September 19, 2021, Sunday
२०७८ आश्विन ३
ताजा अपडेट

अमर–आराधना : अक्षर बनिदिए भावहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साहित्य सिर्जना तथा समालोचना लेखनका क्षेत्रमा क्रियाशील र स्थापित व्यक्तित्व हुन्–ज्ञाननिष्ठ ज्ञवाली । सर्जक ज्ञवालीले विभिन्न विधाका बिसभन्दा बढी आफ्ना मौलिक कृतिका साथै पाठ्यपुस्तक लेखन र सम्पादन गरी साठीभन्दा बढी पुस्तकहरू पाठकमाझ ल्याइसकेका छन् ।

Advertisement

त्रिविअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेका उनी हाल विद्यावारिधिरत छन् । सिसार नामक साहित्यिक पत्रिकाका प्रधान सम्पादकसमेत रहेका ज्ञवालीले पछिल्लो भेट (२०७८ असार) मा सिसार (वर्ष ४३, अङ्क १८, २०७८ वैशाख अङ्क), आफूद्वारा रचित आमा (खण्डकाव्य, २०७८ वैशाख) र आफैले भाषा सम्पादन गरेको कृति ‘अक्षर बनिदिए भावहरू’ (कविता तथा गीतसङ्ग्रह, २०७८, वैशाख) यस पङ्क्तिकारलाई सौजन्य प्रदान गरेका थिए । यहाँ तिनै कृतिहरूमध्ये अक्षर बनिदिए भावहरू बारे समीक्षा–समालोचनाको सैद्धान्तिकताभन्दा पनि अलि पर रहेर पठन–प्रतिक्रियास्वरूप केही शब्द प्रकाश पार्दै छु ।

प्रस्तुत कृतिका सर्जक अमर रोका हुन् । यी अमरचाहिँ नेपाली साहित्याकाशका मुक्तक फाँटका मूद्र्धन्य सर्जक भीमदर्शन रोकाका सुपुत्र हुन् भन्ने विभिन्न माध्यमबाट जानकारी प्राप्त गरेँ । मेरा निम्ति यस्तो रहस्यको कुरा थाहा पाउँदा अति गौरवबोध भयो । हाल अमर रोका सात समुद्रपारि अमेरिकामा बस्दा रहेछन् । सानै उमेरदेखि साहित्य सिर्जनामा रुचि राख्दै आएका अमरको यसअघि गीतिसङ्ग्रह (एल्बम) सार्वजनिक भइसकेको रहेछ । श्रव्यदृश्य माध्यममार्फत सुन्दा पनि उनका कतिपय गीत ज्यादै कोमल भावका र कर्णप्रिय लाग्छन् । हुन त उनको पारिवारिक माहोल साहित्यिक थियो । पारिवारिक पृष्ठभूमिले पूर्णता पाए पनि व्यक्तिमा प्रतिभा भने लगातार आवश्यक पर्छ उत्कृष्ट साहित्य सिर्जनाका निम्ति । जे होस् परिपक्व उमेरावस्था भए तापनि अमर रोका आफ्नो पहिलो कृति अक्षर बनिदिए भावहरू (कविता तथा गीतसङ्ग्रह, २०७८ वैशाख) मार्फत कतिकारका रूपमा नेपाली साहित्यिक फाँटमा औपचारिक ढङ्गले दर्ज भएका छन् । प्रस्तुत कृति न सानो न ठूलो ठिक्क र चिटिक्क आकारको छ । यसमा एकचालिस ओटा रचना समाविष्ट छन् । अग्रावरण र पश्चपृष्ठ छाडी भूमिकाहरूसहित कृतिमा क्रमशः उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीको अमरका अमर रचनाहरू, सहप्रा.हरि घिमिरेको केही शब्द, डा. ज्ञानू पाण्डेको शुभकामनाका शब्द, प्रा.डा. जङ्गव चौहानको जिन्दगीका लयहरू आदि शुभकामना तथा समीक्षात्मक मन्तव्य छापिएका छन् । सुनील रञ्जितको सुन्दर कलामा आवरण पृष्ठ सिँगारिएको प्रस्तुत कृतिको प्रकाशक पूजा रोका रहेको देखिन्छ । कृतिकारले आफ्नी माता मीना रोकामा कृति समर्पण गरेको देखिन्छ । थ्रीस्टार प्रिन्टिङ प्रेस काठमाडौँबाट मुद्रित ७९ पृष्ठमा फैलिएको प्रस्तुत कतिको मूल्य ९५ राखिएको छ ।

