देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘आमा खण्डकाव्यमा’ दृष्टि छर्दा

देशान्तर

ममतामयी आमा नै धरा देखाउने, विश्व चिनाउने हुन् । यी महानतम् पनि छिन्– आफ्ना सन्तानका लागि । रुसका महान् साहित्यकार गोर्कीको ‘आमा’ (उपन्यास, सन् १९०७) ले त मलाई लाग्छ, रुसमा तानाशाही व्यवस्थाको अन्त्य र समाजवादी अक्टुबर क्रान्ति सम्पन्न गर्न योगदान पुर्‍यायो ।

‘आमा खण्डकाव्य’ अहिले मेरो हातमा आइपुगेको छ । यसको आवरणमा मेरा जोडी आँखा परे । त्यहाँ मातृवात्सल्यले सपक्क शिशु च्यापेकी, आमाको सौम्य तस्बिर आयो । पृष्ठ भाग पुग्दा त गोरा अग्ला कदका खण्डकाव्यकार, ज्ञाननिष्ठ ज्ञवालीको सुन्दर आकृतिको तस्बिर पनि झल्किँदै आयो । बाह्यमात्र होइन, अन्तर्यमा काव्यकारिता त्यत्तिकै झल्किँदै आएको छ ।

पहिलो दृष्टि गुल्मीमा छरेका ज्ञाननिष्ठ ज्ञवालीका कर्मथलो काठमाडौं राजधानी बन्यो । यी प्राध्यापन गर्ने ज्ञवाली कवि, समालोचक, बालसाहित्यकारर सम्पादकको परिचयबाटसुपरिचितै छन् । अहिले यिनमा झन् काव्यकारको अलङ्कार पनि जोडिन आएको छ ।

‘आमा खण्डकाब्य’ का कवि÷काव्यकार ज्ञाननिष्ठ ज्ञवालीका परिचय एवं अलङ्कार जोडिएका कृतिहरु यस्ता साक्ष्य हुन् जो आफै बोल्छन् :

‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’ (समालोचना,२०६१), ‘भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका (समालोचना,२०६३), ‘समालोचना पुष्प’ (समालोचना,२०७१), ‘भाषणकला’ (२०७१), ‘शिव एक रुप अनेक’ (२०७५), ‘शाकुन्तल महाकाव्य पूर्वीय दर्शन’ (समालोचना,२०७५), ‘बुद्धिको पाइला’ (कवितासङग्रह, २०७७) र ‘आमा’ (खण्डकाव्य, २०७८) प्रकाशित छन् ।
त्यस्तै यिनका बालकथा, गीति कविता, रचनाहरु जस्ता बालसाहित्यका १० वटा कृति प्रकाशित मात्र छैनन् । यिनले सम्पादन गरेका र पाठ्य पुस्तकहरु चार दर्जनका लहरमा छन् । यीबाट ज्ञाननिष्ठ समयनिष्ठ एवं कार्यनिष्ठ पनि हुन् ।

आठ सर्गमा विस्तृत यो काव्य वाटिकामा, उपजातिका दुई, अनुष्टुप छन्दका तीन र झ्याउरे (गीति लय) का तीन छन् । ५ देखि ३४ सम्मका १३७ काव्य यहाँ नृत्याङ्गना बन्दै आएका छन् ।

काव्यकारले नेपाल आमालाई काव्य र असारमा सृजना गरेझैँ धान रोप्दै मङ्सिरमा भित्र्याउँदा, हाम्रा कृषि श्रमजीवीहरु अत्यन्त खुसी हुन्छन् । त्यस्तो अवसरमा म तिम्रो अनन्त महिमा लेख्दै, तिमीलाई शिरमा देखूँ भनेका छन्ः

आमा तिमी काव्य बनेर आऊ
असारझै मङ्सिरमा सजाऊँ
अनन्त तिम्रो महिमा म लेखूँ
नेपाल आमा शिरमा म देखूँ
(सर्ग १ –१)

आमा, आमाकी पनि आमा (नेपाल आमाका) बहुआयामिक पक्षमा कविले महिमा गाएका छन् । स्वर्ग देखिँदैन दृश्यमा आउने त जन्मभूमि नै हो । मौरीसँग मह, हिमालसँग नौनी जस्तो हिउँ भए जस्तै पहाड, वन–वनस्पति, पर्या जोड्दै अन्न भकारी मधेस–तराई जस्तै आमासँग सबै पाइन्छ भनेका छन् । यहाँ राष्ट्रिय एकता, राष्ट्रप्रतिको अनुराग पनि झल्किँदै आएको छ :

मौरीसरि छ्यौ मह रित्तिँदैन
हिमाल नौनी हिउँ सिद्धिँदैन
पहाड पाखा वनकी छहारी
मधेशझैँ उन्नतकी भकारी
(सर्ग २–६)

कविले यहाँ माटोमुटु मिलाएको सिर्जनाबाट बाली झुलाएको, लटरम्म फलफूल फलाएकोमा आश्चर्य मात्र मानेनन् । यस्तो वरदान तुल्य सृजनाले आफ्ना जनता/सन्तानलाई खुसी पार्न, सुसेलीको सङ्गीतमा जनगीत गाउँदै आफ्नो सबै त्याग्यौ भनेका छन्ः

