नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नामावली प्रकाशित गरी पहिलो चरणमा ३८ जिल्लामा खटिने निर्वाचन अधिकृतको प्रशिक्षण गरी जिल्लाहरूमा खटाए पछि अब लगभग नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता देखिएको छ । तथापि प्रकाशित तालिकाअनुसार निर्वाचन समितिले १८ भदौबाट वडा अधिवेशन सम्पन्न गर्न सम्भव भने देखिँदैन । पार्टीले भदौ १८ को बदला भदौ २२-२३ बाट वडाअधिवेशन गर्ने भनेर निर्णय गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
कोभिड–१९ को महामारीको चुनौतीका बीचमा स्वास्थ्य मापदण्डलाई प्रवाह नराखी पार्टीको क्रियाशील सदस्यको प्रकाशन र जिल्लामा निर्वाचन अधिकृतको निरूपणसँगै पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । पार्टीका आम कार्यकर्ता र नेतृत्व तहमा एकआपसमा भेटघाटको क्रम बढेको छ । त्यससँगै महाधिवेशनको सबैभन्दा आकर्षण सभापति पदको निर्वाचनका लागि उम्मेदवारीको घोषणा गर्ने र सम्पर्क कार्यालय स्थापनाको क्रम पनि चलेको छ ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको निकम्मापन र सभापतिको अनिच्छाले पार्टी विधानले तोकेको समय सीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसकेर संविधानको सहारा लिएर ६ महिना थप गर्नु र त्यो थपिएको समय सीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसक्नु कांग्रेसका लागि नैतिक एवम् वैधानिक संकट हुन्थ्यो र यो चरम लज्जाको विषय हुन्थ्यो । त्यो थपिएको ६ महिनामा महाधिवेशन सम्पन्न हुन लागेको त छैन, तथापि त्यो समय सीमाभित्र महाधिवेशन प्रारम्भ हुँदैछ र वैधानिक लाज छोप्ने प्रयास हुँदैछ । तत्कालीन सभापति सुशील कोइरालाले पनि विधानअनुसार पाँच वर्षमा अधिवेशन गर्न सकेका थिएनन् र आफ्नो पार्टीको वैधानिक संकट मोचनका लागि संविधानमै थप ६ महिना थप्ने व्यवस्था मिलाएका थिए ।
नियतिले उनको पुनः सभापति बन्ने आकांक्षा त पूरा हुन सकेन तर उनको निधन पछि संविधानअनुसार थपिएको त्यही ६ महिनाको सहरामाथि टेकेर कांग्रेसको १३औं अधिवेशन सम्पन्न भएको थियो । वर्षाको समय, कोभिड काल, निश्चय नै यो महाधिवेशन गर्ने उपयुक्त समय नै होइन । गलत नेतृत्वको परिणाम यस्तो चुनौतीपूर्ण अवस्थामा पनि पार्टीको वैधानिक संकट मोचनका लागि जसरी पनि महाधिवेशन गर्नै पर्ने परिस्थितिमा पार्टी छ । त्यसकारण महाधिवेशन गर्नै पर्छ । सम्भवतः अब एनकेन प्रकारेण नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न हुनेछ ।
नेपाली कांग्रेसको महाधिवेशन हुनु एउटा वैधानिक पाटो मात्र हो । महाधिवेशन हुँदैमा पार्टी अब ठिक ठाउँमा आइपुग्छ, असल नेतृत्व स्थापित हुन्छ भन्ने हुँदैन । वर्तमान परिवेशमा नेपाली कांग्रेसले लिएको सिद्धान्त–नीति र नेतृत्व दुवैको परिवर्तन आजको परम आवश्यकता हो । आम जनता र कार्यकर्ताको भावना मुताविक यो परिवर्तन नगरे नेपाली कांग्रेसले आफ्नो गुमेको शक्तिलाई पुनस्र्थापित गर्दै इतिहासको त्यो गौरवशाली स्थान पुनप्र्राप्ति गर्न सक्दैन । १४औं महाधिवेशन यी सबै गर्न सक्षम हुनेछ भन्नेमा यो पंक्तिकारलाई अलिकति पनि विश्वास छैन ।
नेपाली कांग्रेस जस्तो ऐतिहासिक लोकप्रिय प्रजातान्त्रिक पार्टीमा वैचारिक पक्षमा कुनै बहस, छलफल र चिन्तन हुन छोडेको छ । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा पार्टीले आफ्ना परम्परागत रूपमा अंगीकार गर्दै आएको वैचारिक धारलाई छोडेर संघीयता, धर्मनिरपेक्षता, समावेशिता, मिश्रित निर्वाचन प्रणालीलगायतका कथित क्रान्तिकारी परिवर्तनका मुद्दा भनेर स्वीकार गर्ने र अंगीकार गर्ने गरिरहँदा पार्टीको जीवनमा कुनै बहस, छलफल गरिएन । पार्टीले पछिल्ला तीन तहको निर्वाचनमा त्यति ठूलो पराजय भोग्यो, अलिकति नैतिक जिम्मेवारीसम्म लिने आँट नेतृत्वले गर्न सकेन । पराजयको दोष सबै दुई कम्युनिस्ट पार्टीको एकतालाई दिएर पानीमाथिको ओभानो बन्ने प्रयास नेतृत्वले गर्यो ।
