देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकर्ताको चाहना कार्यक्रमसहितको नेतृत्व

देशान्तर

चन्द्र महर्जन
‘गाउँ पस्यो कांग्रेस’ गएका केही दिनमा प्रकाशित अखबारका शीर्षकमध्येको एउटा हो यो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सन्दर्भमा र यसको एक हप्ताभरि चलेको स्थानीय अधिवेशनका सन्दर्भमा कांग्रेस इतरबाट कस्ता दृश्यहरू देखे–लेखे भन्ने यो एउटा उदाहरण हो । वास्तविकता पनि यस्तै थियो । यो बेला अधिकांश कांग्रेसी गाउँमै थिए, ती सुगम हुन कि दुर्गम ।

ती अखबारमा शबदमात्र लेखिएन तस्बिरहरू पनि त्यसरी नै प्रस्तुत भए । एउटा ठूलो उत्सव मनाउन समग्र गाउनै उल्टिएर कांग्रेसको यो महामेलामा आएजस्तो । लर्को कतिसम्म भने तिनै तस्बिरमा देखिएअनुसार चारतारे झन्डा बोकेर वृद्धदेखि वय उमेरका व्यक्तिहरूको ताँती क्यामराको लेन्समा अटाए जति कायमै छ र त्यहीनेर अर्को त्यस्तै ताँती डाँडापारिबाट पनि आइरहेको छ भन्ने सन्देश दिइरहेको छ ।

यो एउटा उत्साह र चुनौती हो नेतृत्वका लागि । आम र अझ तल्लो तहमा रहेका कांग्रेसीहरूले यो महाधिवेशनलाई कसरी लिइरहेका छन् भन्ने यी दृश्यहरू आफैंै बोल्छन् । केवल तिनका भाव र अन्तरमनलाई संयोजन गर्नमात्र आवश्यक छ र यहीँबाट प्रश्न उठ्छ कांग्रेसको यो पुँजीको संरक्षण होला ?   

अखबारमा कांग्रेस

कांग्रेसको महाधिवेशन सुरु भएपछि सञ्चार माध्यममा यो दल यति धेरै छायो जसले यसप्रति आमतहमा कुन हदसम्मको चिन्ता, चासो र यसले निर्वाह गुर्नपर्ने भूमिकाका बारे प्रतीक्षा गरिरहिएको रहेछ भन्ने बुझाउँछ । यसमा प्रस्तुत भएका सुझाव र विगतमा गर्नुपर्ने तर नगरिएको कुराका बारे जसरी आंैल्याइएको छ त्यतिलाई मात्र हेरियो, पढियो भने अबको नेतृत्वले के गर्नुपर्ने रहेछ भन्ने एउटा चित्र प्रकट हुन्छ । स्थानीय तहका अधिवेशन चलिरहेका बेलाका दुई दिनका त्यस्ता राय सुझाव र टिप्पणीका केही नमुना शीर्षक :

नेपाली कांग्रेसको चुनावी यात्रा– सिद्धान्त, कार्यक्रम र संगठन विस्तारबारे छलफल भएको सुनिएन । पुरुषोत्तम दाहाल, गोप १९ ।

कांग्रेस लोकतान्त्रिक पार्टी हो ?  समावेशी पार्टीको भावी सभापतिले दृष्टिकोण शून्य र एजेन्डाविहीन आन्तरिक प्रतिस्पर्धामा जानु सबैभन्दा ठूलो अलोकतान्त्रिक अभ्यासमा रमाउनु हो । ध्रुव सिम्खडा कान्तिपुर १९ ।

कांग्रेसविनाको कांग्रेस– कथित गुटको सेवाको नाममा हामी कांग्रेसीबिनाको कांग्रेस निर्माण गरिरहेका छौं । कांग्रेसबिनाको कांग्रेसले कांग्रेसलाई कहाँ पुर्‍याउँला ? लक्ष्मीकिशोर सुवेदी हिमालय टाइम्स १९ माघ ।

