काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उहाँका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री हुनुहुन्थ्यो । कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो । गएराति १२ः५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भएको थियो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उहाँ काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।
लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहनुभएको थियो । उहाँलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । पार्टीमा तीन प्रमुख नेता ९आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल० मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ । उहाँको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।
पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उहाँको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक हुनुहुन्छ । उहाँका छ भाइ र तीन दिदीबहिनी छन् ।
दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ पर्नुभएको थियो । पक्राउपछि उहाँलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उहाँले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो ।
छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उहाँ सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लाग्नुभयो । जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उहाँ युरोपेली मुलुकमा खटिनुभएको थियो ।
युरोपबाट स्वदेश फर्किएर उहाँ पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिनुभयो । विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उहाँको सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उहाँले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिनुभएको थियो ।
विसं २०५६ को संसदीय निर्वाचनमा उहाँ पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभयो । विसं ०६२÷६३ को जनआन्दोलनमा उहाँले अहम् भूमिका निर्वाह गर्नुभएको थियो ।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उहाँ बाँकेबाट पराजित हुनुभयो । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उहाँ बाँके र चितवनबाट सभासद्मा विजयी हुनुभएको थियो ।
कुशल सङ्गठक
पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि हुनुहुन्थ्यो ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो । विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२÷६३ को आन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाउनुभएको थियो ।
पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गर्नुभएका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गर्नुभएका काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उहाँले नजिकबाट हेर्नुभएको थियो । सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिनुभएको थियो । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उहाँले पार्टी सदस्यता लिनुभएको थियो ।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उहाँ भारत निर्वासनमा जानुभएको थियो ।
“राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो” भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो । पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उहाँले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गर्नुभयो ।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गर्नुभएको थियो ।
कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’को उपाध्यक्षसमेत बन्नुभएको थियो ।
बिपीदेखि गिरिजाप्रसादसम्म नजिक
नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो । उहाँले पत्रकारका रुपमा काम गर्नुभएको थियो । उहाँ पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकसमेत हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादका बारेमा उहाँले लेख्नुभएका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो ।
उहाँका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गर्नुभएको थियो ।
]]>
प्रतिक्रिया