September 19, 2021, Sunday
२०७८ आश्विन ३
ताजा अपडेट

मृत्युसँग जिस्किने गुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घनेन्द्र ओझा

Advertisement

गुरुराज घिमिरे भन्ने नाम सुनेर धेरैका सोचमा आउने अनुहार त्यही हो, जो साढे तीन दशकदेखि नेपाली राजनीतिक आन्दोलनमा अनवरत सक्रिय छ । विद्यार्थी आन्दोलनमा लामो समय व्यतीत गरेका गुरु घिमिरेले तत्कालीन राजा ज्ञानेन्द्रको महत्वाकांक्षी निरंकुश शासनका विरुद्ध एउटा ठूलै युवा पुस्तालाई लोकतन्त्रका पक्षमा उराल्न सफल पनि भए । उनै घिमिरे अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि छन् ।

राजनीतिमा युवा पुस्ताको नेतृत्वका विषयमा बहस गर्दै आएका घिमिरेको चिनारी बढीजसो राजनीतिक नेताकै रूपमा हुनु अनौठो होइन । तर, घिमिरे कुशल शब्दशिल्पीसमेत हुन् भन्ने कुरा कमैलाई थाहा होला । हालसम्म वैचारिक र साहित्यिक गरी आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका घिमिरेले नेपाली साहित्यमा पनि दह्रो उपस्थिति जनाइसकेका छन् ।

आफू राजनीतिक व्यक्ति हुनुको अर्थमा आफ्ना सिर्जनामा राजनीतिक विषयहरू नै बढी आउने उनको स्वीकारोक्ति छ । भन्छन्, ‘तर, आफैँ पनि राजनीतिक व्यक्ति भएकाले मेरा सिर्जनामा त्यो बेइमानी गर्दिनँ, जुन अर्कालाई हिलो छ्यापेर म सफा देखिऊँ ।’

अर्थात् वर्तमान राजनीतिक दुर्गन्ध, फोहोर, अराजकता, बेइमानीको एउटा कारक आफू पनि भएको तथ्यलाई घिमिरेले नकार्न चाहँदैनन् । आफूले पनि यो बेथिति, अराजकता र फोहोरलाई सुधार गर्न लागिरहेको तर नसकिरहेको उनको प्रष्टोक्ति छ ।
हो, यिनै र यस्तै विषय र सन्दर्भलाई साहित्यिक अभिव्यक्तिमार्फत कविताका मात्तयमले प्रकट गरेको भन्छन् घिमिरे ।
यसै क्रममा पछिल्लो समय घिमिरेले नयाँ कविताकृति ल्याएका छन्, ‘मृत्युसँगको साक्षात्कार ।’

एउटा अनौठो छ यो प्रकृतिको स्वभाव, मान्छे वा कुनै पनि प्राणी चाहेर जन्मिन सक्दैन तर नचाहेरै मर्न सक्छ । अथवा चाहेर जन्मिन नसक्ने प्राणी चाहेर मर्न भने सक्छ । दुनियाँमा सबैले मानिआएको ‘सत्य’ के हो भने, हरेक प्राणीको जीवनपछि मृत्यु अवश्यम्भावी छ । तर, कहिले, कुनबेला, के कारणले र कहाँ हुन्छ मृत्यु भन्ने यकिन चाहिँ छैन ।

मृत्युलाई शास्त्रहरू आनन्द, मोक्ष, मुक्ति आदि ठान्छन् । सायद मरेपछि यो सांसारिक गञ्जागोलबाट मुक्त हुने भएर हो अथवा पछिल्ला दिनमा दुःखको भार थेग्नु नपर्ने भएर हो । जो भए पनि मृत्यु मर्नेका निम्ति आनन्द होला, मोक्ष होला, मुक्ति होला तर बाँच्नेका लागि कसै प्रियजनको मृत्यु जीवनभरको पीडा पनि हो ।

यसबारे दर्शन दिनु यो लेखको आशय होइन । गुरुराज घिमिरेले लेखेको ‘मृत्युसँगको साक्षात्कार’ शीर्षकको कविताकृति हातमा परेपछि मेरो मस्तिष्कमा यी सन्दर्भ आएका मात्र हुन् ।

मृत्यु, फूल, जून, नदी, आमा, पियारी आदिलाई विषय बनाएर संसारमा अत्यधिक सिर्जना भएका छन् । उल्लिखित विषयहरूमा जुन संवेदना, सौन्दर्य, कोमलता, प्रेम छ, त्यो अन्य विषयमा सायदै छ । यस कारण पनि यी विषय कुनै न कुनै रूपमा साहित्यमा आउँदा रहेछन् ।

घिमिरेले पनि मृत्युलाई जोडेर सिर्जना गरेका छन् । उसो त, यिनका कवितामा मृत्युको सन्दर्भसँगै जीवनको आशाको उज्यालो पाटो, सुन्दर भविष्यको सपना, देश र जनताको सुख र समृद्धिको कामना, राजनीतिक, सामाजिक, सांस्कृतिक विचलन, बेइमानी, बेथितिको अन्त्यको चाहना, सुधार र परिवर्तनको अपेक्षा पनि प्रशस्त पाइन्छ ।

एउटा राजनीतिक व्यक्ति हुनुका अर्थमा उनले देश र जनताका लागि देखेका सपना, सोचेका योजना, गरेका कल्पना पनि सूक्ष्म रूपमा कवितामा आएका छन् ।

कृतिमा समेटिएका ४० वटा विभिन्न शीर्षकका कविताले नेपाल र नेपालीको वर्तमानको यथार्थ राम्ररी बोलेका छन् । केही कविता पुराना पनि छन् यसमा, तिनले त्यसबेलाको नेपाली राजनीतिक, सामाजिक परिवेश बोलेका छन् ।

अत्यन्त सरल भाषा शैली, प्रस्तुति र स्वाभाविक अनि सुपरिचित बिम्बहरूको प्रयोग गरिएका गुरुराज घिमिरेका कवितामा गीति स्वभाव पनि झल्किन्छ कतिपयमा । गद्यभित्रको लयमा पनि स्वाभाविक बगेका कवि घिमिरेले नेपाली साहित्यमा थपेको अर्को एउटा इँटा ‘मृत्युसँगको साक्षात्कार’का लागि घिमिरेलाई हार्दिक बधाई । अझ सशक्त र सुन्दर कृतिको अपेक्षा पनि ।

अन्त्यमा, कुनै पनि शासक वा राजनीतिज्ञले कला, साहित्य र संगीत बुझ्दैन भने उसमा हृदय हुँदैन, हृदय नभएको शासक इदी अमिन जस्तै हुन्छ । हामीलाई गुरु घिमिरे जस्तै हृदय भएका राजनीतिज्ञहरू चाहिएको छ, जसले फटाइँ, चुक्ल्याइँ, बेइमानी नगरून्– समाजमा, देशमा र संसारमै ।

२०७८ साउन १७ गते प्रकाशित देशान्तर साप्ताहिकबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •