देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा गुटबन्दी र देउवा

देशान्तर

श्रीआचार्य
कुनै पनि राजनीतिक पार्टीभित्र गुट, उपगुट र समूहहरू हुन्छन् नै । यसलाई स्वाभाविक मानिन्छ । वैचारिक सिद्धान्तका फरक–दृष्टिले राजनीतिक दलहरू वन्छन्, भिन्नभिन्न हुन्छन् । तिनको आस्था र विश्वास फरक हुन्छन् । अनि दलभित्र नेता वा पदाधिकारीको फरक कार्यशैलीको कारण भिन्नभिन्न समूह र गुट–उपगुटको निर्माण हुन्छ । पार्टीको निर्णयमा यस्तै गुट–उपगुट हावी हुन्छ् र महत्वपूर्ण भूमिका खेल्छन् । जुनसुकै पार्टीभित्र यस्तो अवस्था सामान्यत: प्राय चलिरहन्छ । पार्टीभित्र कहिले कुनै गुट वा समूहको प्रभाव बढी हुन्छ त कहिले कुनैको । त्यहीअनुसार निर्णय हुन्छ । निर्णय आफ्नो पक्षमा गराउन नसक्नेले पनि निर्णय मान्छ, आफ्नै ठानेर व्याख्या गर्छ । किनभने, गुट वा समूह पार्टीभन्दा प्रभावशाली हुँदैन भन्ने यथार्थबोध उनीहरूमा हुन्छ । अत: निर्णय भइसकेपछि, जे होस्– त्यो पार्टीको हुन्छ, समूह वा गुटको हुँदैन । नेपाली कांग्रेसमा यस्तो अहिले हैन, पहिलेदेखि थियो । कोइराला पक्षधर र त्यसको विपक्षी गुट थियो । लामो इतिहास खोतल्नु आवश्यक छैन ।

यसमा मुख्यत: हुने के हो भने, राजनीतिमा अति प्रभावशाली व्यक्तिले पार्टी हाँक्छन् । उसका पछाडि पूरै पार्टी हुन्छ । किनभने, तिनले विचार दिन्छन् । नयाँनयाँ कार्यशैली र योजना बनाउँछन् । राजनेता बन्छन् । कांग्रेसमा त्यस्तो राजनेता बीपीमात्र हुनुहुन्थ्यो । दोस्रो तहमा प्रभावशाली व्यक्ति हुन्छन् । कुनै न कुनै प्रकारले कार्यकर्तामा तिनको प्रभाव हुन्छ । दानी–मयालु, कार्यकर्ताको हेरविचार गर्ने, भाषण गर्न सिपालु नबिराउने–नडराउने आदि बानी–स्वाभावले तिनीहरू प्रिय हुन्छन् । तिनका पछि व्यक्तिहरू हुन्छन् । माने, केही कार्यकर्ता । तर, पूरै पार्टी कहिल्यै हुँदैन । त्यस्ताहरू नेतासम्म हुन्छन् । किशुनजी, गणेशमान, गिरिजाप्रसाद नेता हुनुभयो । तर व्यक्ति बाँडिन्छन्, पार्टी बाँडिदैन । व्यक्ति योग्य–सक्षम, सिपालु–जाँगरिलो, निष्ठावान्–इमानदारमात्र हुँदैन, अयोग्य–अल्छी, बेइमान–ठग, लोभी–पापी पनि हुन्छ । अर्थात् व्यक्ति असलमात्र हुँदैनन् खराब पनि हुन्छन् । अनि यो दोस्रो श्रेणीका मान्छे भिरु अर्थात् डरछेरुवा हुन्छन् । विशेष गरेर जो डराउने हुन्छन् वा आफूलाई असुरक्षित ठान्ने हुन्छन्– तिनले समूह वा गुट–उपगुट बनाउँछन् । उनीहरू त्यही समूह र गुटको बलमा टिकेका हुन्छन् । बीपी कांग्रेसको नेता हुनुहुन्थ्यो । सुवर्णशमशेर पनि कांग्रेसकै नेता हंो । सूर्यप्रसाद उपाध्याय पनि कांग्रेसकै नेता हो । तर बीपी जस्तो उहाँहरू हुनु भएन । कोही सुवर्णशमशेरका मान्छे हुन्थे त कोही उपाध्यायका । तर ती सबै बीपीका कट्टर समर्थक हुन्थे । पछि गणेशमान, किशुनजी र गिरिजाप्रसादका पनि आ–आफ्ना मान्छेहरू भए । अर्थात् कार्यकर्ता । पछि तिनै समूह बने । गिरिजाप्रसाद कोइराला बीपी जस्तो सबैको राजनेता बन्न सक्ने अवस्था थिएन । किशुनजी र गणेशमानमा पनि बीपीतुल्य त्यो क्षमता थिएन । त्यसैले बीपी छँदैमा किशुनजी, गणेशमान र गिरिजाप्रसाद आफ्ना मान्छेको वरिपर रमाउन थालिसक्नु भएको थियो । बीपीपछि गिरिजाप्रसादलाई माथि उठ्न नदिन र कोइराला वंशबाट पार्टी फुत्काउन निकै प्रयासहरू भए तर असफल । यतिसम्म कि, गिरिजाप्रसादलाई राजाको मान्छेसमेत भनेर प्रचार गर्थे विरोधीहरू । गुटगत रूपमा विरोध जति गरे पनि केही लागेन । वरु गिरिजाप्रसादलाई अति भयो । खपिसक्नु भएन । अन्तत: गणेशमान र किशुनजी दुवै आफ्नो इच्छाबमोजिम कांग्रेसमा रहन सक्नु भएन । अर्थात् गिरिजाप्रसादको समूह निकै दरो–बलियो भयो र उहाँहरू निर्वल । कोइरालाले आफ्नो शैलीमा पार्टी चलाउनुभयो, एकछत्र हाँक्नु भयो । भट्टराई र गणेशमानजी स्वयं किनारा लाग्नुभयो । अपमानित पनि हुनुभयो तर पार्टी फुटाउनु भएन । उहाँहरूलाई बोध थियो कि पार्टीभन्दा समूह प्रभावशाली वा ठूलो हुँदैन । 

