देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४४ जिल्लामा काँग्रेस सभापति छानिए

देशान्तर

काठमाडौँ। चवालिस जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ गते सभापति सुशील कोइरालाको निधन भएका कारण माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो । 

बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेको गाउँ अधिवेशन सुरु भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । ती जिल्लामा मङ्गलबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु भएको हो । 

“तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिराहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा क्षेत्रीय अधिवेशन सकी जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको छ”– सचिव पराजुलीले भने ।  

बाँकी ३१ जिल्लाको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको काँग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  “फागुन २० गतेदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देशन दिइएको हो”–उनले भने ।  

अहिलेसम्म ६५ जिल्लाका २१० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै आज बिहीबारसम्म सम्पन्न ४४ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला बोक्सिङ, झापामा उद्वव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जलप्रसाद बराल र धादिङमा रमेश धमला छन् । 

यसैगरी, काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा बैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रजाक जिल्ला सभापतिमा विजयी भएका छन् ।  

यस्तै, मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तुमा सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालिकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी गराएको छ । 

तेह्रथुममा गोविन्दप्रसाद ढुङ्गाना, काठमाडौँमा कृष्ण (सबुज) बानियाँ, ललितपुरमा मदन अमात्य, चितवनमा जीतनारायण श्रेष्ठ, पर्वतमा खिमप्रसाद भुसाल, रुकुममा प्रेमप्रकाश ओली, रोल्पामा अमरसिंह पुन र बर्दियामा सञ्जय गौतम सभापतिमा निर्वाचित भएका छन् । 
त्यस्तै सङ्खुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले थप प्रक्रिया अघि बढेको छ । 
झापाका थापा, पाल्पाका राना र अर्घाखाँचीका खनाल सर्वसम्मत सभापति चुनिएका छन् । 

]]>