देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असोजसम्म १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने सरकारको तयारी

देशान्तर

सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ ।

कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको जनाएको छ ।

सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको जनाएको छ ।