देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि डब्लुएचओ क्षेत्रीय बैठक काठमाडौंमा सुरु

देशान्तर

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाको ७४ औं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । भर्चुअलरुपमा सुरु भएको बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि डब्लुएचओ महानिर्देशक डा। टेड्रोस आधानोम घेब्रेससले सम्बोधन गरे ।

सम्बोधनमा स्वास्थ्य नेताहरुले बलियो स्वास्थ्य प्रणाली निर्माण र विश्व्यापी स्वास्थ्यमा पहुँचका लागि बृहत प्रतिबद्धताको आह्वान गरे । बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले मानवताको लागि खोप, औषधीय सामाग्री र प्रविधिमा समान पहुँचको लागि आग्रह गरे ।

सबैको लागि स्वास्थ्यमा पहुँच जरुरी भएको उनले बताए । नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न समग्र क्षेत्रकै स्वास्थ्य प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण निर्णय बैठकले गर्नुपर्ने देउवाको भनाई थियो ।

डब्लुएचओ निर्देशक डा। टेड्रोसले कोभिड– १९ महामारीले मानिसहरुको जीवन, जीवनशैली, समाज र अर्थतन्त्रमा असर पारेको बताउँदै यसवर्षको मे महीनामा विनाशकारी कोरोनाको लहरपछि अहिले सिंगो क्षेत्रमै कोभिड संक्रमणमा देखिएको गिरावटप्रति खुशि जनाए ।

महामारीलाई व्यापकरुपमा फैलने अवस्था आउन नदिनको लागि खोप वितरण लगायतका कार्य न्यायपूर्ण हुने बताए । अहिले पनि विभिन्न ठाउँ र त्यहाँका अस्पतालमा पनि बिरामी बढ्नु दुःखद भएको उनको भनाई छ ।

पाँच दिन चल्ने बैठकमा संगठनका क्षेत्रीय सदस्य मुलुकहरुका स्वास्थ्य मन्त्रीहरु, बरिष्ठ स्वास्थ्य अधिकारीहरु, राष्ट्रिय नियोग, विकास साझेदार, नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाइएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, तयारी, प्रतिकार्य, नसर्ने रोगहरुविरुद्ध लड्ने योजना साथै अन्य स्वास्थ्य मुद्दाबारे छलफल हुने जनाइएको छ ।

भोलि बस्ने मन्त्रीहरुको अर्को राउन्डटेबलमा कोभिड महामारीले असर पारेको अत्यावश्यक स्वास्थ्य सेवाहरुको पुननिर्माण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँच तुल्याउनेबारे छलफल हुनेछ ।

क्षेत्रीय रुपरेखा अन्तर्गत खोप वितरण योजना, विद्यालय स्वास्थ्य तथा हेपाटाइटिस, एचआइभीजस्ता सरुवा रोगबारे पनि छलफल हुने जनाइएको छ । सन् २०२३ भित्र रुबेलालाई दक्षिणपूर्वी एसियाबाटै हटाउनेबारे पनि छलफल हुने जनाइएको छ ।