काठमाडौँ । राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस प्रसव वेदनाका साथ १३ औँ महाधिवेशनमा होमिएको छ ।
पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइरालालाई असामयिक रुपमा गुमाउनुपर्दा उसका लागि यो महाधिवेशन शोकलाई शक्तिमा रुपान्तरित गर्ने महाधिवेशन बन्न पुगेको छ । पार्टीको आन्तरिक जीवनलाई पुनर्ताजगी गर्ने ठानिएको यो महाधिवेशनले अनुमोदन गर्ने नीति र नेतृत्व कस्तो होला भन्ने विषयले आम समुदायको ध्यान खिचिरहेको छ ।
भारतको कलकत्ता भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसको रुपमा पहिलो महाधिवेशन सम्पन्न गरेको काँगेस हरेक राजनीतिक आन्दोलनको अगुवा, नेतृत्वकर्ता तथा साक्षी बन्दै आएको छ । विसं २००६ चैत २७ गते सम्पन्न महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसलाई एकीकरण गरी नेपाली काँग्रेसको जन्म गराएको थियो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उसका आदर्श र सिद्धान्त हुन् । नीति र नेतृत्वभन्दा जनता सार्वभौम हुनुपर्छ अनि मात्र सही मानेमा प्रजातन्त्र हुन्छ भन्ने नेकाले पाँच दशकभन्दा बढी समय संवैधानिक राजतन्त्रको पक्षमा आफूलाई उभ्यायो ।
संवैधानिक राजतन्त्रबाट प्रजातन्त्रका नाममा अनेकन उतार चढाव देखेको र भोगेको नेकाले अन्ततः आफूलाई गणतन्त्रको पक्षमा आफूलाई उभ्यायो । खासगरी विसं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि नेका र राजतन्त्रको सम्बन्ध टुट्यो । विसं २०६४ मा भएको महासमिति बैठकले संवैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्न पुग्यो ।
प्रजातान्त्रिक आन्दोलनको प्रमुख शक्तिका रुपमा आफूलाई उभ्याउँदै आएको नेकाले आधुनिक नयाँ नेपालको निर्माण गणतन्त्रबाट मात्र हुन्छ भन्नु नयाँ राजनीतिक परिघटना थियो । परिपक्व, खारिएका र जनतामा भिजेको नेकाका नेतृत्व हुँदा त्यो परिघटनाको सार्थक रुप नै जनताको संविधान रुपमा नयाँ संविधान आउनुलाई मान्न सकिन्छ ।
राणा शासन, पञ्चायती शासन र सक्रिय राजतन्त्र ९विसं २०५९ पछि० विरुद्धका आन्दोलनको नेतृत्व नेकाले गरिसकेको छ । विसं २०६२÷६३ पछि बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा तत्कालीन माओवादीलाई ल्याउन नेकाले खेलेको भूमिका अर्को ऐतिहासिक काम हो ।
स्थापनाकालदेखि नै आफ्नो सिद्धान्त, आदर्श र लक्ष्य प्राप्तिको सङ्घर्षमा नेका कहिल्ये विचलित भएन र यसबाटै उसको साख जोगिएको हो ।
विसं २००३ देखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकन चरण पार गरिसकेको छ नेकाले । विसं २००३ को विराटनगरको मजदुर आन्दोलन, २००७ को क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन र २०६२–६३ को लोकतान्त्रिक आन्दोलनसम्म नेका सधैँ जनताको उन्मुक्ति र स्वतन्त्रताको सङ्घर्षमा नेतृत्वदायी भूमिकामा रह्यो । सार्वभौमसत्ता सम्पन्न जनताको पक्षमा सधैँ आफूलाई उभ्याई रह्यो ।
तत्कालीन अवस्थामा जहानियाँ राणाशासनलाई समाप्त गरी नेपाललाई स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक राष्ट्रका रुपमा विकसित गर्ने लक्ष्यका साथ २००३ साल कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन भएको थियो । यसमा विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी, सुब्बा देवीप्रसाद सापकोटालगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसभित्र गरिएको सङ्गठित प्रयासको निरन्तरता र चेतनाकोे विस्तारले २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काँग्रेसको जन्म दियो । त्यसै सम्मेलनलाई नेपाली काँग्रेसको प्रथम राष्ट्रिय महाधिवेशन मानिन्छ ।
महाधिवेशनले तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्यलाई सभापतिमा निर्वाचित ग¥यो । विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति बन्नुभयो । राणाशासन समाप्त गर्ने वैधानिक सङ्गठनको रुपमा गठित उक्त समितिमा बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायतले जिम्मेवारीपूर्ण नेतृत्व लिनुभयो ।
