देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘केपी ओलीको दासत्व स्वीकार गरेर उहाँहरु बस्नुहुन्छ भन्ने मलाई लाग्दैन’

देशान्तर

जीवनराम श्रेष्ठ

नेता, नेकपा एकीकृत समाजवादी

दल दर्ताको प्रमाणपत्र पनि पाइसक्नुभयो, अब कसरी अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ?

हामीले दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेका छौं । आधिकारिक रूपमा हामीले प्रमाणपत्र पनि प्राप्त गरिसकेका छौं । अब हामीले हाम्रो पार्टीका तत्काल राष्ट्रिय सम्मेलन गर्छौं । राष्ट्रिय सम्मेलनको माध्यमबाट हामीले संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका संरचनाहरू बनाउँछौं । त्यसका लागि हामीले राष्ट्रिय सम्मेलनको मिति चाँडोभन्दा चाँडो तोक्छौं ।

अब तपाईंहरूको अन्य दलहरूस“गको सम्बन्ध कस्तो हुन्छ, खासगरी एमालेसँग?

हामीले नेकपा एमालेमा विद्रोह गरेर नै यो पार्टी गठन गरेका हौं । नेकपा एमालेले नवौं महाधिवेशनबाट पारित गरेको सिद्धान्त नीति विचारअनुसार कामहरू केही पनि गरेन । सरकारमा रहेर पनि घोषणापत्र अनुसार जनताका अपेक्षाहरू सम्बोधन गरेन । देशको प्रमुख पार्टी भएको नाताले सरकारको नेतृत्वसँगसँगै संविधानको रक्षा गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने, संसद्को रक्षा गर्नुपर्ने, कामहरू पनि उहाँहरूले गर्नु भएन । उल्टो उहाँहरू त लोकतन्त्रलाई समाप्त पार्न अघि सर्नुभयो । संविधानलाई च्यात्ने काम उहाँहरूले गर्नुभयो । देशलाई नै एउटा प्रतिगमनको बाटोमा लैजाने कोसिसहरू भयो । दुईदुई पटक असंवैधानिक ढंगबाट संसद् विघटन गरेर मुलुकलाई अस्थिरतामा लैजाने, अन्धकारमा लैजाने र प्रतिगमनको दिशामा लैजाने जुन कोसिस नेकपा एमालेको नेतृत्वमा भयो, त्यसलाई हामीले सच्याउने कोसिस गरेका थियौं । पार्टीलाई वैधानिक तरिकाले सञ्चालन गर्नुस्भन्दा पनि उहाँहरूले गुटको मात्रै बैठक राखेर अघि बढ्नु भयो । त्यसैले हामीले एमालेको नेतृत्वले गरेको यी तमाम गलत कामहरूलाई हामीले सच्याउनका लागि पार्टीभित्र अन्तर संघर्ष गरेका थियौं । हामीले त अन्तिमसम्म पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरेका थियौं । हाम्रा प्रयासहरू निरर्थक भएपछि र हामीलाई नै सबै ढोका बन्द गरेपछि बाध्य भएर नै हामीले नयाँ दल खोलेका हौं । अहिले हामी लोकतन्त्र र संविधानको रक्षाका साथै अग्रगमनको पक्षमा छौं । यो शक्तिहरूसँग हाम्रो सहकार्य हुनेछ । अहिलेको सरकार संविधानको विशेष व्यवस्थाअनुसार गठन गरेको सरकार हो । यसमा हाम्रो संलग्नता र विशेष भूमिका छ । त्यसैले अहिलेको सरकारी गठबन्धनसँग हाम्रो सहकार्य हुनेछ । र हामी वाम लोकतान्त्रिक गठबन्धन बनाएर अघि बढ्छौं ।

एमाले अध्यक्ष केपी ओलीले तपाईहरूको पनि सहमतिमा बनेको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्छु त भन्नु भएको थियो नि ? 