यसै वर्ष वैशाख १८ (विश्व श्रमिक दिवस) मा काठमाडौँमा सिसार साहित्य प्रतिष्ठानले भर्चुअल कार्यक्रममार्फत यस कृतिको विमोचन गराएको थियो । कृतिमा सम्पूर्ण कविता गद्य शैलीका छन् भने गीत पनि स्थायी र अन्तराको निश्चित संरचनामा बाँधेर लेखेको पाइँदैन । कृतिको पहिलो कविता चिस्याऊ मलाई शीर्षकको छ भने एकचालिसौँ अर्थात् अन्तिम क्रमको कविता हो ः परिक्रमा–अंँध्यारो उज्यालोको ।

पहिलो कवितामा कविले बादललाई तातो–चिसो र गड्याङगुडुङ गर्ने शक्तिका रूपमा चित्रण गर्दै आफूलाई धित मार्ने गरी चिसो पार्न आह्वान गरेका छन् । दोस्रो कवितामा अनेक रङ र स्वरूपमा फुलेका पहराका फूलहरूलाई परिचय नखोज्न भन्दै कविले उदार–सद्भावको प्रतीकका रूपमा उभ्याएका छन् । जिन्दगीलाई सुख–दुःख, मेलमिलाप–झैंझगडाको अभिन्न साथी मान्नुपर्ने निचोड तेस्रो कविताले दर्शाउन खोजेको छ । विषलाई नै मलम मानेर जिन्दगीमा धारण गरेको र अनेक चोटहरूले बाँच्न, सङ्घर्ष गर्न र परिवर्तिन हुन सिकाएको भाव चौथो कवितामा छ । कृतिको पाँचौँ कविताले अनेकानेक नाटक, सम्झौता, सुख दःखबाट जिन्दगी गतिशील पार्नुपरेको यथार्थता प्रकटन गरेको छ । गीतमा रचिएको छैटौँ सिर्जनामा चकमन्न रातमा दियो बालेर यात्रा गर्दा प्रियजनको आगमनको आभास हुने औंल्याइएको छ । सहिदलाई छातीमा अझै विद्रोह बोकेर पल्टेको व्यक्तिका रूपमा चित्रण गर्दै सहिदकै भेषमा उसलाई पुनः एकचोटि फर्कन स्रष्टाले आह्वान गरेको पाइन्छ–सातौँ कवितामा । आठौँ कवितामा जिन्दगीको यात्रा–चक्रले मान्छेलाई अनेकौँ आरोह–अवरोह र घुम्तीहरूमा पु¥याउने यथार्थ अभिव्यक्त छ । देवतामाथि अमानवीय मान्छेहरू सिर्जना गरेको आरोप छ भन्दै कवि अमरले नवौँ कवितामा घोषणा गरेका छन्–म देवता नभेटेरै बाँच्ने छु । दशौँ कवितामा आफ्नो गीतमा आफ्ना मान्छेको आवाज नरहेको आफ्ना शब्दहरूको कुनै प्रभाव नरहेको, कोर्दै गरेको तस्बिर पनि आफ्नो रहेको भन्दै आफू नाजवाफ बनेको भाव सार्वजनिक गरेका छन् ।

एघारौँ कवितामा रूप पाउन लोभिएको शृङ्गार, व्याकुल अधर र साकार हुन उभिएको इच्छा नै आफू हुँ भनी कवि अनौठो भावमा रमाएको पाइन्छ ।

