देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव सेवामा समर्पित एक सन्त

देशान्तर

भारतका केही मौलिक पहिचानमध्ये एउटा हो, त्यहाँका धार्मिकस्थल, मठ मन्दिर, पूजा–यज्ञ, आश्रम, प्रवचन, साधुसन्त .. । धर्मको नाममा त्यहाँ बर्सिने राशि र त्यसको प्रयोग उदेकलाग्दो हुन्छ । करोडौं नागरिक भोक, रोग र गरिबीको कुचक्रमा फसेका छन्, दैनिक अर्बाैंको अन्न र खाद्य पदार्थहरू धर्म, शान्ति वा परलोकमा प्राप्तिको नाम र आसमा होम–यज्ञमा खरानी पारिन्छ । अपठित र धर्मभिरूहरू मात्र हैन उच्च शिक्षा हासिल गरेका, धर्म र पापको ज्ञान भएका, देश–दुनियाँ डुलेका र विज्ञान, प्रविधि एबं आधुनिक संशाधनहरूको उपभोग गरिरहेका प्रतिष्ठित स्वामी, सन्त र बाबाहरू पनि कुनै न कुनै शास्त्रको आड लिएर अनेकौं विवेकहीन र परम्परागत प्रचलनप्रति गौरब गर्दै वडो उत्साहका साथ अघि बढाइरहेका हुन्छन् ।

डा. स्वामी अवशेषानन्द

यस्तो कार्य आफूले आयोजना गर्ने मात्र हैन अरूहरूलाई पनि गर्न प्रोत्साहित गरिरहेको पाइन्छ । धर्म एउटा व्यापार र व्यवसाय बनिरहेको छ । तर, यस्ता सन्त–महन्थ र आश्रमहरूको सकारात्मक पक्ष के छ भने यिनीहरूले शिक्षा–संस्कृति, स्वास्थ्य र परोपकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । विद्यार्थीहरूलाई पढ्न, संंस्कृति र संस्कार सिकाउन, अशक्त र रोगीहरूको सेवा गर्न, बेसहारालाई बास र खानपिनको प्रबन्ध गर्न, ट्रष्टहरू बनाई स्वास्थ्योपचार र परोपकारका कार्यहरू गर्न तथा देशभक्ति र मानव सेवाको महत्व बुझाउन यिनीहरूले गरेका कामको मुक्तकण्ठले प्रशंसा गर्नु पर्दछ । यिनीहरूको कारणले करोडौं मानिसहरूको मात्र हैन असंख्य जीवजन्तुहरूको समेत रक्षा भएको प्रत्यक्ष देख्न सकिन्छ । समाजलाई हिन्दु धर्मको मूल मान्यता अनुरूप रूपान्तरण गर्ने तथा मानवसेवा र परोपकारको आदर्शलाई जीवन्त बनाउने कार्यमा समर्पित एउटा यस्तै सन्त हन्– डा. स्वामी अवशेषानन्द ।

करिब सात दशकअघि पञ्जावको एउटा पिछडिएको गाउँको साधारण परिवारमा जन्मिएका उनी विद्यालयको औपचारिक शिक्षाबाट सन्तुष्ट हुन सकेनन् । उनको मनमा उठेका जिज्ञासाहरू पाठ्यपुस्तकहरूले शान्त पार्न सकेन । उनको खुल्दुलीको समाधान माता–पिता र शिक्षकहरूले पनि दिन सकेनन् । त्यसपछि उनी सत्यको खोजी र ज्ञानलाई पूर्णता दिन रातारात सुटुक्क घरबाट निस्किए । वर्षौसम्म धेरैतिर भौतारिए । काशीदेखि कन्याकुमारीसम्मका अनेकौं साधु–सन्त, मठ मन्दिर र आश्रमहरूको चहारे । प्रवचनहरू सुने । शिक्षा आर्जन गरे । विभिन्न धर्मशास्त्र र दर्शनमा चुर्लुम्म डुबे । धेरैले उनलाई आफूकहाँ राख्न खोजे । तर उनी कतै टिक्न सकेनन्– लुसुक्क ठाउँ छोड्दै हिँडिरहे । यही क्रममा उनको भेट हरिद्वारमा स्वामी गीतानन्द नामक प्रकाण्ड विद्वानसँग भयो । गीतानन्दको विद्वता र व्यवहारबाट उनी अत्यन्त प्रभावित भए ।

