो । पर्सा बुझ्न पथलैया होइन–वीरगन्ज नै पुग्नुपर्छ, धनुषा बुझ्न ढल्केबर हैन जनकपुरधाम नै पुग्नुपर्छ अनि बद्रीवास होइन जलेश्वर नै पुग्नु पर्छ ‘कोर मधेस’ बुझ्न । त्यसैले आन्दोलन बढी प्रभावित तिनै स्थलहरू पुगेर साथीहरूको अध्ययनको जे सार (माथि उल्लेखित) लिएर आएका छौं त्यसमै केन्द्रित रहेर समाधानमा पुग्नु उचित हुने हाम्रो निष्कर्ष र सुझाव छ ।

कुनै बेला बी.पी कोइरालासँगसँगै हुनुहुन्थ्यो रामनारायण मिश्र, अघिल्ला नेतात्रयको सहयात्री हुनुहुन्थ्यो, महेन्द्रनरायण निधि । पहाडका भीमनारायण श्रेष्ठले गोली खाँदै गर्दा फाँसी झुल्दै हुनुहुन्थ्यो तराई मधेसका दुर्गानन्द झा अर्थात् इतिहासदेखि नै कांग्रेसको एक कदम पहाड बनेको छ त मधेसले अर्को कदम भएर साथ दिएको छ । आज त्यही मधेससँग एक ढंगले संवाद टुटे झैं भएको छ हाम्रो पार्टीको । त्यसलाई पुनर्जिवित गर्न तत्कालै ६ कार्य गरिनुपर्दछ ।

१.    मधेस हितका सन्दर्भमा संविधानमा रहेका प्रभावधानबारे स्थानीय पार्टी पंक्तिमार्फत व्यापक रूपमा नागरिक पंक्ति समक्ष पुर्‍याउने ।

२.    कांग्रेसको अगुवाइमा आएको दुईबुँदे संशोधनलाई पार्टीले जस लिने ढंगले तर मधेसी मोर्चालाई विश्वासमै गाँसेरै अघि लैजाने ।

३.    सीमांकन हेरफेर गर्ने सन्दर्भमा ‘सम्पूर्ण संघीयता’को मनोविज्ञानलाई केन्द्रमा राख्ने । राजनीति सहमति जुटाउँदै गर्दा विज्ञहरूको परामर्शलाई समेत प्राथमिकतामा राख्ने ।

४.    मधेसका सन्दर्भमा पार्टीका कतिपय नेताबाट व्यक्त हुने गरेका अप्रिय अभिव्यक्ति तत्कालै बन्द गराएर साझा धारणामात्रै सार्वजनिक गर्ने ।

५.    गतिरोधमा पुगेको पार्टी र मधेसको संवाद र सम्बन्धलाई नयाँ ढंगले जीवन्त तुल्याउन पार्टीको ‘तराई मधेस विशेष’ अभियान यथाशीघ्र सुरु गर्न प्रारम्भमा सबै जिल्लामा विशेष प्रतिनिधिहरू खटाउने ।

६.    संविधानको अंग बन्न लागेको ‘समानुपातिक सहभागिता’को स्पिरिटबमोजिम पार्टीभित्रको प्रतिनिधित्व प्रणालीलाई आगामी महाधिवेशनबाट अत्याधुनिक बनाउने ।

हामी विश्वस्त छौं– हाम्रो अध्ययन भ्रमणबाट प्राप्त अनुभव र सुझाव तराई–मधेसका नागरिक र पार्टी पंक्तिसँगको संवादलाई पुनताजर्गी गर्न पार्टी नेतृत्वका लागि एक हदसम्म सहायक सामग्री बन्न सक्नेछ र कांग्रेसको दुई हात एक पहाडको साथ अर्को मधेसको साथ बन्न सक्नेछ भन्ने विश्वास लिएका छौं ।

(प्रस्तुत सामग्री कांग्रेसका युवा नेताहरूको टोलीले केही समयअघि तराई मधेसको भ्रमण गरी नेपाली कांग्रेस सभापतिलाई शनिबार बुझाएको प्रतिवेदनको सम्पादित अंश हो । अध्ययन भ्रमण टोलीमा कांग्रेसका विश्वप्रकाश शर्मा, देवराज चालिसे, बजरंग नेपाली, शम्भु चौहान, विष्णुमणि घिमिरे, मिथिलेश मिश्रा, लवराजा सिंह, दिलबहादुर बुढाथोकी र मोहन पाण्डे सहभागी थिए । सं.)

 

]]>