बाह्रौँ कवितामा आफ्नो मन घात प्रतिघातमा परेको गुनासो गर्दै टाढा नपुगी छिट्टै पुनः फर्केर आउने आशावादी स्वर व्यक्त गरेका छन् । तेह्रौँ कवितामा अँध्यारोमै उज्यालो र मैनबत्ती झैँ पग्लेर अँध्यारोमै रित्तिने विचारको घेरालाई कविले ज्यादै लघु आकारमा सूत्रात्मक प्रस्तुति गरेका छन् । यसमा लामा छोटा गरी जम्मा छ ओटा पङ्क्ति छन् ।

“तिम्रो सफलता मेरो हार थिएन मेरा कोसिसहरू आफू जित्नलाई पनि थिएनन्” भन्दै कविले गम्भीर र कलात्मक अभिव्यक्ति कृतिको चौधौँ कवितामा प्रकट गरेका छन् । “एक टुक्रा आकाशमा बिना सिमानाको एउटै सपना भए पुग्छ” भन्दै पन्ध्रौँ कवितामा “यो ठूलो सृष्टिमा छोटो जीवन बाँचे पुग्छ जीवन नियाल्न दुई नयनमा ज्योति पाए पुग्छ” भन्ने स्वतन्त्रता र अमरताको सन्देश पस्केका छन् । शान्ति र स्वतन्त्रताको पक्षमा कविले आफूलाई निर्लिप्तै उतारेको पाइन्छ । सोह्रौँ कविताको कवितांश भन्छ–

परेवाले आकाशमा फन्को मारी आर्जने
शान्तिको गोलो गोलो फन्को
म मान्छे बनी मार्न सक्दिन
त्यस्तै कसैले पखेटा देऊ मलाई,
कहिलेकाहीँ शान्ति खोज्न मन लाग्छ
कहिलेकाहीँ आकाशमा पुगेर पनि स्वतन्त्र हुन मन लाग्छ…।
(पखेटा देऊ मलाई/पृ. ४५)

सत्रौँ रचना पढ्दा कविता हो तर सुमधुर आवाजमा गायक गायिकाले गाएको युट्युबमार्फत सुन्दा ज्यादै श्रुतिमधुर, कर्णप्रिय र प्रणयमन्त्र झैँ लाग्छ–

माया साँचेको यै मुटुमै त हो नि
विश्वास बाँधेको यै मुटुमै त हो नि
सबै पिरहरू नै खुसीले रमाए
तिमीलाई राखेको यै मुटुमै त हो नि
तिमीलाई राखेको यै मुटुमै त हो नि ।
(तिमीलाई राखेको यै मुटुमै त हो नि/पृ.४६)

वैदेशिक रोजगारमा जानुपर्ने नेपाली आमाका सन्तानका भोगाइलाई र विदेशी भूमिमा काम गर्दागर्दै कहिलेकाहीँ उतै हराउनुपर्ने विडम्बनालाई अठारौँ कविताले शब्दाहारमा उनेको छ–

लाहुरेको पौरख, सतीको श्राप
रोजगारको नैसर्गिक अधिकार
दस्तुर तिरी आफै खोज्न जान्छ
गहभरि ऋण, आँगनभरिको नासो
एउटा लगानी विदेशमा फेरि सहिद हुने भाछ ।
(लाहुरेको पौरख/पृ.४८)

उन्नाइसौँ कविताले जीवनलाई सङ्गति–असङ्गति तथा मनोहारिता–दारुणता दुवैलाई एकैसाथ देखाउने सानो ऐनाका रूपमा चित्रण गरेको छ–

जीवन हो
सुनौलो बिहानी यही गल्छ
यहाँ
उराठलाग्दो दिन पनि आफै ढल्छ…।
(जीवन/पृ.४९)