कांग्रेसमा कम खराबको खोजी– डा. सुभास पोखरेल नागरिक, १९ माघ ।

कांग्रेसमा भागबन्डाको अन्त्य– नेपाली कांग्रेसको स्थापना मुलुक जटिल संक्रमणकालमा रहेका बेलामा भयो । नेतृत्वले देखाएको सुझबुझले त्यसबेलाको संकटलाई सहजै पार लगाउन सकियो । तर, अहिले पार्टीका शीर्ष तहका नेताले त्यो सुझबुझ देखाउन सकिरहेका छैनन् । बीपी कोइरालाले अन्तिम अवस्थामा भन्नुभएको थियो, ‘नेपाली कांग्रेसका कार्यकर्तालाई त्यो घडी आउनेछ, अब नेपाली कांग्रेस भन्ने पार्टीलाई कसरी बचाउने ? देशमा देखिएको संकटबाट देशलाई कसरी मुक्त गर्ने ? त्यो बेलामा कांग्रेसका नेता–कार्यकर्ताले आफू जुन ठाउँमा उभिएको छ, त्यही ठाउँको माटो आफ्नो मुठीमा लिएर, सहिद र नेपाल आमालाई सम्झेर जे निर्णय गर्नु छ, गर्नू ।’ –कुलबहादुर गुरुङ, नयाँपत्रिका २० माघ ।

नेपाली कांग्रेस १३ औं महाधिवेशन : वैचारिक बहसको अपेक्षा गणेश अधिकारी, राजधानी २० माघ ।

कांग्रेसको पुनर्जीवनका सर्तहरू– भागबण्डे राजनीतिको रटानमा सबैभन्दा नजिकको आनुवंशिक उत्तराधिकारी को छ ? भनेर नेतृत्व चुन्ने शास्त्रीय प्रतिस्पर्धात्मक खेलमा अभ्यस्त कांग्रेसले देशको मुहार बदल्ने जिम्मेवारी बहन गर्न सत्तैmन । राजधानी, २० माघ । 

पार्टी कार्यालयको कल्पना

नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो पार्टीको कार्यालय कसरी चलोस् भन्ने चाहेका होलान् ? त्यसको एउटा नमुना प्रस्तुत गरेका छन स्वर्णिम वाग्ले (योजना आयोगका पूर्वसदस्य) ले । यसलाई एउटा प्रतिबिम्ब नै मानौं यति गर्न सकिन्छ कि सकिँदैन सोचौं । यो पंक्तिकारको भनाइ चाहिँ यो असम्भव होइन नगरी नहुने काम हो जो अबको नेतृत्वले प्रस्ताव गरोस् । त्यो यस्तो छ :

नेपाली कांग्रेसजस्तो मुलुककै जेठो र ठूलो पार्टीको केन्द्रीय कार्यालय हमिङ (गुनगुनाइरहेको) हुनपर्छ, मतलब त्यहाँ एक्टिभिटी भइरहेको हुनपर्छ । रिसेप्सनमा फोनको घन्टी बजिरहेको, कम्प्युटर/फोटोकपी मेसिन चलिरहेको, सभाकक्षमा बहस/छलफल । पदाधिकारीको अधिकांश भेटघाट केन्द्रीय कार्यालयमा हुनुपर्छ । पदाधिकारीको त अपोइन्टमेन्ट निश्चित हुनपर्छ । उनीहरूले क्यालेन्डर बनाएर, त्यसअनुसार काम गर्नुपर्छ । कांग्रेस लामो इतिहास बोकेको गौरवशाली पार्टी हो । अफिसको भित्ता स्थापनाकाल (२००३ साल) देखिका महत्वपूर्ण फोटोहरू सजिएका फ्रेमले भरिएका हुन्, छिर्दा म्युजियम जस्तो लागोस् । त्यहाँ गज्जबको लाइब्रेरी होस् । कांग्रेसको इतिहास यस्तो छ, म्युजिअम पनि बनाउन सकिन्छ । महत्वपूर्ण दस्तावेजहरू राखिनुपर्छ । २०१२ सालको वीरगन्ज घोषणापत्रको दस्तावेज, २०१५ सालको चुनाव घोषणापत्र आदि । बीपीले सशस्त्र क्रान्ति आह्वान गर्दा जारी गरेको विज्ञप्ति, राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा जारी गरेको विज्ञप्ति म्युजियम/लाइब्रेरीमा होस् । बीपी, सुवर्णशमशेर, गणेशमान आदिको भाषण वा अरू गतिविधिको भिडियो, अडियो होस् । अवलोकनकर्ताले ती हेर्न, सुन्न पाउन । टिकट काटेर अवलोकन गर्न पाइने बनाउन सकिन्छ । संकलन गर्न नसकिने कुरै छैन । बीपी, सुवर्णशमशेर, गणेशमान आदिका नाममा हलहरू हुन् । बिल्डिङले नै इतिहास भनिरहेको होस् । यसका लागि स्रोत पारदर्शी गरेर, खर्च पारदर्शी बनाउन सकिन्छ । यस्तो अफिस बनाएपछि काम पनि त्यसैअनुसार हुने ग्यारेन्टी हुनपर्‍यो । पार्टी कि सरकारमा हुन्छ, विपक्षमा हुँदा पनि सरकारमा जान कुरिरहेको हुन्छ । यसैले गृहकार्य भइरहेको हुन्छ । यसैले पार्टीमा समसामयिक मुद्दामा अध्ययन, अनुसन्धान बहस भइरहनुपर्छ । यसका लागि ‘रिसर्च विङ’ अनिवार्य हुनुपर्छ । पार्टी सरकारमा गएपछि चाल्नुपर्ने कदमबारे पार्टीमा पहिले नै गृहकार्य भइसकेको हुन्छ । यसैले सरकारमा जानासाथ फटाफट दीर्घकालीन महत्वका नीतिगत निर्णय लिने गर्छन् । यहाँ पनि यस्तो अभ्यास सुरु गर्न ढिलो भइसक्यो । निर्वाचित नै शक्तिशाली हो । पार्टी केन्द्रीय समितिभन्दा संसदीय दल पावरफुल हुनपर्छ । लोकतन्त्रमा चुनाव हार्नेको भाउ हुँदैन ।

पार्टी नै गुनगुनाउने कुरा

कांग्रेस बाहिरबाट आएको यो सुझावमा पार्टी कार्यालय सधंै गुनगुनाइरहेको पाइयोस् भन्ने छ तर कांग्रेसभित्रको कुरा चाहिँ पूरै पार्टी नै यसरी नै गुनगुनाउनुपर्छ भन्ने छ । स्थानीय तहका अधिवेशनको चाहना हो यो । अधिवेशनमा सहभागिता जति उत्साहपूर्ण रह्यो त्यसको पनि सन्देश यही हो ।

केही अपवादबाहेक स्थानीय तहमा जति शान्तिपूर्ण रूपले र तोकिएकै दिन यी अधिवेशनहरू सम्पन्न भए अरू दलको तुलनामा यो अनुकरणीय नै हो । कांग्रेसका समकक्षी दलहरूको यसअधि सम्पन्न महाधिवेशन सम्झौं । अर्को पक्ष हो आन्तरिक लोकतन्त्रको ठूलो अभ्यास । सबै गाउँ नगर र क्षेत्रमा विधिपूर्वक नै निर्वाचन भए । जितहारको कुरालाई भित्रैदेखि आत्मसात् गरियो । पद्धतिगतरूपले नै स्थानीय तहको नेतृत्व छानियो । आन्तरिक प्रतिस्पर्धालाई अत्यन्त सहज मानियो । अर्को झन् उल्लेख्य कुरा हो केही प्राविधिक बाहेक यो अभ्यासमा जहातही जति सदस्य थिए ती सबै उपस्थित भए । यी सबैको भावना एउटै रहेको पाइयो– कांग्रेसजस्तो ठूलो र एउटैमात्र लोकतान्त्रिक दल हो अब यसले अरूका लागि पनि उदाहरणीय बन्नुपर्छ । यो काम कसरी लोकतान्त्रिक भयो भन्ने कम्तीमा अरू कसैले औंला उठाउन नपाऊन् ।