केपी ओली  कुनै पनि कुराबाट विश्वास गर्न योग्य व्यक्ति हुनुहुन्न् । उहाँले आफ्नै हातले हस्ताक्षर गरेका कतिपय कबुलहरू त पालना नगर्ने व्यक्ति हो ।  उहाँको बोलीको त कुनै कुरा विश्वासयोग्य नै छैन । हामीले धेरै पटक एकताको प्रयासहरू गरेका थियौं ।  तर ती कुनै पनि प्रयास सफल हुन ओलीले नै दिनु भएन । उहाँले पार्टी एकतामा जानेभन्दा पनि पार्टीको एकतालाई कसरी भाँड्न सकिन्छ, भन्ने मनसायले सार्वजनिक मन्तव्यहरू दिनु भएकै हो । साथै सरकारबाट हटिसकेपछि बालुवाटारबाट बालकोट पुगेर बार्दलीबाट दिएको अभिव्यक्ति नै एकता भाँड्ने उद्देश्यका साथ आएको प्रष्ट नै छ । केपी ओली भनेको कुनै पनि सहमतिहरू पालना नगर्ने व्यक्ति हो । उहाँ आफंै स्वेच्छाचारी र तानाशाही ढंगबाट हिँड्न चाहने व्यक्ति हो ।

तपाईंहरूले निर्वाचन आयोगबाट आधिकारिकता त पाउनुभयो, तर एमालेले तपार्इंहरूविरुद्ध अदालत पनि जाँदै छ त ?

अदालत जाने या नजाने भन्ने कुरा उहाँहरूको हो । हामी नियम, कानुनअन्तर्गत रहेर नै पार्टी दर्ता गरेका छौं । यसमा कसैले कहीँ गएर उजुर गर्दैमा लागू हुन्छ भन्ने मलाई विश्वास छैन । अदालत जान्छु भन्ने कुरा उहाँहरूको पूर्वाग्रह मात्रै हो ।

अब तपाईंहरूको र एमालेको पार्टीगत सम्बन्ध कस्तो रहन्छ ?

नेकपा एमालेले आफूलाई सच्याएर एउटा कम्युनिस्ट पार्टीको रूपमा स्थापित गर्नुभयो भने हाम्रो सम्बन्ध पार्टी पार्टीको हिसाबले ठीकै हुन्छ । अब उहाँहरू लोकतन्त्रको पक्षमा पनि नउभिने, संविधानको पक्षमा पनि नउभिने, अग्रगमनको पक्षमा पनि नउभिने, राष्ट्रियताको पक्षमा पनि नउभिने हो भने उहाँहरूसँग हाम्रो सम्बन्ध रहँदैन ।

तपाईंहरूले दल दर्ता गर्दा तपाईंहरूकै समूहका नेताहरू किन आउनु भएन कहाँनेर कुरा बिग्रियो ?

कुरो बिग्रिनेभन्दा पनि सोच्ने दृष्टिकोणमा फरक परेका कुृराहरू हुन् । हामीले एमालेमा सँगै संघर्ष पनि गरेका हौं । पार्टीले गरेका गलत काम र भएका अवैधानिक क्रियाकलापहरू छन् त्यसको विरुद्ध हामीले अन्तरसंघर्ष गर्‍यौं । उहाँ नै नेताहरू हुनुहुन्छ, जो नेकपा एमालेमा आफ्ना कुराहरू लागू हुन्छ कि भनेर आशा गरेर गइराख्नु भएको छ । जसले नेकपा एमाले कम्युनिस्ट पार्टी रहेन, केपी शर्मा ओली कम्युनिस्ट रहेनन् अब तत्कालै अर्को पार्टी गठन गर्नुपर्छ भन्ने साथीहरू नै उहाँहरू हुनुहुन्छ । हामीले अहिले एकताका ढोकाहरू सबै बन्द भए भन्ने बुझ्यौं । केपी ओलीले हाम्रो पार्टीका नेता माधवकुमार नेपाललगायत १४ जनाको सांसद पदसमेत खारेज गर्ने सिफारिस गरेपछि हामीले सम्भावनाको ढोका बन्द भएको बुझेर हामीले विद्रोह गर्‍यौं ।

तपाईंहरूले सम्भावना देख्नु भएन, उहाँहरुले कसरी सम्भावना देख्नु भयो त ?

उहाँहरू अझै पनि सम्भावना खोज्दै हुनुहुन्छ । उहाँहरूले हिजो उठाएका कुराहरू अहिले पनि पूरा भएको छैनन् तै पनि उहाँहरू अझै आशा गर्दै हुनुहुन्छ । हामीसँग नआउने नेताहरूलाई मेरो पनि शुभकामना छ । तर, अहिले हामीले देखिरहेका छौं, १० बुँदेको कुरा गरौं, सम्मानजनक एकताका कुरा गरौं, आज २०७५ जेठ २ गतेमा फर्र्कंदाखेरि नेकपा एमालेमा उहाँहरूलाई रामबहादुर थापा बादलले स्वागत गरेका छन् । त्यतिबेला त बादललाई एमालेले चिन्दैनथ्यो । बादलले स्वागत गरेको एमालेमा जेठ २ गतेमा फर्कने बाटोमा जाँदै हुनुहुन्छ । प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुभयो, त्यो पनि १० बुँदे नै कार्यान्वयनको रूपमा होला सायद । अहिले हामीसँग नआएका नेताहरूले भोलिका दिनमा यसरी नै १० बुँदे लागू भयो भनेर जनताका बीचमा भन्नुहोला । त्यसैले उहाँहरू जुन आशा गरेर एमालेमै रहनु भएको छ त्यहाँ उहाँहरूको भविष्य छैन ।

अहिले एमालेमै रहेका नेताहरू तपाईंहरूसँगआउने सम्भावना छ ?

