काठमाडौँ – नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव प्राप्त भएको छ । दक्षिण एसियाली फुटब महासंघ (साफ) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै आगामी अक्टोबरमा १३ औँ साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव राखेको हो । एन्फाले आइतबार यसबारे जानकारी गराएको छ ।
बंगलोदशले कोभिड-१९ महामारीका कारण साफ आयोजना गर्न नसक्ने बताएपछि नेपाल आयोजक बन्न तम्सिएको थियो । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता आयोजना गर्न आफूहरु तयार रहेको भन्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले साफ महासचिव अनवारुल हकलाई पत्र लेखेका थिए । त्यही पत्रको जवाफ एन्फाले प्राप्त गरेको हो ।यद्यपि आयोजकका विषयमा औपचारिक निर्णय भने एन्फाले विस्तृत प्रस्ताव पेश गरेपछि मात्रै हुनेछ ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । सन् १९९७ मा पहिलो पटक साफ च्याम्पियनसिप आयोजना गरेको नेपाल सन् २०१३ मा पनि आयोजक बनेको थियो ।
प्रतिक्रिया