‘भिक्षु’ उपनाम राखेका गीतानन्दले हरिद्वारसहित विभिन्न ठाउँमा आश्रम स्थापना गरेका थिए । उनका आश्रममा प्राथमिक विद्यालय थियो, वृद्धाश्रम थियो, गौशाला थियो र योभन्दा महत्वपूर्ण कुरा सेवाभाव थियो । उनले सोचे– शायद मेरा लागि सबैभन्दा उपयुक्त ठाउँ यही हो । स्वामी गीतानन्दले पनि केही दिनमै ठम्याए– यो केटोलाई बरालिन दिनु हुँदैन । भविष्य द्रष्टा ठानिने उनले “तिम्रो भविष्य राम्रो छ, अब यहीँ बसेर शिक्षादीक्षा लेऊ” भनेपछि उनी सहर्ष तयार भए । गीतानन्दले नै उनलाई दीक्षा दिए र नयाँ नामकरणसमेत गरिदिए– अवशेषानन्द । गीतानन्दकै सानिध्यमा उनले विभिन्न धर्म–संस्कृतिको विशेष अध्ययन गरे, पूजा– अर्चनाका विधि विधानमा दीक्षित भए, जीवन र जगत्का सत्यहरूसँग साक्षात्कार गरे, संस्था र आश्रम सञ्चालनमा कुशलता देखाए र प्रशंसनीय सेवाभाव प्रदर्शन गरे अनि विद्यावारिधिसम्म हासिल गरे । अहिले पनि उनी स्वर्गीय गीतानन्द महाराजलाई “गुरुदेव” मान्दछन् । गुरुको पदचिन्ह पछ्याउँदै स्वामी अवशेषानन्द आज आफ्नो स्थान र समाजमा एउटा आदर्श र सम्मानित सन्तको स्थान बनाउन सफल भएका छन् ।

गुरु गीतानन्दले हरिद्वार, वृन्दावन, दिल्ली, कुरुक्षेत्र, पानीपतलगायत अनेकौं ठाउँमा खोलेका आश्रमहरूलाई उनका शिष्य र सहयोगीहरूले सञ्चालन गरिआएका छन् । यसमध्ये वृन्दावन, कुरुक्षेत्र, पानीपतलगायत केही आश्रम स्वामी अवशेषानन्दको निर्देशनमा चलिरहेको छ । सरसल्लाह र मार्गदर्शनका लागि अन्य ठाउँबाट पनि अनुरोध आइरहेको हुन्छ, तर उनी आजकल बृन्दावनको प्रतिष्ठित “गीता आश्रम” मा केन्द्रित देखिन्छन् । उनले बताए, म सबै ठाउँ हेर्न भ्याउँदिन । आफूले सक्ने जति मात्र जिम्मा लिनुपर्छ भन्ने मेरो धारणा छ । मलाई वृन्दावन असाध्य मन पर्छ । परमपूज्य गुरुजीले ब्रह्मलिन हुनु अघि यो आश्रम चाहिं तिम्रो जिम्मा भयो है, अरूको भर नपरी तिमी आफैंले रेखदेख गर्नु भन्नु भएकोले बढी समय यसलाई दिइरहेको छु । अरू आश्रमहरू पनि जिम्मा लिएका गुरुभाइ र बहिनीहरूले राम्ररी चलाइरहेका छन् ।

उनको आश्रमले तीनचार कुरालाई प्राथमिकतामा राखेको देखिन्छ– साधु–सेवा, विद्यार्थीहरूलाई सहयोग, अतिथि सत्कार, हिन्दुत्वको प्रचार, मानव सेवा आदि । साधु–सन्त सेवा यिनका आश्रमहरूको पहिचान नै बनेको छ । गीतानन्दले सुरु गरेको परम्परालाई निरन्तरता दिँदै उनका आश्रमहरूमा दैनिक हजारौं साधु सन्न्यासीलाई निःशुल्क भोजन गराइन्छ । यस क्रममा हरिद्वारमा दैनिक दुई हजारसम्म र वृन्दावनमा ५–७ सय सम्मको लागि खाना पाक्छ । अन्य आश्रमहरूमा पनि यस्तै चलन– तोकिएको समयमा आएका कुनै पनि सन्न्यासीलाई टन्न ख्वाएर मात्र बिदा गरिन्छ । हरेक दिन । खाना स्तरीय हुन्छ । खाना पछि खीर, लड्डुजस्ता “प्रसाद” र दक्षिणासमेत दिइँदोरहेछ । सबैलाई समान व्यवहार । सबै पारदर्शी । कुन साधु कहाँबाट आएको हो, केही सोधिन्न ।

