काठमाडौं – अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो ।
आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले काबुल विमानस्थलमा आक्रमण हुनुभन्दा केही समय पहिला नै सबै अष्ट्रेलियाली सैनिक फिर्ता आइसकेको र अब उद्धार कार्य जारी राख्नु सुरक्षित नहुने बताएका छन् ।
उनले अब उद्धारपछिको अवस्थामा मानिसहरुलाई आधिकारिक मानवीय कार्यक्रममार्फत फिर्ता ल्याइने बताएका छन् । मौरिसनले अहिले पनि अफगानिस्तानमा अष्ट्रेलियाको भिसा भएका मानिसहरु रहेको बताएका छन् ।
केही मुलुकले आक्रमणपछि अफगानिस्तानबाट उद्धारको कार्य रोकेका छन् । तर, पश्चिमा सुरक्षा अधिकारीले भने आक्रमणपछि उद्धारकार्यमा तीव्रता दिइएको बताएका छन् ।
प्रतिक्रिया