देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा खुकुलो हुँदा कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शैंयालगायत पूर्वाधार तथा सेवाहरु चुस्त–दुरुस्त राख्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरुलाई तयारीमा रहन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले पछिल्लो समय अपेक्षाकृत कोभिड–१९ को संक्रमण नघट्नुलाई तेस्रो लहरको जोखिमको रुपमा जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैंयालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नु हुन अनुरोध समेत छ’ मन्त्रालयले भनेको छ ।

पछिल्लो एक हप्तामा नेपालका विभिन्न जिल्लामा संक्रमणदर बढ्दो देखिएकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ । पछिल्लो साता नेपालका १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ भने २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

हेर्नुस् विज्ञप्ती