ऊ साँच्चै “साधु” हो कि हुलिया मात्र त्यस्तो हो, यसतिर पनि ध्यान दिइन्न । स्वामी भन्छन्– “साधु भए पनि नभए पनि मान्छे त हो नि । लैजान पाइँदैन, खान पाइन्छ ।” साधु भेषभूषा बेगरको कोही पनि पंक्तिमा देखिएन । स्वामी अवशेषले थुप्रै अशक्त विद्यार्थीलाई संरक्षण दिएका छन्, पढ्ने व्यवस्था मिलाइदिएका छन्, केहीलाई आफ्नै आश्रममा खाने–बस्ने प्रबन्ध गरिदिएका छन् । आजका विद्यार्थीहरू परम्परागत संस्कृत शिक्षामा मात्र सीमित नहोउन् भनेर वृन्दावनको कैलाशनगरस्थित आफ्नो एउटा भवनमा कम्प्युटर केन्द्र खोलिदिएका छन्, जहाँ निःशुल्क कम्प्युटरसम्बन्धी शिक्षा र तालिम दिइन्छ ।

“यो सेवा कसरी चलिरहेको छ ? स्रोत के के छ त ?” आफ्नै आँखाले यो सबै देख्दा उठेको जिज्ञासामा स्वामीले यत्ति भने– “गुरुदेवको आशीर्वाद र उदार सहयोगीहरूको स्नेह ।”

स्वर्गीय महाराज गीतानन्दको ब्यक्तित्व, व्यवहार र विचारबाट प्रभावित मानिसहरू धेरैतिर छन् । विदेशमा समेत छन् । अमेरिका, क्यानडा र बेलायतका भक्तहरू डा. अवशेषलाई उता बोलाइरहन्छन् । यिनी जान्छन् । प्रवचन दिन्छन् । पूजापाठ गराउँछन् । रुद्राक्ष लगाई दिन्छन् । दीक्षा दिन्छन् । अनि उताबाट प्राप्त सहयोग आश्रमको काममा लगाउँछन् । गैरआवासीय भारतीयहरूलाई मातृभूमिप्रति आकर्षित गर्दै भारतका तीर्थस्थल र ज्योर्तिलिंगहरूको दर्शनका गराउनुका साथै मान सरोवरसम्म पु¥याई धर्मप्रति आस्था जगाउने प्रयत्न गर्नु स्वामी अवशेषको अर्को शौख हो ।

हरिद्वार जाने तीर्थयात्रीहरू प्रायः केदारनाथ पनि जान खोज्छन्, तर बाटोमा रुद्र प्रयागभन्दा अगाडि साधुहरूले खाने उपयुक्त ठाउँ नभएकाले यी स्वामीले बीच बाटोमा, मन्दाकिनी नदीको तीरमा, एउटा आश्रम खोले । उनले गुरुजीलाई पनि जानकारी नदिएर । आफूले व्यक्तिगत रूपमा आर्जन गरेको पैसाबाट बनाएको बाँसबाडाको आश्रमको एउटै उद्देश्य थियो– बाटो हिँड्ने साधुहरूलाई निःशुल्क खाने र बस्ने व्यवस्था गर्नु ।

डा. स्वामी अवेशेषानन्दसँग लेखक हरिहर विरही

उनका सहयोगीहरू बाटोमा उभिएर थाकेका र भोकाएका तीर्थयात्री साधुहरूलाई डाकेर यथोचित सेवा गर्दथे । त्यो साधारण आश्रम नभएर आधुनिक सुबिधा सम्पन्न रिसोर्ट जस्तो थियो । सबै व्यवस्था निःशुल्क थियो । उनी भन्छन्– नेपालको कुरिनटारको रिसोर्टभन्दा स्तरीय थियो । बनिसकेपछि गुरुजीलाई बताएँ । उहाँ खुसी हुनुभयो र ढाप मारेर आशीर्वाद दिनु भयो । तर दुर्भाग्य, केही वर्षअघि त्यस क्षेत्रमा आएको भीषण बाढी र पहिरोले ठूलो क्षति पुर्‍यायो । त्यसको धेरै भाग त मन्दाकिनीको पेटमा पुग्यो । त्यसलाई पुनरुत्थान गर्ने इच्छा छ ।