त्यस्तै बिसौँ कवितामा “ए पिर गर्नेहरू हो तिम्रो पिरमा अब या त कुनै दम रहेन” भन्दै नशाको छोटो भावपूर्ण प्रस्तुति गरेका छन् । ग्राम्य जीवन र प्रकृतिको रमणीय आँगनमा फर्किफर्कि आउन चाहेको कञ्चन भावना पोखेका छन् एक्काइसौँ कवितामा । कवितांश भन्छ–

त्यो गाउँमा फेरि फेरि
पुगूँपुगूँ लाग्यो
रङमा गाढा लालुपाते
टिपूँटिपूँ लाग्यो …
टाढा टाढा पुग्दा पनि
किन किन
आज फर्कूंफर्कूं लाग्यो । (टाढा टाढा पुग्दा पनि/पृ.५१)

प्रणयरागमा चुलुम्म डुबेका मानव–प्राणीमा प्रणय आमन्त्रण बाइसौँ क्रमको ‘तिम्रो याद’ शीर्षकमा फैलिएको छ । कवितामा कवि सोध्न पुग्छन्–

उत्सव हो कि जीवन व्यर्थकै वनबास भो
गहिरो निद्रामै फूलको बास आउँछ है… ।
(तिम्रो याद/पृ.५२)

ठूला र शक्ति–सामथ्र्यले पूर्ण राष्ट्रले साना तथा अल्पविकसित राष्ट्रमाथि आणविक हमला गरी त्रस्त पारेको र कमजोर मानिसलाई झन् कमजोर पारेको गुनासो यसरी गरेका छन् तेइसौँ कवितामा–

जताततै अचानक नै
यो कस्तो शान्ति आजभोलि
आणविक ताकतहरू
विना सर्त नै भङ्ग गरी
कमजोर मान्छे लथालिङ्ग भएको देख्दा
अचेल
कमजोर मान्छेको शक्तिमाथि सहानुभूति जाग्न थालेको छ
(कमजोर मान्छे/पृ.५३)

चैबिसौँ र पच्चिसौँ क्रमका कविताको मूल स्वर प्रणयभाव हो । झर्रा शब्दहरूको प्राचुर्य यहाँ देखिन्छ–

शिरको टोपी फुकाएर सुस्ताएको बेला पनि
बाडुल्कीले सताइरह्यो
तिर्खाएको नै पो हो कि
हताशमा भो पर्दैन, फुर्सदमा प्यास मेट्न खोज
यो जुनी तिम्रै त हो नि, यो बाचा तिमीलाई भो नि ।
(यो जुनी तिम्रै हो नि/पृ. ५५)

गाउँघरमा डाँडावारि र डाँडापारिका युवा युवतीबीचको प्रणयगान छब्बिसौँ कवितामा छ । मार्मिक छ यो अंश–

अमला त यसै अमिलो, अमला त त्यसै अमिलो
यो कुवाको मिठो पानी
आज किन निक्कै धमिलो
बर्खे खोला तर्ने झमेलो, बर्खे खोला तर्ने झमेलो
माया बस्यो डाँडापारि, डाँडावारि छेक्छ पहिरो ।
(अमला त/पृ. ५६)

अर्को शक्तिशाली प्रमोपहार कविताका रूपमा उदाएको छ सत्ताइसौँ कविता । एक कवितांश यसरी उभिएको छ–

कुनै उज्यालो आशमा छन् बेचैन यी रातहरू
अन्योलमै जलिरहेछन् मेरा जवाफहरू
प्रश्न सोध भनूँ तिमीलाई, कुनै बहाना छैन
निराधार बन्न नदेऊ प्रभातका किरणहरूलाई
आकार कोर्न तिम्रो कुनै नाप नक्सा छैन
खोजी भेट्नु तिमीलाई कुनै ठेगाना छैन ।
(आकार कोर्न/पृ. ५८)

आँसु, विछोड र निराशाको शब्दचित्रका रूपमा अठ्ठाइसौँ कविता झल्किएको छ । कवितांश भन्छ–

