देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्झनामा शुशील कोइरालाः संविधान जारी गर्नु कोइरालाको ऐतिहासिक उपलब्धि

देशान्तर

काठमाडौँ। नेपाली जनताको छ दशकअघिदेखिको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाली काँग्रेसका सभापति सुशील कोइराला अब भौतिक रुपमा हामीसँग रहेनन् । 

गएराति १२.५० बजे निधन भएका पूर्वप्रधानमन्त्री कोइरालाले आफ्नो २० महिने प्रधानमन्त्रीत्वकालमा संविधानसभाबाट संविधान जारी गर्नेदेखि अन्य थुप्रै महत्वपूर्ण काम गरेर मुलुकलाई अतुलनीय योगदान पुर्याएका छन् ।  पहिलो संविधानसभा संविधान जारी गर्ने अथक प्रयास गर्दा पनि स्वतः विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचन २०७० मङ्सिर ४ गते सम्पन्न भएको थियो । उक्त संविधानसभाबाट काँग्रेस सबैभन्दा ठूलो दलका रुपमा निर्वाचित भएपछि कोइराला २०७० माघ २७ गते व्यवस्थापिका–संसद्बाट अत्यधिक बहुमतका साथ प्रधामन्त्रीमा निर्वाचित भए ।  

विसं २०६७ असोज १ – ४ गतेसम्म काठमाडौंमा भएको काँग्रेसको १२ औँ महाधिवशेनबाट सभापतिमा निर्वाचित कोइरालाकै नेतृत्वमा पहिलो संविधानसभामा खुम्चिएको काँगे्रस दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएपछि उनको उचाइ थप बढेको थियो । 

नयाँ संविधान जारी गर्ने सन्दर्भमा प्रमुख दलबीच प्रदेशको सङ्ख्या र सीमाङ्कनमा ध्रुवीकरण बढेका बेला कोइराला नेतृत्वको सरकारले सबै दलबीच सहमति कायम गरेर संविधानसभाबाट संविधान जारी गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्यो । 

स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको छ दशक लामो लोकतान्त्रिक आन्दोलनमा कोइरालाको असाधारण योगदान रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणकाललाई टुङ्ग्याएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न कोइरालाको सकारात्मक र दृढ भूमिका रहेको स्मरण गरे । नेता कोइरालाले संविधान जारी गर्न देखाएको सकारात्मक भूमिका र दृढतालाई सबै नेपालीले सदा सर्वदा स्मरण गरिरहने उनको कथन थियो । 

कोइरालाले जहिले पनि एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई अनुसरण गर्दै मुलुकमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । 
प्रधामन्त्रीमा निर्वाचित भएलगत्तै संविधानसभाबाट संविधान जारी गर्ने अठोट गरेका कोइरालाको सक्रियतामा नै मुलुकले इतिहासमा पहिलो पटक २०७२ साल असोज ३ गते संविधानसभाको करिब ९० प्रतिशत सहमतिमा संविधान जारी गर्ने अवसर प्राप्त ग¥यो । 

केही मधेसकेन्द्रित दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधानसभा बहिष्कार गरेपछि त्यसलाई सम्बोधन गर्न उनको सरकारले नै तत्काल संसद्मा संविधानको पहिलो संशोधन प्रस्ताव दर्ता गराएको थियो । काँग्रेसकै सक्रियतामा संविधानको पहिलो संशोधन पारित भएपछि मधेसकेन्द्रित दलको आन्दोलन केही मत्थर भएको थियो भने भारतले सिमानामा गरेको अघोषित नाकाबन्दी पनि खुकुलो हुँदै यही माघ २२ गतेदेखि पूर्ण रुपमा खुलेको हो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि माघ २५ गते नाकाबन्दी र आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । 

काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले कोइरालाको संविधान कार्यान्वयन गर्ने सपना पूरा गर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने बताए । कोइरालाकै नेतृत्वमा छ दशकदेखि नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने कार्यको नेतृत्वदायी जिम्मेवारी पूरा भएको उल्लेख गर्दै उनले भने, “लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र समाज रुपान्तरणको जिम्मेवारीलाई हामी सबैले मिलेर पूरा गर्नुपर्छ ।” 

विस २०७२ वैशाख १२ गतेको भूकम्पले अतुलनीय जनधनको क्षति पु¥याउँदा कोइरालाकै नेतृत्वको सरकारले धैर्य र संयमताका साथ उद्धार, राहत र पुनःस्थापनाको काम गरेको थियो । मुलुकमा ठूलो विपद् आउँदा पनि सरकारले आफूसँग भएको स्रोतसाधन परिचालन गरी तत्कालिक उद्धारको काम गरेको थियो । 

कोइराला सरकारले भूकम्पछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन गत असार १० गते राजधानीमा ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गरेको थियो । सो सम्मेलनमा कोइराला सरकारप्रतिको अन्तर्राष्ट्रिय दातृ निकायको विश्वासबाट करिब रु ४।४ खर्ब सहयोगको प्रतिबद्धता आएको थियो । 

सो बाहेक कोइरालाको शासनकालमा खासगरी लामो समयदेखि विभिन्न मुलुकमा रिक्त राजदूतको नियुक्ति र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति भएको थियो । साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न महत्वपूर्ण मानिएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका साथै पदाधिकारीको नियुक्ति कोइराला सरकारको उपलब्धि मान्न सकिन्छ । 

त्यस्तै लामो समयदेखि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा उनकै पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमन भयो भने लामो समयको अन्तरालमा नेपालमा नै दक्षिण एसियाली सहयोग सङ्गठन ९सार्क० को १८आंै सम्मेलन सम्पन्न भयो । 

यसअघि भारतसँग विद्युत् व्यापार सम्झौता हुन सकेको थिएन, जुन उक्त अवधिमा भयो । यसबाट जलस्रोतमा विकासको ठूलो ढोका खुलेको छ । यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव ९जिएमआर० र अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमसँग परियोजना विकास सम्झौता ९पिडिए०लाई सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा नै ती आयोजना अगाडि बढ्नाले पनि दुई देशबीच लगानी र मैत्री सम्बन्ध थप उचाइमा पुगेको महसुस गरिएको छ । त्यसैगरी नेपाल र भारतको सीमामा रहेको महाकाली नदीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा २२ वर्षपछि पञ्चेश्वर विकास प्राधिकरण गठन गरी काम अगाडि बढाइएको थियो । 

काँग्रेसको आगामी फागुन २० देखि २३ गतेसम्म हुने १३ औँ महाधिवशेन अन्तर्गत स्थानीय तहका अधिवशेन जारी रहेका बेला कोइरालालाई पुनः सभापतिका लागि प्रमुख दाबेदारका रुपमा हेरिएको थियो तर स्थानीय तहका अधिवेशन जारी रहेकै बेला कोइराला अचानक कसैसँग केही भन्न नपाई उनले आज सबैलाई छाडेर गए । 

स्वभावले त्यागी, इमान्दार र निष्ठावान् नेता कोइरालाले प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि लाभको सार्वजनिक पद ग्रहण गरेनन् । नेता कोइराला नेपालको राजनीतिमा चिरकालपर्यन्त अमर रहने विभिन्न नेताहरुले बताएका छन् ।

]]>