डा. अवशेष स्वामी नेपाल र नेपालीलाई औधी माया गर्ने सन्तको रूपमा पनि चिनिन्छन् । उनले संरक्षण दिएका छात्रहरूमा सर्वाधिक नेपालीहरू छन् । नेपाली विद्यार्थीहरूले उनको कम्प्युटर सेन्टरमा निःशुल्क सिक्न पाएका छन् । नेपालीहरूलाई आफ्नै आश्रममा आश्रय दिएका छन् । उनी नेपालबारे राम्रो जानकारी राख्छन् । नेपालीमा भर्र बोल्छन्, पढ्छन् । बेलाबेलामा नेपाल आउने गर्छन् । तीन दशकअघि सुरु भएको उनको नेपाल यात्रा अझै जारी छ । भन्छन्– नेपाल मलाई संसारकै सबैभन्दा सुन्दर ठाउँ लाग्छ । बृन्दावनमा बस्दा पनि मेरो मन नेपालमै डुलिरहेको हुन्छ । सम्भव भए काठमाडौंको छेउछाउमा एउटा आश्रम बनाएर स्तरीय योग शिक्षण र प्राकृतिक चिकित्सा केन्द्र सञ्चालन गर्ने थिएँ । तर नमिल्ने रहेछ । अब भयो, त्यो विचार छोडें ।

गएको भूकम्पको बेला नेपालमा भएको क्षतिबाट पिरोलिएर उनी तुरुन्तै ३–४ ट्रक राहत सामग्री लिएर नेपाल आई विभिन्न ठाउँमा भूकम्प पीडितहरूलाई वितरण गरे । त्यसको लगत्तै सिन्धुपाल्चोकमा भूकम्प पीडित गरिबहरूलाई तत्काल बस्नको लागि एक सय जति अस्थायी घर बनाइदिए । काभ्रे र सिन्धुपाल्चोकका भूकम्पबाट क्षतिग्रस्त चारवटा विद्यालयको भवन निर्माण गराई दिए । उनका अनुसार त्यसक्रममा पञ्जाव केशरीका तत्कालीन सम्पादक आश्विनी कुमार र उहाँकी धर्मपत्नीको महत्वपूर्ण योगदान थियो ।

स्वामीजीलाई एक समय विभिन्न कारणले पत्रकार बन्ने पनि रहर लाग्यो । भारतमा सर्वाधिक बिक्री हुने दैनिक ‘पञ्जाव केशरी’ले उनलाई ससम्मान संवाददाता बनायो । नेपाल–भारतबीच विशेष सम्बन्ध हुनु पर्दछ भन्ने मान्यता राख्ने उनी राजनीतिक कारणले बेलाबेलामा दुई देशबीच कटुता बढ्ने गरेकोमा चिन्तित हुने गरेका उनी नेपाल मामिला हेर्ने संवाददाता बन्न रुचाए । त्यसक्रममा उनी नेपाल आइरहन्थे । उनले गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, माधव नेपाल, शेरबहादुर देउवालगायत अनेकौं नेताको अन्तरर्वार्ता लिए । राजनीतिककर्मी, बुद्धिजीवी, कूटनीतिज्ञ, पत्रकारहरूलाई भेटेर सत्यतथ्य बुझ्दथे र समसामयिक परिस्थितिको विश्लेषण गरी सही र सकारात्मक समाचार र विचार सम्प्रेषण गर्थे । खासगरी नेपालबारे भारतीय समुदायलाई सुसूचित गर्दथे । पत्रिकामा निरन्तर नेपालसम्बन्धी समाचार र विचार छापिन्थ्यो । उनकै कारणले काठमाडौंमा भारतीय पत्रिकाहरूमध्ये ‘पञ्जाव केशरी’ सबैभन्दा बढी बिक्री हुने पत्रिका बनेको थियो । तर पत्रकारिता क्षेत्रमा बढ्दो विकृति–विसंगति देखेर उनले कलम बन्द गरे ।