माटोमुटुमा कसरी मिलायौ
यो सिर्जनामा वरदान ल्यायौ
हाल्दै सुसेली जनगीत गायौ
सन्तानका निम्ति सबै गुमायौ
(सर्ग २–२१)

आमा, हजुरआमा, सासूआमा मात्र होइन । बुहारी, पनातिनी जस्ता मातृशक्तिसहित सबैलाई आमामा समाहित गरेका छन्–कविले । उनले आमा बन्ने भेद जति भए पनि रुपमा एकै हुन् भन्दै, विश्वआलोकमा हेरेका छन् । पौरस्त्य दर्शनले पनि ‘मातृवत् परदारेषु’ (परस्त्रीमा आमा देख्नु) भन्दै गाथा गाउँदै आएको छ ।

कवि नारीहरुको महिमागान गाउँदै, अहिले विभिन्न पद, प्रतिष्ठा, शक्तिमा मात्र छैनन् । पासाङ लामु शेर्पासहितका नारीहरुले सगरमाथा चुमीसके । नारीवादीहरु भाषण पनि छाँट्दै छन् । तर, अझै नारीहरु घर, परिवार, हाम्रो समाजमा दबिन, आलोचित हुन किन छाडेनन् ? भन्दै यहाँ व्यङ्ग्य कस्न पनि पछि परेका छैनन् ।

आमा इन्दिरा ज्ञवालीको जीवनीपरक चर्चा गर्दै, मुख हेर्ने दिन मात्र दिवस जस्तो मनाएर हुँदैन । सधैँ सम्मान गर्नु पर्छ भन्दै कविः

वैशाख कृष्ण औँसीमा तिम्रो
दिवस मनाउँछन्
त्यतिले मात्रै दिवस हुन्न
मान्दैन मेरो मन
(सर्ग ५–२६)

काव्यकारले यहाँ काव्य लेख्ने भए आमाकै रूपमा, जीवन्त हुँदा नै लेख्नुपर्छ । धर्ती छाडेपछि होइन भनेका छन् । बा–आमालाई समानताका आधारमा सेवा गर्दा, सन्तानलाई प्रेरित गर्छ भन्दै, वृद्धाश्रम पठाउनेलाई व्यङ्ग्य पनि गरेका छन् । यस्तो आदर्श चेतना झल्काउँदै सल्लाह पनि दिएका छन्ः

धर्ती छाडेपछि हैन
ज्यूँदै लेख्नुपर्छ
आमालाई ‘आमा’ देखी
काव्य लेख्नुपर्छ
(सर्ग ६–२)

विश्वलाई कोरोना कहरबाट कम्पायमान गराउँदा, कविले आमासँग भेट्न पाएनन् । त्यो पीडा टेलिफोनबाट कुरा गर्दै सल्लाह दिँदा,‘नमरे बाँचे कालले साँचे, छिटै नै भेटौँला’ भनेका यो मर्मस्पर्शी छ ।

कवि काव्ययात्रामा जीवन सङ्घर्षमय छ । जिन्दगीमा लक्ष्यको गन्तव्य चुम्न खट्नुपर्छ । जसरी सारङ्गी/गितारको तार नरेटी मधुर झङ्कार आउँदैन भन्दै छन्ः

सङ्घर्ष साधना गर्र्दै
जिन्दगी रेट्नुपर्दछ
गन्तव्य चुम्नका निम्ति
खट्नुहोस् खट्नुपर्दछ
(सर्ग ८–७)

उनी आमाप्रति अगाधमाया,श्रद्धा, झल्काउँदै,
आमाको महिमा गाएर कवि थाक्दैन भन्दैः
आमाको महिमा गाई
थाक्दैन कवि कयै पनि
जननी जन्मभूमिश्च
स्वर्गादपि गरी यसी
(सर्ग ८–२१)

भन्दै विट मार्दछन् ।

यो ‘आमा’ (खण्डकाव्य) को बिम्बमा जन्मभूमि र विश्वकै मातृत्वको सौन्दर्य आएको छ । यसमा भाषामा सरलताभित्रको गाम्भीर्यता, शैलीमा विविधता छ । त्यस्तै राष्ट्रप्रतिको अनुराग, संस्कृतिप्रति आस्था, जीवनवादी दृष्टि, साहित्यिक चेतजस्ता हुँदा, काव्यकारिताका दृष्टिमा पनि सुन्दर छ । लयविधान र भाषागत दृष्टिले कतैकतै, परिस्कृत गनै स्थान देखिन्छन् ।

अहिलेसम्म सम्पूर्णता कुनै मानिस, कार्य र सृजनमा देखिएको छैन । यो सृष्टिमा देखिँदैन पनि । त्यसैले अब आउने काव्य परिष्कृत हुँदै, क्याक्टसको सौन्दर्यमा आओस् शुभकामना ! यो उपयोगी पनि छ ।