तर पनि, कहिले कहिलेकहीँ त्यो गुट वा समूहको नाइकेलाई निर्णयमा हारे पनि के लाग्छ भने, ‘पार्टी भनेको मै हुँ । मैले भनेअनुसार पार्टी चल्नुपर्छ, पार्टीको निर्णयअनुसार म चल्ने होइन । अब पार्टीको नेतामै भएँ ।’ यो भ्रमले तिनीहरूलाई कुबाटो लग्छ । कतिलाई त समाप्तै पार्छ । एमालेमा एकपटक वामदेवले त्यस्तै चुरीफुरी देखाए । तर वामदेवले प्रजातन्त्र कतै बुझाएका थिएनन् । त्यसैले पार्टीमा स्थापित भए । नेपाली कांग्रेसभित्र किशुनजी र गणेशमानको समूहलाई एकै ठाउँमा राखेर त्यसका नाइके बनाइएका शेरबहादुर देउवालाई पनि त्यही लाग्यो । उहाँ किशुनजी, गणेशमानले समेत गर्न नसकेको धृष्टता गर्न पुग्नुभयो । पार्टी फुटाउनु भयो । कांग्रेस छोडेर जानुभयो । जानुमात्र भएन, कोइरालालाई तह लगाउने हेतुले तानाशाही राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र बुझाउनसमेत पुग्नुभयो । रूख काटी, मास्ने कोसिसमा ‘कलश’ चुम्दै हिँड्नुभयो । तर क्यै लागेन, पुन: फर्कनुभयो कांग्रेसमा । उहाँ पहिलेको जस्तो कांग्रेस हुनुभा’छैन । हुनै सक्नुहुन्न । कोइरालाले ल्याइदिनुभा’ मात्र हो । अर्थात् देउवा पार्टीभित्र गुट वा समूह चलाइरहनु भएको छैन, आफ्नो बेग्लै पार्टी चलाइरहनु भा’छ– प्रजातान्त्रिक कांग्रेस । पार्टीमा उहाँ पटक पटक हार्नुभयो । तर हरुवाको भाग लिन उहाँले कहिल्यै छोड्नु भएन । किनभने, उहाँलाई कांग्रेस बलियो विश्वासिलो बनाउनु छैन, आफ्नाहरूलाई खुसी राख्नु मात्र छ । ‘प्रजातान्त्रिक कांग्रेस’ दरो र ज्याद्रो बनाउनु छ । त्यसो भएमात्र उहाँ टिक्नुहुन्छ । यसपालि जे जसरी भए पनि उहाँलाई पार्टी सभापतिमा जित्नु छ र कांग्रेसहरूलाई लखेटेर ‘तान्त्रिकमय’ गराउनु छ । उहाँमा न किशुनजीको जस्तो धैर्य र सन्त मन छ न त गणेशमानको जस्तो कर्मठ र उदार दिल छ । सत्ताको पदको लागि उहाँ जे पनि गर्नुहुन्छ, प्रजातन्त्र र कांग्रेस भर्सेलै परोस्– त्यो इतिहासमा लेखिसकेको तथ्य हो । तर पनि आफूलाई कांग्रेस भन्नेहरू उनकै पछि लाग्छन् र देउवालाई कांग्रेसभित्रको एउटा समूह वा गुटको स्वाभाविक नेता मानेर सभापति जिताउन लागिपर्छन् भने भन्नु केही छैन । मौकामा जनताले तिनलाई अवश्य पाठ सिकाउनेछ, सिकाउँछ । कांग्रेस कार्यकर्तालाई अहिले नै चेतना भया । पछि पछुताउनुको अर्थ रहँदैन ।

 

]]>