देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीलाई गति दिन सभापतिमा मेरो उम्मेदवारी– शाही

देशान्तर

कर्णबहादुर शाही, सचिव, नेपाली कांग्रेस जुम्ला

नेपाली कांग्रेस जुम्लाको सहसचिव हुँदै हाल निर्वाचित सचिवका रूपमा कार्य गरिरहेका युवा नेता कर्णबहादुर शाहीले आसन्न पार्टीको जिल्ला अधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गरेका छन् । कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेर युवा नेता शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेसको क्रियाशील सदस्यताको विवाद कायमै छ । यस्तो अवस्थामा महाधिवेशन समयमै सम्पन्न हुन सक्छ त ?

नेपाली कांग्रेसको आवधिक निर्वाचन भनेकै आन्तरिक जीवनको हो । त्यसैले यो अन्तिम पटकको समयावधि पार्टीले निक्र्यौल गरेको छ । महाधिवेशन गर्नका खातिर सबै शक्तिहरू परिचालन गरेको छ । यस अर्थमा बुझिन्छ कि तोकिएकै समयमा निर्वाचन हुन्छ ।

कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंग्याउन असार मसान्तसम्मको समयावधि छानबिन समितिलाई दिएको छ । विवाद टुंगिनेभन्दा पनि बल्झिने क्रम सुरु भएको छ । जिल्लाबाट उजुरी पर्न थालेको छ । यस्तो अवस्थामा महाधिवेशन हुन्छ भनेर कसरी भन्नु सक्नुहुन्छ ?

यो विवादलाई पार्टीले विभिन्न चरणमा विभाजन गरेको छ । प्रथम चरणका जिल्लाहरूको क्रियाशील सदस्यता टुंग्याइसकेको छ । जहाँ अलिक बढी जटिल छ, त्यस्तो जटिलताको प्रकृति हेरी छानबिन समितिलाई सहमतिमा टुंग्याउने र सहमतिमा पनि टुंग्याउन नसकिने प्रकृतिका एकाध जिल्लाका सवालमा शीर्ष नेतृत्वबाट एक तहको संवादपछि सल्टाउने सहमति भएको छ । यी सबै सहमतिले स्पष्ट हुन्छ कि महाधिवेशन गर्नका लागि सबै नेतृत्व तहमा एकमत छ ।

कांग्रेस महाधिवेशनमा जहिले पनि नेतृत्वका विषयमा मात्रै चर्चा हुन्छ । पार्टीभित्रका गुट, उपगुटका कारण पार्टी कमजोर हुँदै गएको छ । गुटका अन्त्य गरेर पार्टीलाई एकताबद्ध कसरी बनाउने र सक्षम व्यक्तिलाई नेतृत्वमा कसरी ल्याउने भन्नेबारे किन बहस हुँदैन ?

नेपाली कांग्रेस लोकतान्त्रिक विधि र लाखौं नागरिकलाई जोडेर हिँड्ने पार्टी हो । यस पार्टीमा असल सिद्धान्त र लाखौं नागरिक मात्रै नभई सयौं त्याग, तपस्या र अनुभवबाट लामो समय व्यतित गरेर नागरिक विरोधी मुलुकका सबै शक्तिहरूलाई किनारा लगाउँदै लोकतन्त्र स्थापित गर्ने नेताहरूको सागर भएको पार्टी हो । यहाँ सबैले अपेक्षा गर्ने एक जनामात्रै नभई उस्तै ताकत र जनविश्वास बटुलेका सयौं नेताहरूले नेतृत्व गरेको दल भएकाले गुट, उपगुट गर्ने हेतुले होइन, नेतृत्व सम्हालेर पार्टीलाई सही तरिकाले गति दिनका लागि योग्य छु भन्ने ठहर गर्नेको पनि हुल छ । कस्तो नेतृत्व छनोट गर्ने भन्ने कुरा अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिहरूले गर्ने र महाधिवशेन सफल भइसकेपछि गुट, उपगुटहरू स्वतः निष्क्रिय भई निर्वाचित कार्यसमितिले पार्टी सञ्चालन गर्ने भएकाले यसलाई पनि हामीले सहजै ग्रहण गर्नुपर्छ ।