संघीयता, धर्मनिपेक्षता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणालीलगायतका कथित परिवर्तनका मुद्दाहरूमा स्वामित्व लिँदै, आफ्नै नेतृत्वको सरकारले संविधान जारी गरेर कांग्रेस सरकारमा रहेर-आफैंले सरकारको नेतृत्व गर्दै तीन तहको निर्वाचन गर्दा समेत जनताले निर्वाचनमा नेपाली कांग्रेसलाई किन दण्डित गरे ? त्यसको आत्मसमीक्षा नेपाली कांग्रेसले अहिलेसम्म गर्ने आवश्यकता ठानेको छैन । महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्यो भने आम कार्यकर्तामा कांग्रेसको भविष्यप्रति केही आशा पलाउन सक्छ । तर पार्टीले वैचारिक रोड करेक्शन नगरेसम्म कांग्रेसले जनताका बीचमा गुमाएको छविलाई पुनस्र्थापित गर्न सक्दैन । यथार्थ के हो भने, जुन परिवेशमा पार्टीको महाधिवेशन हुँदैछ, यस्तो परिस्थितिमा यो १४औं महाधिवेशनबाट ठुलो आशा राख्नुको औचित्य छैन । अहिलेलाई पार्टीको १४औं महाधिवेशन सम्पन्न भयो, पार्टीको वैधानिक संकट ट¥यो, जे जस्तो अवस्थामा भए पनि पार्टी बच्यो, वस यति नै भयो भने सफलता मान्नु पर्ने अवस्था छ ।
वर्तमान कांग्रेसमा बीपी, गणेशमान र किसुनजी स्तरको उच्च छवि भएको सम्मानित नेतृत्व खोज्ने ठाउँ छैन । नेपाली कांग्रेसमा मात्र हैन, वर्तमान नेपाली राजनीतिमा सिंगो देशले नै राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएको योग्य एवम् कुशल राजनीतिक नेतृत्व खोजिरहेको छ । हामीसँग नेतृत्वको अभाव भो भनेर हाम्री राष्ट्रपति महोदयले खोपको अभावमा उत्तर र दक्षिणलगायतको देशहरूमा लौन खोप पठाई देऊ भनेर गुहार मागेको शैलीमा हामीले देशको नेतृत्व नै गर्न सकेनौं भनेर लौन एउटा नेता पठाई देऊ भन्न भएन ।
नेतृत्व जमिनमा खुदाई गरेर निकाल्न पनि सकिन्न, आकाशबाट पनि खस्दैन । यिनै भएका कमजोर र नालायकहरूमध्येबाट देश र जनताले एउटा नेता छान्नुपर्ने बाध्यता छ । त्यो नेतृत्व दक्षिणपन्थी कित्ता र वामपन्थी कित्ताबाट जन्मन सम्भव छैन । नेतृत्व जन्मिए देशको प्रथम प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्ति कांग्रेसबाट नै हो । तर कांग्रेसबाट त्यस्तो नेतृत्व तत्काल जन्मने सम्भावना पनि देखिएको छैन तथापि नेपाली कांग्रेसले सम्भावना भएका नेतृत्वमध्येबाट खराबमध्येका कम खराब नेतृत्व छनोट मात्रै गर्न सक्यो र नेतृत्व परिवर्तन गर्न सक्यो भने मात्र पनि आम जनता र कार्यकर्ता पंक्तिमा कांग्रेसको भविष्यप्रति अलिकति भए पनि आशा जागृत हुन सक्थ्यो ।
नेपाली कांग्रेसले आफ्नो फाउन्डिङ प्रिन्सिपल, नेपाली राजनीति र कांग्रेसका सन्दर्भमा बीपी कोइरालाले निर्धारण गरिदिनु भएको वैचारिक धार र गणेशमान सिंह र किसुनजीले हिँडेको बाटोमा कांग्रेसलाई नफर्काएसम्म नेपाली कांग्रे्रस ठीक बाटोमा हुने छैन । यो बाटोमा नआएसम्म कांग्रेसले आम नेपाली जनताको विश्वास जित्ने छैन ।
अनेक राजनीतिक तिगड्म गरेर पार्टीको नेता प्रधानमन्त्री बन्दैमा कांग्रेस बलियो बन्ने र प्रजातन्त्र सुदृढ हुने होइन । अहिले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुभएको छ, तर केही बिचौलिया, दलाली प्रवृत्तिका मानिस बाहेक आम कांग्रेसजनमा किन कुनै उत्साह छैन ? यसतर्फ कसैको ध्यान गएको छैन ।
निश्चयः नै वर्तमान कांग्रेस सभापतिको क्याम्पबाट लामो समयदेखि साथ दिएर आएका विमलेन्द्र निधिले विद्रोह गर्दै सभापति पदमा निर्वाचन लड्ने निर्णय गरे पछि देउवा क्याम्पमा राम्रै कम्पनको महसुस भएको हुनुपर्छ । तथापि देउवा इतर क्याम्पबाट एउटै उम्मेदवारी गुञ्जायस अझैसम्म देखिएको छैन, देउवाविरुद्ध एक भएर कसरी मुकाबिला गर्ने भनेर रणनीतिका साथ अगाडि बढ्नेभन्दा आफ्नै क्याम्पभित्र एकले अर्कोलाई कसरी औचित्यहीन सावित गर्ने होडबाजी देखिएकाले यसबाट देउवालाई लाभ नै हुन सक्छ ।
त्यसको साथै सत्ताको छडी देउवाको हातमा भएको कारणले देउवा महाधिवेशन गर्न अग्रसर भएका हुन् भन्ने कुरा बुझ्नलाई धेरै गाह्रो छैन । जे होस्, आम जनता र कार्यकर्ताको भावनाअनुसार नीति नेतृत्व बदल्ने सम्भावना नदेखिए तापनि अहिलेलाई कांग्रेसको महाधिवेशन सम्पन्न हुन गइरहेको छ, यसैलाई महान् उपलब्धि मानेर बस्नुको विकल्प छैन ।
प्रतिक्रिया