आयुसँगै छोटिने जिन्दगीलाई
अमृत पिउने
कथा नसुनाऊ
एकदिन आफै मेटिने जिन्दगीमा
भयो, छोड
कुनै विष नमिसाऊ
आफ्नै बाटो, आफ्नै पाइला, आफ्नै मोड काट्न सिकेँ
जिन्दगीलाई ज्युँदाज्युँदै
जिन्दगीलाई सहन सिकेँ ।
(जिन्दगीलाई ज्युँदाज्युँदै/पृ. ५९)

बिहानी नझुल्किएको भए सिँगो दिन नै रात हुने प्रसङ्गमा पोखिएको छ उनन्तिसौँ कविता पनि ।
कसैको मुटु पत्थर बनेको सजीव चित्रण गर्दै प्रेमाघात व्यक्त गरेका छन्–तिसौँ कवितामा । कवितांश भन्छ–

तिम्रो पत्थर बनेको मुटुमा
मेरो नाम मेटेर हेर
उदाङ्गा यादहरूसित रातमा निदाएर हेर..।
(चोटहरू के हुन् र/पृ. ६२)

बेपर्वाह बनेको जिन्दगीकोे कथा बुनेर एकतिसौँ क्रमको कवितामा कविले यसरी प्रस्तुत गरेका छन्–

साउनसित प्रीत लाएँ, अब मलाई भदौ चाहिन्न
दर्कन देऊ यो वृष्टिलाई
मलाई अब ओत चाहिन्न
बगाई लगे बाढीले, मलाई अब किनार चाहिन्न
(साउनसित प्रीत लाएँ/पृ. ६३)

जीवनलाई केवल अनुभवका रूपमा व्यक्त्याउँदै कवि यसरी पोखिएका छन् बत्तिसौँ कवितामा–

संयोग वियोगको असर बोक्ने यो
जीवन
केवल अनुभव रहेछ
अनन्तको
यो यात्रा अर्थ त, देखेको चार दिशाभन्दा अन्त रहेछ ।
(जीवन केवल अनुभव रहेछ/पृ. ६४)

तेत्तिसाँै कवितामा स्वदेशका प्राकृतिक छटा वा मनकी प्रियतमाका निम्ति ज्यादै सुन्दर शब्द पस्कँदै कवि भन्छन्–

र, म
वर्षादमा
निथ्रुक्क निभ्न पाइरहूँ
उत्सवहरूमा
खुलेर हाँस्न पाइरहूँ
ऋतुहरूमा
प्रियतमसित भेट्न पाइरहूँ
हो,
यहाँ प्रियतमलाई सुनाउँदैमा
चोटहरूमा पालुवा पलाउँछन्
तिनीलाई
देखाउँदैमा
घाउहरूबाट दाग हराउँछन् ।
(कसरी आयो–उदेक लाग्छ/पृ. ६६)

मानिसका सम्बन्धमा रहस्य देखेका छन् कविले । प्रस्तुत कृतिको चौतिसौँ कवितामा कवि भन्छन्–

टाढा हुँदा, भन्छन् बिर्सन सक्दैनन्
नजिक आउँदा, तिनैले चिन्न सक्दैनन्
त्यसैले होला
जब जब हुरी चल्छ
यो मन कुँडिन्छ
कति कति ओतहरू सम्बन्धका वेग थाम्न सक्दैनन् ।
(जब जब हुरी चल्छ/पृ. ६८)

इन्द्रेणीको बखान गर्दै आफ्नो मनमा बास बस्न आएको प्रिय मान्छेप्रति निकै काव्यिक देखिएका छन् पैतिसौँ कवितामा–

इन्द्रेणीमा रङ सात आएपछि
यो मनभरि उमङ्ग छाएपछि
कसरी नखोलूँ
मनका कुरा सबै, यति नजिक कसैलाई पाएपछि ।
(इन्द्रेणी/पृ. ६९)

आँखाका आँसु होस् वा ओठका हाँसो । यस्ता अनेकानेक जिम्मेवारी र हार्दिकता मिसाउँदै छत्तिसौँ कवितामा व्यक्त गरिएको छ–