पार्टीभित्र गुट, उपगुट हुन सक्छन् । तर, पार्टी गतिविधिलाई नै असर पुर्‍याउने गरी ती गुट, उपगुट सक्रिय हुन हुँदैन । पार्टीभित्र कुनै एजेन्डामा मत विभाजन हुन सक्छ । नेताहरूले एजेन्डामा आफ्ना फरक विचार राख्न सक्नुहुन्छ । तर, पार्टी सञ्चालन र पार्टीको निर्णय मान्न तथा कार्यान्वयन गर्न सबै नेताहरू लाग्नुपर्छ । महाधिवेशनको मैदानमा उत्रिँदै गर्दा प्यानल बन्न सक्छन् तर, नेतृत्व चयन भएपछि सबै गुट, उपगुट निष्क्रिय हुन्छन् । त्यसैले पार्टीलाई हामी सबैले कसरी बलियो बनाउने र सही व्यक्तिलाई कसरी नेतृत्वमा ल्याउने भन्नेबारे गम्भीर भएर यो महाधिवेशनमा सोच्नु पर्छ ।

पार्टीले लिने नीति र अबको बाटो के हुनुपर्छ जस्तो लाग्छ तपाईंलाई ?

बीपी कोइरालाले निर्माण गरेको सिद्धान्तसँग कसैको भिन्न मत देखिँदैन । नेतृत्वले कार्यान्वयन गर्ने सवालमा बेलाबेलामा कहीँ व्यवधान आउने, कतै त्रुटि झल्किने कुराले नेतृत्वमाथि नै प्रश्न उठ्ने नगरेको होइन । १४ औँ महाधिवेशनबाट छनोट हुने नेतृत्वले विशेषगरी यो मुलुकको शिक्षा, स्वास्थ्य, सबै नागरिकको हक हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ । मान्छेको आर्थिक अवस्थाबाट मापन गरेर नागरिकहरूलाई बञ्चित गर्ने राज्यको नीति फेरिनुपर्छ । र, गरिबीको रेखामुनि रहेका नागरिकहरूको गाँस, बासको सुनिश्चितता गर्ने कुरामा सरकार प्रतिबद्ध हुनुपर्छ । अनि मात्र कतैबाट लोकतन्त्र खतरामा पर्न थाल्यो भने पनि आम नागरिकहरूले मेरो लोकतन्त्र भनेर रक्षाका खातिर तैनाथ हुनेछन् । र, लोकतन्त्र सधैँका लागि सुरक्षित हुनेछ ।

पार्टीको महाधिवेशनको मिति तोकिएसँगै जिल्लामा पनि अधिवेशनमा चटारो सुरु भएको छ । नेतृत्वका लागि दाबी गर्ने आकांक्षी पनि देखिन थालेका छन् । जुम्ला सचिवको भूमिका निर्वाह गरिसक्नुभयो, तपाईंले सभापतिमा दाबी गरिरहनु भएको छ, तपाईंलाई नै सभापति किन बनाउने ?

नेतृत्व लिने कुरा आफैँमा रहरको विषय होला । त्योभन्दा पनि पार्टीको विधि र आम नेता तथा कार्यकर्ताको अपेक्षा अनुरूप सञ्चालन गर्न सकिन्छ कि सकिन्न भन्ने ठूलो चुनौतीको कुरा हो जस्तो मलाई लाग्छ । स्वाभाविक ढंगले जिल्लामा सभापतिका आकांक्षी थुप्रै साथीहरू हुनुहुन्छ ।

तर, निर्वाचित पार्टी सचिवको नाताले जिल्लाका साथीहरू र जनताको सुख, दुःखमा प्रत्यक्ष सहभागी भएको नाताले त्यही पंक्तिबाट मलाई सभापतिको उम्मेदवारीको दाबी गर्न सुझाव भएअनुसार मैले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

पार्टीलाई चलायमान बनाउने र आसन्न तीनै तहका निर्वाचनमा पार्टीलाई जिताउनका लागि मैले आफ्नो रोडम्याप साथीहरू समक्ष राख्नेछु । ती निर्वाचनमा पार्टीभित्र लामो समयसम्म त्याग र संघर्ष गरेका, थुप्रै जनताको विश्वास बटुलेर निर्वाचन विजयी हुन सक्ने र विजयीपश्चात् विद्यमान विधिभित्र रही सबै नागरिकको हितमा काम गर्न सक्नेलाई जिम्मेवारी दिने वातावरण सिर्जना गर्नेछु ।