पार्टी सधैं गुनगुनाइरहनु भनेको यसका समग्र अवयवहरू पूर्णरूपले परिचालित हुनु हो । केन्द्रमात्र होइन क्रियाशील सदस्यसम्म, क्रियाशील भन्ने नामले नै उनको निरन्तर क्रियाशीलता जनाउँछ । त्यसो हुनका लागि केन्द्रदेखि गाउँसम्म नै ठोस कार्यक्रम चाहिन्छ । अर्को हो केन्द्रका निकायहरू तुरुन्तै भरिउन र तिनले काम थालिहालुन् । झन्डै चार दर्जन जति निकाय छन् कांग्रेसका । यी सबै महाधिवेशन लगत्तैपछि देखि पूर्ण भएर परिचालित हुन थाले भने नीति र कार्यक्रमका दृष्टिले सम्भवत: अरू दलले काम गर्ने ठाउँ नै नरहला । माध्यमहरू यसैका वरिपरि रहनेछन् । कुनै निकाय त्यसरी परिचालित हुँदाका अवस्थामा यस्तो भएको विगतको उदाहरण छ । भ्रातृ संस्थालाई मात्रै नियमित गरियो भने एक वर्षमा यसका निकाय वर्षैंपिच्छे र कतिपय अवसरमा त वर्षका दुईवटासमेत यस्ता कार्यक्रम हुन्छन् । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ आदि । यिनले राष्ट्रको ध्यान सधैं आफूतिर खिचिरहेका हुन्छन् र कांग्रेस कहिल्यै कार्यक्रमविहीन रहँदैन । कुनै पनि राजनीतिक दल त्यो जस्तोसुकै होस्, निरन्तर कार्यक्रम सञ्चालन भयो भने त्यसले देशलाई गति नदेला भनी मान्न सकिँदैन । जस्तो यो तेह्रौं महाधिवेशनको सन्दर्भ जहिलेदेखि सुरु भयो त्यसैबेलादेखि अखबारका मूलपाना यसकै सेरोफेरोमा जसरी घुमिरहेका छन । यी गर्नै नसकिने कुरा होइनन् । त्यसैका लागि निकायहरू प्रस्ताव भएका हुन् ।

स्थानीय तहका अधिवेशनहरूमा उठेका कुरालाई आधार मान्ने हो भने विगतमा जे भयो भयो अब चाहिँ र अझ यो महाधिवेशनमा नेतृत्वको दाबीकर्ता जो कोहीले पनि अबको चार वर्ष अर्थात् यो अवधिमा आफूले गर्ने काम कुराहरू प्रष्ट पार्नै पर्छ । त्यसले कार्यकर्तालाई उत्साहित बनाउँछ र आफ्नो छनोटको औचित्य पनि सावित गराउँछ । स्थानीय तहकै नेतृत्वको दाबीकर्ताहरूसँग यो कुरा खोजियो भने केन्द्र त्यसबाट अछूत रहँदैन, रहनु हुँदैन पनि । त्यसै पनि नेतृत्वको दाबी भनेकै दललाई अवका चुनौतीसँग भिड्न सक्ने बनाउनु हो भन्ने कुरा त भनिँदै आइएको छ । पत्रपत्रिकामा आएका कुराले पनि देखाउँछ नीतिमाथि छलफल भएन । कांग्रेसको नीति लोकतन्त्रको संवद्र्धन हो । उसकै नीतिको सेरोफेरोमा संविधान बनेको छ । अलोकतान्त्रिक पद्धतिका प्रस्तावकहरूको संख्या ठूलो हुँदा पनि यसले देशमा लोकतान्त्रिक मूल्य र मान्यताकै संविधान आयो, कांग्रेसका नीतिका कारण । खाँचो हो कार्यक्रमको । यो नेतृत्वका अगाडि धेरै ठूला चुनौती छन् । पटकपटक भनिसकिएको छ यही कालमा तीनवटा महानिर्वाचन सम्पन्न हँदैछन् । यसको अर्थ हो कांग्रेस आममासमा जानुपर्ने अवस्था छ । त्यसलाई हाँक्ने भनेको कार्यक्रमले नै हो जुन स्थानीय तहमा त खोजियो भने केन्द्र अपवाद रहँदैन । त्यसमध्येको पहिलो कार्यक्रम भनेको पार्टीलाई गुनगुनायमान बनाउनु ।

(लेखक ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् ।)   

 

]]>