नेपाली राष्ट्रिय काँग्रेसको गठनसँगै यसको आह्वानमा २००३ साल फागुन २० गते पहिलोपटक भएको विराटनगरमा भएको मजदुर हडताललाई अधिकारका लागि गरिएको सङ्घर्षका रुपमा नेपाली राजनीतिमा स्मरण गरिन्छ । नेपाली राजनीतिका शिखरपुरुष काँग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई तत्कालीन समयमा मजदुरले आन्दोलनको अध्यक्ष निर्वाचित गरे ।
बिपी र गणेशमानको प्रत्यक्ष सहयोगमा गरिएको हडताल दबाउन राणाले बिपीलाई उनका आमा, बहिनी र मजदुर नेता गिरिजाप्रसाद कोइरालालगायतलाई थुनेको थियो । आन्दोलनको दमनपछि काँग्रेसले अहिंसात्मकरुपमा सत्याग्रहलाई देशव्यापी बनाएर सङ्घर्षलाई निरन्तर दियो ।
मजदुर आन्दोलन र सत्याग्रहबाट अत्तालिएका राणाले धरपकड र दमन जारी राखेकै अवस्थामा नेताको रिहाइ र आन्दोलनलार्ई थप सशक्त बनाउन २००४ सालमा वनारसमा दोस्रो महाधिवेशन सम्पन्न भयो । बिपी कोइरालाको रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बन्नुभयो ।
तेस्रो महाधिवेशन विसं २००५ मा भएको थियो । महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कावा अध्यक्ष बन्नुभएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएको हो । एकीकरणपछि पार्टीको नाम नेपाली काँग्रेस राखियो । एकीकरणसँगै पार्टीको चौथो महाधिवेशन पनि सम्पन्न भयो।
महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो । कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरलगायतले विभिन्न जिम्मेवारी बहन गर्नुभयोे । सम्मेलनले नेकाको ऐतिहासिक घोषणापत्र २००६ जारी ग¥यो जसले राणाशासनको समाप्तिका लागि आमजनतालाई आह्वान गरी ऐतिहासिक क्रान्तिको घोषणा ग¥यो ।
घोषणापत्रमा राणाशासनको समाप्तिमात्र नभएर निर्वाचित जनप्रतिनिधिको सरकार, शोषणमुक्त आर्थिक व्यवस्था, सामाजिक न्याय, राष्ट्रिय स्वतन्त्रता, समानता एवम् विश्व शान्तिमा आधारित परराष्ट्र नीतिलाई आफ्नो आधारभूत सिद्धान्तका रुपमा अङ्गिकार गरिएको थियो ।
काँग्रेसको २००६ को महाधिवेशनपछि २००७ साल कात्तिक २१ गते भारतको बैरगनियामा बन्द सम्मेलन गरी प्रजातन्त्र स्थापनार्थ काँग्रेसले सशस्त्र क्रान्तिको उद्घोष ग¥यो । क्रान्तिका माध्यमबाट १०४ वर्ष लामो जहानियाँ शासनको अन्त भई २००७ साल फागुन ७ गते नेपाल प्रजातान्त्रिक युगमा प्रवेश ग¥यो । विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतले यस क्रान्तिको नेतृत्व गर्नुभएको थियो ।
सात सालको क्रान्तिको सफलतासँगै काँग्रेसको पाँचौँ महाधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो । विश्वेश्वरप्रसाद कोइराला निर्वाचित हुनुभएको सो महाधिवेशनले देशमा यथासक्य चाँडो आमनिर्वाचन गराउन सत्याग्रहको घोषण ग¥यो । देशव्यापीरुपमा २०११ सालमा दोस्रो सत्याग्रह सुरु भयो ।
छैटौँ महाधिवेशन २०१२ साल माघमा वीरगन्जमा भयो । महाधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापतिमा निर्वाचित हुनुभयो । यसै महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई पारित समेत गरेको थियो । विराटनगर विशेष महाधिवेशन २०१४ ले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन ग¥यो ।
सातौँ महाधिवेशन २०१७ मा, आठौँ महाधिवेशन झापा कलवलगुडीमा २०४८ मा, नवौँ महाधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौँमा २०५३ मा र दशौँ महाधिवेशन पोखरामा २०५७ मा सम्पन्न भयो । आफ्नै विवादका कारण विस ं२०५९ मा काँग्रेस टुक्रियो । दुवैले छुट्टाछुट्टै अधिवेशन गरे । कार्यकर्ताको दबाब र राजनीतिक घटनाक्रमले अन्ततः २०६४ मा पार्टी एकीकरण भई १२ आँै अधिवेशन विसं २०६७ असोजमा काठमाडौँमा सम्पन्न भएको थियो ।
]]>
प्रतिक्रिया