विश्वास गर्न सिकाउने
यी नयनहरू नै थिए
धोका भयो भनेर
यी नयनहरू नै आफूलाई भिजाउँथे
कहिले भरी, कहिले खाली खाली
जे जसो छ स्विकारी
अन्ततः
यी नयनहरू सुस्तरी परेलीमा बिसाउँथे ।
(यी नयनहरू/पृ. ७०)

प्रेम र आत्मीयताको स्वाभाविक चित्रण सैतिसौँ कवितामा पाइन्छ–

म कुनै नाताले नजिक आएको थिइन
नजिकपनले बरु यो नाता जोडिदिएछ
गर्मीको तिर्खा भनेर
छायाँ खोज्दै
पानी पिउन गएको थिइन
कसैले तिमीलाई भनेर मसम्म नदी मोडिदिएछ ।
(नजिकपनको नाता/पृ. ७१)

भाग्य वा कर्मको यात्रामा लाग्दा कुनैको ओठमा हाँसो छुट्ने त कसैको आँखामा आँसुको मूल फुट्ने विडम्बनालाई आफ्नो अड्तिसौँ कवितामा उनका छन् कवि अमरले–

भाग्यले कोरेका गोरेटाहरूमा
हाँसेर बिदा लिँदा
नयन कतै तिम्रो पनि रुझ्नेछ ।
(अतीतका यादहरूमा/पृ. ७२)

परिवर्तन भइरहने जिन्दगीको प्रसङ्ग उन्चालिसौँ कवितामा छ । सप्तरङ्गी इन्द्रेणीले अर्को आठौँ रङ जन्माउन सक्छ र श्यामश्वेतको बन्धकीबाट जिन्दगी छुट्टिए पनि त्यसपछि फेरि पनि जिन्दगी–जिन्दगीबीचमै सायद कुरा नमिल्ने रित यस्तै छ भनेका छन्–‘केही टुक्राहरू’ शीर्षकमा चालिसौँ क्रमका कवितामा । यसमा सातओटा अनुभूति–टुक्रा छन् । एक टुक्रा भन्छ–

नबोल्ने गुलाफको बोट हौ तिमी
काँडाहरूको
मौन चोट हौ तिमी
असिना हुरीको रातपछि खुलेको
सुन्दर बिहानीको कौमार्य हौ तिमी ।
(केही टुक्राहरू/पृ. ७५)

एकचालिसौँ क्रमको तथा प्रस्तुत कृतिको अन्तिममा समाविष्ट कविता ‘परिक्रमा–अँध्यारो उज्यालोको’ हो । कवि यस कवितामा जिन्दगीको आरोह–अवरोहलाई शब्दमा रङरोगन गर्नमा ज्यादै सफल देखिएका त छन् नै साथमा सुनौलो भविष्यप्रति आशावादी पनि देखिन्छन्–

तर,
भोलिको उदय आशा बन्नेछ
आइरहने
अँध्यारो उज्यालोको
यो क्रम नै
जिन्दगीको सर्तरहित
सहर्ष स्वीकार्य भाषा बनिसकेको छ ।
(परिक्रमा–अँध्यारो उज्यालोको/पृ. ७९)

समग्रमा प्रस्तुत कृतिका रचनाहरूमा कवि अमरका आग्रह र झुकावका कुनै नारा वा आफ्नै आग्रहका टर्रा कुरा आएका छैनन् । छन् भने त्यो प्रेम–प्रणयको सुललित भावमा नजानिँदो मात्रामा होलान् । उनी स्वदेशबाहिर रहेर पनि लामो समयदेखि छोटा र मिठा कविता–गीत आदि सिर्जना गर्दै परिपक्व बनेका रहेछन् भन्ने कुरा प्रकाशित उनको यो सङ्ग्रहबाटै प्रमाणित हुन्छ । विषयमा विविधता देखिन्छ यसमा । एकाध कवितामा वैदेशिक रोजगारमा जान विवश नेपाली युवाका मर्मलाई राम्रैसँग केलाएका छन् कविले । कुनै कवितामा परोक्ष रूपमा शक्तिसम्पन्न ठूला राष्ट्रले कमजोर राष्ट्रप्रति आणविक हतियारद्वारा गरिएका आक्रमणको शालीनतापूर्वक विरोध–परिकार पस्केका छन् । स्वदेश तथा आत्मीय–आफन्तहरूप्रतिको कञ्चन स्नेह, प्रेम र हार्दिकता पनि छचल्किएकै पाइन्छ कृतिमा ।