उनी नेपालको स्थिरता र समृद्धिको पक्षमा छन् । तर नेपालले आफूलाई ‘धर्मनिरपेक्ष’ घोषणा गरेको उनलाई चित्त बुझेको छैन । भन्छन्– मेरो विचारमा त नेपाल मात्र हैन भारत पनि हिन्दु राष्ट्र हो, संविधानमा जे लेखे पनि । भारतको विभाजनमा धर्म एउटा मुख्य कारण बनेको र पाकिस्तानले आफूलाई एउटा धर्ममा आबद्ध गराएकोले हाम्रा तत्कालीन नेताहरूले हिन्दुस्तानलाई ‘धर्मनिरपेक्ष’ घोषित गरे । सम्भावित ठूलो क्षतिबाट जोगिन र राष्ट्रिय एकता कायम गर्न यसो गरिएको हो । नत्र त, हाम्रो देशको नाम नै हिन्दुस्तान हो । हिन्दुस्तान भनेको मूलतः हिन्दुहरूको देश हो । भारतभन्दा नेपालमा प्रतिशतको दृष्टिले हिन्दुहरूको संख्या तुलनात्मक रूपमा ज्यादा छ । धर्मनिरपेक्षता कसैको यो माग पनि थिएन । हिन्दु धर्म जति महान् कुनै धर्म छैन । एकमात्र हिन्दु राष्ट्र भएकोमा नेपाललाई सबै हिन्दुहरू तीर्थस्थलजस्तै सम्मान गर्दथे । यद्यपि धर्म–निरपेक्ष भनिए पनि भारतमा जस्तो हिन्दु विरोधीले आक्रमण गर्न सकेका छैनन् । तर भविष्यमा के हुन्छ, भन्न सकिँदैन ।

“के भारतले नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउन दबाब दिन्छ त ?” यो प्रश्न गर्दा डा. अवशेष स्वामीले भने– नेताहरूले के गर्छन् थाहा छैन । औपचारिक रूपमा दबाब दिन र हस्तक्षेप गर्न मिल्दैन, तर सल्लाह दिन सकिन्छ । यदि नेपाल पुनः हिन्दु राष्ट्र बन्यो भने भारत मात्र हैन संसारभरिकै हिन्दुहरू खुसी हुनेछन् । म त दीपावली नै गर्छु ।

एउटा भारतीय स्वामी हिन्दु धर्मको पक्षमा हुनु अस्वाभाविक होइन, तर हिन्दु धर्मको नाममा हुने शोषण, पाखण्ड, अत्याचार तथा सामाजिक विभेदको उनी कट्टर विरोधी छन् । उनको सोचाइ र व्यवहार उदार र मानवतावादी देखिन्छ । उनी वैयक्तिक स्वतन्त्रताको प्रबल पक्षधर छन् । भन्छन्– कट्टरताले कुनै पनि धर्मलाई अलोकप्रिय बनाउँछ । कोही कोही धर्मको नाममा समाजलाई पछाडि धकेल्न र समयको गति रोक्न खोज्छन्, तर यो न उचित छ, न सम्भव । हाम्रा कतिपय साधु–सन्त र धर्मका कथित ठेकेदारहरूको अवाञ्छित र अनैतिक कामले पनि धर्मप्रति वितृष्णा उब्जाउने गरेको छ । मलाई लाग्छ, धर्मलाई कतैबाट खतरा छ भने पोंगा–पण्डित, पण्डा, धर्मलाई व्यापार–व्यवसाय बनाउनेहरू, निषेधात्मक र अव्यावहारिक आचारसंहिता बनाउनेहरू, मानिसलाई उसको इच्छा र आवश्यकताअनुसार बाँच्न नदिनेहरू, प्रकृति विपरीतको मान्यता थोपर्ने एबं संकीर्णतावादीहरूबाट ज्यादा खतरा छ । जीवन संयमित, अनुशासित, पारदर्शी र प्रकृतिप्रेमी हुनु पर्दछ । हृदय स्वच्छ र आचरण मर्यादित हुनु पर्दछ । यसो भयो भने कसैले औंला ठाडो पार्ने छैनन् ।

“उहिल्यैको परिवेशमा लेखिएका धार्मिक ग्रन्थ र शास्त्रहरूमा उल्लेखित कैयौं कुरा आज असान्दर्भिक भएका छन्”, एक प्रश्नको जवाफमा डा. स्वामी अवशेषानन्दले प्रस्टसँग भने– “धर्म–शास्त्रहरूको व्याख्या र अनुष्ठानहरू समय–सन्दर्भ अनुरूप हुनु पर्दछ । धर्मलाई विसंगति र असम्भव परिकल्पनाहरूबाट मुक्त गरेर यथार्थ धरातलमा उभ्याउनु पर्छ । सबै धर्मको सार एउटै छ– समाजसेवा र मानव कल्याण । तसर्थ यसको चरित्र र स्वरूप मानवीय हुनुपर्दछ । सम्बद्ध विद्वान, व्याख्याता एबं सन्तहरूले यसलाई परिष्कृत र परिमार्जित गर्दै शास्त्रको मर्म तथा समयको वास्तविकताबीच समन्वय गरेर अगाडि बढाएमा हिन्दु धर्मको महानता र विशेषता उजागर हुनेछ ।”