साँच्चै हिजो उहाँहरूले इमानदारितापूर्वक पार्टीको जुन विषयमा उठाएका मुद्दाहरू छन्, नेकपा एमाले नेतृत्वले गरेको असंवैधानिक, अलोकतान्त्रिक र गैर कम्युनिस्टका कामहरू छन्, मुलुकलाई एउटा प्रतिगमनको दिशामा लैजाने जुन कोसिसहरू गर्नुभयो, त्यो कुराको विरुद्ध हामीले विद्रोह गरेका हौं । त्यो कुराहरू सच्चिएन भने केपी ओलीको दासत्व स्वीकार गरेर उहाँहरू बस्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँहरूको स्वाभिमान छ भने, यी मुद्दाहरू पूरा नहुने अवस्थामा एमालेमा बस्न सक्ने अवस्था रहँदैन । त्यसैले उहाँहरू हामीसँगै आउने स्थिति निर्माण हुन्छ भन्नेमा म आशावादी छु ।

ए, त्यसो भए उहाँहरु आउँदा तपाईहरू स्वागत गर्न तयार हो ?

हाम्रो पार्टीमा उहाँहरूलाई स्वागत गर्न तयार छौं । उहाँहरू जतिखेर पनि हाम्रो पार्टीमा आउन सक्नुहुन्छ ।

तपाईंहरूकै पार्टीका नेताहरूले माओवादीसहितको बृहत् कम्युनिस्ट पार्टी बनाउँछौं भन्दै हुनुहुन्छ सम्भव छ ?

असम्भव भन्ने कुरा केही पनि छैन । अहिले तत्काल एमाले कम्युनिस्ट पार्टीको रूपमा रहेको छैन । उसले गरेका क्रियाकलाप र विचारहरू कम्युनिस्ट आचरणका छैनन् । एमाले अहिले नामको मात्रै कम्युनिस्ट पार्टी रहेको छ । कामको र विचारको कम्युनिस्ट पार्टी रहेन । त्यसैले तत्काल एमालेसँग हाम्रो सहकार्य हुन सक्दैन । तर, हाम्रो नीति के हो भने, नेपालमा रहेका सबै बामपन्थी शक्तिहरूलाई एकताबद्ध गरेर नेपाली जनताको जुन परिवर्तन, समृद्धि, समाजवाद र अग्रगमनको चाहना पूरा गर्ने हो ।

प्रदेशमा पनि मुख्यमन्त्रीहरू फेरिएका छन्, अब त्यहा“ केन्द्रको गठबन्धन अघि बढ्छ कि, अहिले फेरिएकालाई समर्थन हुन्छ ?

सबैतिर हाम्रो केन्द्रीय गठबन्धन जुन बनेको छ, त्यसैअनुसार अघि बढ्छ । प्रदेशमा बहुमतका आधारमा सरकार गठन गर्ने प्रक्रिया पनि अघि बढ्छ ।

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तपाईंहरूको समर्थनमा बन्नु भएको हो त ?

हामी नेकपा एमालेमै रहेर अन्तरसंघर्ष भइरहेका बेला अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्नु भएको हो । त्यतिबेला उहाँलाई मुख्यमन्त्री दिने भनेपछि हामीसँग पनि सल्लाह भएकै हो । तर, अहिले हामी पार्टी विभाजित भइसकेका छौं । हामीले गठन गरेको पार्टीमा उहाँ रहनु भयो भने मुख्यमन्त्रीमा शाक्यलाई समर्थन कायम रहन्छ । त्यस्तो भएन भने प्रदेश कानुनअनुसार जसको बहुमत हुन्छ, उसको नेतृत्वमा प्रदेश सरकार गठन हुन्छ ।

अष्टलक्ष्मी शाक्यलाई सुरुमै मुख्यमन्त्री बनाएको भए यो अवस्थामा पार्टी पुग्दैन्थ्यो भन्ने पनि गरिन्छ नि ?