जिन्दगीले पाउने हन्डर ठक्कर, आरोह अवरोह, मिलन विछोड तथा हर्ष विस्मातले अलि धेरै पृष्ठ मोटाएका देखिए । कुनै कविताको अर्थ त्यहाँ दिइएको त्यसको शीर्षकको केन्द्रीय तहमा भेटिन मुस्किल पर्ने खालका पनि छन् । सारमा वा निचोडमा मात्र अर्थ थाहा पाउन सकिने दर्शनमिश्रित कविता पनि समाष्टि गरिएका रहेछन् । यति हुँदाहुँदै पनि प्रस्तुत कृतिमा व्याप्त सरलता, कोमलता, हार्दिकता, अनुप्रासयुक्तता, सङ्क्षिप्तता र सूत्रात्मकता तथा त्यसैभित्र समेत गहन–गाम्भीर्य भाव पाइनु ज्यादै सुन्दर, लोभलाग्दो र सराहनीय पक्ष हो । कृतिमा सर्वाधिक छोटो आयामको कविता तेह्रौँ क्रममा ‘मेरो विचारको घेरा’ बनेर आएको छ । जसमा लामा छोटा गरी जम्मा छ ओटा पङ्क्तिहरू रहेका छन् । त्यस्तै सर्वाधिक लामा आयामका कवितामा दुई शीर्षक परेका छन् । ती हुन् तेत्तिसौँ क्रमको ‘कसरी आयो उदेक लाग्छ’ र एकचालिसौँ क्रमको ‘परिक्रमा–अँध्यारो उज्यालोको’ । यी दुवै कवितामा प्रत्येकमा पैँतालिस÷पैँतालिस ओटा पङ्क्तिहरू रहेका छन् ।

पढ्न र गाउन चाहनेहरूलाई कवि अमरले एकै पोकोमा सात समुद्र टाढाबाट काव्यिक कोसेली ल्याइएपु¥याएका छन् । उसो त गाउने कला र गला भएकाहरूले साँच्चै मिहिनेत लगाएर अभ्यास गर्ने हो भने जस्तोसुकै गद्यशैलीको कविता पनि सुरिलो लय र भाकामा गाउन नसक्ने भन्ने हुँदैन । तथापि प्रस्तुत कृतिमा कविता र गीतलाई छुट्टाछुट्टै खण्डमा समावेश गरिएको भए कतिपय पाठकलाई गीत र कविताको संरचनात्मक ज्ञान पनि सँगै हासिल हुने थियो । यसका साथै चाख लिएर कृतिकारबारे जान्न चाहने र कतिकारका आफ्नै भावना पोखिएका स्वकीय मन्तव्य नपढी नहुने बानी लागेका कतिपय पाठकलाई भने यस कृतिले जिल्ल मात्र पारेको देखिन्छ ।

जे होस्, आफ्नो पहिलो साहित्यिक कृति ‘अक्षर बनिदिए भावहरू’ मार्फत औपचारिक ढङ्गले नेपाली साहित्यिक भवनको दैलो सफलतापूर्वक उघारेका कवि/गीतकार तथा बहुमुखी प्रतिभा अमर रोकाबाट भविष्यमा सार्थक कृतिहरू थपिनेमा थप विश्वस्त बन्न सकिन्छ । यस शुभ आगमन र सफलताका निम्ति कवि अमरमा हृदयतः बधाई । शुभकामनाका निम्ति शब्द–गुच्छा त छँदै छ ।

( भैरहवा)


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •