देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीका हैसियतमा देउवाका चुनौति

देशान्तर

लोकेश ढकाल

मेरो आदरणीय सभापति श्री शेरबहादुर देउवा ५औं पटक मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । देउवाले नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुनुको नाताले म उहाँलाई हार्दिक वधाई प्रकट गर्दछु र विगतका विर्सन लायकका कार्य तपाईको यो कार्यकालमा हुने छैन र तपाईँले प्रधानमन्त्री पदबाट विदा हुँदै गर्दा म जस्ता नेपाली काँग्रेसका मेचीदेखि महाकालीसम्मका तमाम कार्यकर्ताले तपाईको कर्म र व्यवहारबाट गर्व गर्न सकुन्, आम जनताले तपाईँको जय जयकार गर्ने राजनीतिक वातावरण वनोस्– हार्दिक शुभ कामना ! जय नेपाल !

म जस्ता कार्यकर्ताहरूको शुभेच्छाले मात्र प्रधानमन्त्रीका रूपमा तपाईँको कार्यकाल सफल हुने होइन । पहिलो शर्त तपाईँलाई आफ्नै पार्टीको पूर्ण साथ र सहयोग चाहिन्छ, अर्थात गुटको मात्र हैन, सिङ्गो पार्टी पंक्तिको साथ । जसको साथ तपाईँ अलिकति लचिलो भैदिनु भयो भने पाइहाल्नु हुनेछ । त्योभन्दा महत्वपूर्ण जसको साथ र समर्थनबाट प्रधानमन्त्री बन्न सफल हुनु भएको छ, संसदको अभूतपूर्व समर्थन प्राप्त गर्नुभएको छ, ती राजनीतिक दल र शक्तिको निरन्तरको हार्दिकतापूर्ण साथ र समर्थन विना सरकारको कल्पना गर्न सकिन्न । तर देउवालाई सरकारको निरन्तरता र सफलताको लागि गठवन्धन दलको निरनतरको साथ सहयोगको चुनौति नै सबैभन्दा ठुलो चुनौति हो ।

पार्टी सभापतिका हैसिततमा शेरबहादुर देउवाको सफलता र असफलता, आसन्न महाधिवेशन, पुनः सभापति वन्ने प्रयाय आदिबारे तपाईका चुनौति र असफलताको वारेमा यो प्रसङ्गमा चर्चा गर्न गएको छैन । पार्टीको महाधिवेशन सम्पन्न गर्नु नै देउवाको सबैभन्दा ठुलो चुनौतिको रूपमा देख्दैछु । अब देउवाले चाहेर पनि भाद्र महिनामा नेपाली काँग्रेसको महाधिवेहन सम्भव छैन । महाधिवेशन नहुनुको दोष कसको थाप्लामा हाल्ने भनेर सोच्नुभन्दा कोभिड¬१९, मौसम र नेतृत्व र कार्यसमितिको अक्षमतालाई स्वीकार गरेर कुनै उपायले मंसीर महिनामा महाधिवेशन गर्नेगरी अहिलेलाई सरकारको वाग्डोरको रस्सी बलियोसँग कस्नेतर्फ नै देउवाको ध्यान जान जरूरी छ । यो प्रसङ्ग यति मै ।

संसदको समर्थनका दृष्टिले शक्तिशाली प्रधानमन्त्री त वन्नुभयो तर शक्तिशाली प्रधानमन्त्री हुँदैमा सफल प्रधानमन्त्री भइन्छ भन्ने हुँदैन । यो राजनीतिक यथार्थलाई जान्न धेरै मन्थन र दुनियाँको उदाहरण खोज्दै हिड्न पर्दैन, पछिल्लो करिव साँढे ३ वर्षको ओलीको शासनकाललाई मात्र हेरे पुग्छ । संसदमा नेकपा एक्लैको झण्डै दुई तिहाईको समर्थन थियो, अत्यन्त सहयोगी शान्त प्रतिपक्षी दल थियो । सरकारले कहीँ कतैबाट विरोध, असहयोग र राजनीतिक चुनौतिको सामान गर्नु परेको थिएन । आफ्नै दललाई सम्हाल्न नसक्दा प्रधानमन्त्री पदबाट दयनीय शैलीमा विदा हुनु प¥यो, ओलीले । आफ्नै दलको राजनीतिक सन्तुलन कायम गर्न नसकेर ओली नराम्रोसँग सत्ताच्युत हुन पुगे भने अहिलेको सरकार त विभिन्न दलको गठवन्धनको टेकोमा अडेको छ, यस्तो अवस्थामा देउवालाई चरम राजनीतिक चुनौति हुने नै भयो ।

निश्चयः नै प्रधानमन्त्रीका हैसियतमा देउवाको आगामी दिन सजिलो छैन । सत्ता घटकका सबै दलको मागलाई सम्बोधन गरेर मन्त्रिपरिषद्को गठन गर्नु नै पहिलो चुनौति देखिंदैछ । चार जना मन्त्रीलाई साथ लिएर प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री देउवाले झण्डै दुई हप्ता पुग्नै लाग्दासम्म्म गठवन्धन घटकको राजनीतिक सकस कै कारण मन्त्रीपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड समकालिन नेपाली राजनीतिका सबैभन्दा चतुर र धुर्त राजनीतिक खेलाडी मानिन्छन् । आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थमा जुनसुकै वेला राजनीति अडान फेर्न सक्ने, क्रम–भङ्ग गर्न सक्ने, धोका दिन सक्ने नेता हुन उनी । प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई धोका दिए, १६ बुँदै सम्झौता गरी आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता गरेका प्रचण्डले देउवालाई बीचमा नै धोका दिएर ओलीतिर लागे । प्रचण्डलाई धुलिसात गरिदिएको ओलीले मात्र हो । ५ वर्षीय कार्यकालमा आधा प्रधानमन्त्री वन्ने सर्तमा ओलीसँग नाटकीय ढङ्गले राजनीतिक अंकमाल गर्न पुगेका प्रचण्डले ओलीले प्रचण्डलाई प्रधानमन्त्री वन्न दिएनन्, प्रचण्डले सरकारलाई नियन्त्रण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको कुरा उठाए, ओलीले सुन्या नसुन्यै गरिदिए । ओलीले प्रचण्डसहित माधव नेपाललाई सडकमै पछारे पछि, सर्वोच्च अदालतको ११ फागुनको आदेशले एमाले र माओवादी एकताको खारेजी र ओलीको असंवैधानिक तवरमा दुई पटक गरिएको संसंद विघनको प्रस्तावलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि विकसित भएको राजनीतिक परिस्थितिमा प्रचण्ड, माधवहरू उपेन्द्र यादव र डा. भट्टराई आफ्नै अस्तित्व कै सवालमा शक्ति सञ्चय गर्नको लागि रणनीतिक तहमा वाध्य भएर देउवाको शरणमा आइपुगेका हुन् र देउवालाई प्रधानमन्त्री वनाउन तयार भएको हुन् । यीनीहरू देउवालाई मन पराएर, काँग्रेसलाई माया गरेर देउवाको नेतृत्वमा राजनीतिक गठवन्धन र सत्ता शेयर गर्न आईपुगेका होइनन् । प्रचण्ड लगायतले आफ्नो सअर प¥यो वा राजनीतिक रूपमा हात माथि प¥यो भने कुनै पनि दिन पुनः धोका दिन सक्छन् भन्ने कुराको हेक्का प्रधानमन्त्री देउवामा सदा रहन जरूरी छ ।

मेरा परम आदरणीय सभापति देउवाजी विगतमा चार पटक गरेर पुरा ४ वर्ष प्रधानमन्त्री वनिसकेका अनुभवी राजनीतिज्ञ हुन् । उनले एक पटक आफ्नै पार्टीको बहुमतको सरकार र बाँकि ३ गठवन्धन सरकारको नेतृत्व गरिसकेका छन् । पछिल्लो संसदीय निर्वाचनमा देउवा आँफैले नेतृत्व गरेको सरकारले निर्वाचन गर्दा २७५ को प्रतिनिधि सभामा नेपाली काँग्रेसले केवल ६३ सिट मात्रै आफ्नो पक्षमा पार्न सकेका थिए । संसदमा झण्डै दुई तिहाई सिटका साथ नेकपाको शक्तिशाली सरकार थियो । स्थिरताको नारा दिएर गठन भएको शक्तिशाली नेकपा सरकार ३ वर्ष ४ महिनामा नै धारासायी हुन्छ र कमजोर प्रतिपक्षी दलले सरकारको नेतृत्व गर्ने अवसर पाउँछ भनेर राजनीतिका धुरन्धर पण्डितहरूले पनि कल्पनासम्म गर्न सकेका थिएनन् भने देउवाले सामान्य आशा पनि गरेका थिएनन् । पछिल्लो राजनीतिक परिस्थितिमा समेत देउवा प्रधानमन्त्री वन्नका लागि व्यग्र थिएनन् । प्रधानमन्त्रीका हैसियतमा पहिलो पटक पौष ५ गते ओलीले संसद विघटन गरेपछि अदालतले प्रधानमन्त्रीको सो कदमलाई खारेज गरेपछि विकसित भएको राजनीतिक परिस्थितिमा देउवालाई प्रधानमन्त्री वन्न अग्रसर हुन पार्टीभित्र र वाहिरबाट व्यापक दवाव थियो । प्रचण्ड, माधव नेपाल, बावुराम–उपेन्द्र यादव प्रधानमन्त्री वनिदिन अनुनय–विनय गर्दै बुढानिलकण्ठ धाइरहेका थिए तर त्यसको वावजुद पनि देउवाले प्रम वन्नका लागि चासो दिएनन् । तर नियतिको खेल भनौ वा देउवाको भाग्य नै भनौं, प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको संसद विघटनको कदमलाई सम्मानित सर्वोच्च अदालतले दोस्रो पटक खारेज गरिदिएपछि शेरबहादुर देउवा व्यक्तिगत हैसियतमा ५औं पटक र मुलुकको ४३ औं प्रधानमन्त्री वन्न सफल भए ।

प्रधानमन्त्री वन्न सफल हुनु र सफल प्रधानमन्त्री वन्नु नितान्त फरक प्रसङ्ग हो । प्रधानमन्त्री वनिदैमा लोकप्रिय प्रधानमन्त्री भइदैन । कति वर्ष वा कतिपटक प्रधानमन्त्री भयो भन्ने कुराको खास अर्थ छैन । प्रधानमन्त्री भएर देशका लागि के काम गर्‍यो, प्रधानमन्त्रीको कर्म र व्यवहारले जनतालाई कति छोएको छ भन्ने कुरा महत्वपूर्ण हो । गिरिजाप्रसाद कोइराला संभवतः ०७ साल पछि अहिलेसम्म सबैभन्दा लामो समय र धेरै पटक प्रधानमन्त्री वन्ने व्यक्ति हुन् । उनको अगुवाईमा नेपालमा ठुला राजनीतिक परिवर्तन पनि भए तर उनलाई नेपालीजनले कति मनमा राखेका छन् ? तर उनैका दाजु बीपी कोइराला केवल १८ महिना प्रधानमन्त्री वन्नुभयो तर पाएको त्यही १८ महिनामा नेपाललाई दुरगामी असर गर्ने, देश र जनताको पक्षमा सबैभन्दा बढी काम गरेर जानुभयो । तथापि प्रधानमन्त्री कै हैसियतले मात्र बीपीलाई जनजनले सम्झने होइनन् । जीवनभर कस्ट र संघर्षको बाटो रोजेर नेपाली राजनीतिलाई एउटा स्पष्ट बाटो देखाउनु भएको कारणले नै आधुनिक नेपाली राजनीतिमा बीपी कोइरालाको उचाईको अर्को व्यक्ति अहिलेसम्म जन्मन सकेको छैन ।

देउवालाई बीपी, किसुनजी, गणेशमानजीसँग तुलना त गर्न सकिन्न तर अब जीवनको यो क्षणमा आएर पार्टी र आफ्नै राजनीतिक छविलाई माथि उठाउन देश र जनताको पक्षमा उभिएर केही त गर्नुहोस् भनेर अलिकति आशा त गर्न सकिन्छ नि ! देउवाजी विगतमा ४ पटक मुलुकको प्रधानमन्त्री बन्नुहुँदा पार्टीका साथीहरूको प्रधानमन्त्री वन्नु भो, आफ्ना गुट र निकट मानिसका लागि प्रधानमन्त्री वन्नु भो, परिवारका लागि प्रधानमन्त्री वन्नु भो । अब कृपा गरी यी कसैका लागि प्रधानमन्त्री नवनिदिनुहोस् । केवल देश र जनताको प्रधानमन्त्री वनिदिनुहोस् । यति गरिदिनु भो भने तपाईलाई भोली देशले सम्झने छ, नेपाली जनजनले सम्झनेछन् ।

जनता सानोसानो कुराले पनि कति खुशी हुने रहेछन् । तपाईँ प्रधानमन्त्री वनेपछि विगतका परम्परालाई तोड्दै प्रधानमन्त्रीको सरकारी निवासमा अबदेखि पार्टीको वैठक वस्ने छैन भनेर एउटा सानो सकारात्मक निर्णय गर्नुभयो । यो त्यति ठुलो निर्णय नहोला तर यसले जनतामा कति सकारात्मक प्रभाव पार्‍यो । यस्तै यस्तै साना ठुला जनतामा मन छुने काम गर्दै जानुहोस् निश्चय नै तपाई प्रधानमन्त्री कतिसम्म टिक्न सक्नुहुन्छ त्यो भन्न सकिन्न तर लोकप्रिय प्रधानमन्त्री चाँही अवश्य वन्न सक्नुहुने छ ।
साउन १०, देशान्तर साप्ताहिक