हाम्रो व्यक्तिको कुरा रहेन । कार्यशैलीको कुरा रह्यो । हामीले नयाँ पार्टी नै गठन गर्ने अवस्था आउनुमा त्यो पनि एउटा कारक त हो । तर, सबै होइन । नेकपा एमाले नेता र कार्यकर्ताप्रति कति अविवेकपूर्ण काम गर्छ भन्ने  कुराको ज्वलन्त उदाहरण ३ नम्बर प्रदेशमा निर्वाचनको लगत्तै, पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने थियो, तर, केपी शर्मा ओलीको स्वेच्छाचारिताका कारण उहाँलाई बनाइएन । त्यो शाक्यमाथिको अन्याय र अत्याचार थियो । त्यो एउटा घटनाक्रम थियो । त्यो नै मात्र सबै कारण होइन । ओली नेतृत्वको झन्डै दुई तिहाइ बहुमतले जनताको सवालमा काम नगरेको कारण, र कम्युनिस्ट आन्दोलन नै मास्न खोजेकोले यस्तो अवस्था आएको हो ।

तर, ओली सरकारलाई त तपाईंहरूले नै असफल बनाएको हो रे ?

यो त आरोपको लागि आरोप मात्रै हो । जुन पार्टीको अध्यक्ष सरकारको पनि प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सरकार र पार्टीको बीचमा कुनै समन्व्य पनि गर्नु भएन । पार्टीमा कहिल्यै पनि सरकारको विषयमा छलफल पनि भएन । हामी सांसदहरूको बीचमा पनि कहिल्यै नीति कार्यक्रमको विषयमा छलफल गराइएन । केपी ओली एकलौटी ढंगबाट अघि बढ्न खोज्नु भयो । त्यही कारणले उहाँ पूर्णरूपमा फेल हुनुभयो ।

ओली सरकार असफल भयो, भनेरै नयाँ गठबन्धन गर्दै नया“ सरकार बनाउनुभयो, तर गठबन्धनको सरकार त सुस्त भएन र ?

गठबन्धन भनेपछि गठबन्धन नै हो । यसमा पार्टनरहरूको बीचमा सरसल्लाह गर्नुपर्ने हुन्छ । एकल सरकार जस्तो फटाफट निर्णय गरेर अगाडि बढ्ने अवस्था बन्दैन । ओली नेतृत्वको विगतको सरकारको झन्डै दुई तिहाइको हुँदा उसको ४० महिनाको काम हेरेकै छौं । त्यतिबेला खासै कामहरू हुन सकेन । देशमा यत्रो महामारी हुँदाखेरि पनि जनतालाई बचाउने काममा समेत ध्यान दिन सकेन । सरकार भ्रष्टाचारमा चुुर्लुम्म डुब्ने काम भयो । ओम्नी काण्डजस्ता ठूला घटनाहरू सार्वजनिक भए । यसैले अहिलेको सरकार गठबन्धनका बीचमा छलफल गरे अघि बढ्ने काम भइरहेको छ । संविधानको विशेष व्यवस्थाअनुसार बनेको यो सरकार हो । गठबन्धनमा आबद्ध दलहरूका बीचमा आन्तरिक कुराहरू पनि मिलाउनुपर्ने अवस्था छ ।

सरकारले कहिले पूर्णता पाउँछ ?

हामी अहिले छलफलमै छौं । अब चाँडै नै सरकारले पूर्णता पाउँछ । हामीले पनि बल्ल वैधानिकरूपमा दर्ता प्रमाणपत्र पाएका छौं । सरकारमा हाम्रो सहभागिता पनि रहनेछ । त्यसैगरी जसपाको आन्तरिक किचलो थियो, त्यो पनि समाधान भएको छ । त्यसैले अब छिट्टै सरकारले पूर्णता पाउँछ ।

तपाईंहरूबाट कति जना मन्त्री बन्दै हुनुहुन्छ ?

हामी अहिले छलफलमै छौं । के कति भन्ने अझै तय भइसकेको छैन ।

पा“च मन्त्री, एक राज्यमन्त्री भन्छन् त ?

यो सबै बजारका कुराहरू हुन् । यो विषयको छलफलमा मेरो सहभागिता छैन ।

तपाईं पनि मन्त्री बन्दै हुनुहुन्छ भन्ने चर्चा बजार हल्ला कि साँच्चै ?

अहिलेसम्म चर्चाकै विषय हो । हुन सक्छ म पनि सक्रियतापूर्वक लागेको, संसद्को सदस्य भएकाले मन्त्री बन्न योग्य छु । अहिलेसम्म यो छलफलकै विषय मात्रै हो ।