काठमाडौं– राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।
उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो । मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए ।
प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।’
आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको समेत मुख्य प्रशिक्षक अल्मुताइरीले बताएका छन् ।
प्रतिक्रिया