कुनै भवितव्य नभए नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन पुग नपुग दुई महिनामात्र बाँकी छ । सात दशकदेखि देशको प्रमुख राजनीतिक घटक, देशको व्यवस्था परिवर्तनमा अग्रणी मोर्चा सम्हालेको र मूलधारको प्रमुख राजनीतिक दल भएकाले नेपाली कांग्रेसको राष्ट्रिय मात्र होइन स्थानीय महाधिवेशनले पनि ठूलो महत्व राख्दछ । पछिल्ला तीन दशक भलै यो राजनीतिक सिद्धान्त, आदर्श, विचार, नीति र कार्यक्रमको बहसबाट च्युत हुँदै फगत भीडतन्त्रको नवीन उदाहरण किन नबनेको होस् नेपाली कांग्रेसको ‘ब्रान्ड’ नेपाली समाजमा अझै पनि दुरुस्त छ र यो ‘ब्रान्ड’को व्यापार राष्ट्रिय राजनीतिमा अझै पनि उस्तै बिकाउ छ । त्यसैले आसन्न महाधिवेशनको सन्दर्भमा यो ‘ब्रान्ड’, यसको गुणस्तर, यसको बजार र व्यापारको चर्चा असान्दर्भिक हुँदैन ।
अरस्तु नामका एकजना दार्शनिकले कहीँ कतै लोकतन्त्रलाई ‘विकृत शासन प्रणाली’ भनेका छन् । उनी के भन्दथे भने ‘यसमा बहुसंख्यक विपन्न औ दरिद्र वर्गले आफ्नो वर्गीय हितका खातिर शासन गर्दछ र कालान्तरमा त्यहाँ भीडतन्त्रको उदय हुन्छ ।’ गुन्द्रुकमा पनि सुहाउने सागमा पनि सुहाउने किम्ताङको आलु जस्तै यो विचार नेपालको राजनीति, व्यवस्था, सत्ता र पार्टी सबैका हकमा उस्तै लागू हुने रहेछ । दृश्य र दृष्टि अलग कुरा हुन् । चश्मा जुन रङको लायो दृश्य उस्तै देखिन्छ भन्न सकिएला । तर, अरस्तुले झन्डै दुई हजार वर्षअगाडि देखेको त्यो भीडतन्त्रको दलदलमा एमालेको ओलीतन्त्र, देउवाको कांग्रेसतन्त्र र माओवादीको प्रचण्डतन्त्र उस्तै फसेको छ । र, आन्तरिक लोकतन्त्रमा सबैभन्दा बढी विकृत रहेको उदाहरण नेपाली कांग्रेसभित्र भेट्न सकिन्छ ।
राज्य होस् वा राजनीतिक पार्टी, नेता वा नेतृत्व चुन्ने विषय सधैं प्रधान विषय हुन्छ । यो शृंखलाबाट विशृंखलित हुँदा, संगतबाट असंगत वा वसंगत हुँदा, थितिबाट बेथितिमा हुँदा, विचारबाट विचार शून्यतामा जाँदा, नीतिबाट कूनीतिको बाटो समाउँदा त्यसप्रति समाज र देशको चासो र सरोकार दुवै रहन्छ । जब समय र सन्दर्भ झन् विशिष्ट हुन्छ त्यो बेला नीति र नेतृत्वको बहस सकेसम्म घनिभूत हुनुपर्दछ पनि भनिन्छ ।
बेलायतको एउटा सन्दर्भमा अर्का एकजना विचार (रुसो सायद !) ले ‘बेलायत (इङ्ल्यान्ड) का जनता पाँच वर्षमा एक दिन स्वतन्त्र हुन्छन्’ भनेका थिए । हामीकहाँ त दलीय लोकतन्त्रभित्र त्यो एकदिन पनि स्वतन्त्र छैन । नेपाली कांग्रेसलाई आँखामै राखेर हेर्नेहरूलाई हेरौं न, विवेक भएका र तल्लो तहलाई नेतृत्व गर्ने भनिएका प्रतिनिधिसमेत नेताका ‘बँधुवा कार्यकर्ता’ को हैसियतबाट उठ्न सकेका छैनन् । अवसरको खोजीमा यो वा त्यो कुनाबाट ‘हल्ला बोल्ने’ एकाध स्वर पनि अन्ततः गुटतन्त्रको पुच्छर, फरिया, बाहुला, फेरो समातेर ‘अहम्’ र ‘ब्रम्ह’लाई ल्याम्पपोस्टको मुनि बिक्रीका लागि तयार भएर बसिरहेका हुन्छन् । यही नियतिभित्र नेपाली कांग्रेस तीन देशकदेखि अरस्तुले भनेको जस्तो भीडतन्त्र र रुसोले अनुमान गरेजस्तो स्वतन्त्रताबाट विमुख अथवा बँधुवा कार्यकर्ताको भीडतन्त्रको सग्लो मतियार हुँदै आइरहेको छ । किन ?
किनकि नेपाली कांग्रेसमा विधिको बहस परापूर्वदेखि नियमित छ । आचरणको बहस युगौंदेखि उस्तै छ । नेतृत्वको अधिनायकी दशकौंदेखि सदाबहार विषय छ । यो राजनीतिक पार्टी त हो तर यो भित्र अहिले पनि सिद्धान्त वा विचारको होइन नेतालाई केन्द्रमा राखेर मत जाहेर गरिन्छ, नीति र कार्यक्रमको होइन नेताको कोटरीको किटानी पहिला गरिन्छ, पुराना अभ्यासको समीक्षा र नवीन विचारको सिद्धान्तनिष्ट एवम् तार्किक बहस होइन परिवार, टाउको, अनुहार पहिला केलाइन्छ । मान्नुहोस्, वैचारिक अन्तरविरोध गौण भएको राजनीतिक पार्टीका तत्काल रूपान्तरणको गुञ्जायस हुँदैन । नेपाली कांग्रेसको पछिल्ला दशकहरूको अभ्यासले यसै भन्छ ।
एउटा जमाना थियो कांग्रेस भनेकै प्रजातन्त्र मानिन्थ्यो । प्रजातन्त्र भनेकै कांग्रेस मानिन्थ्यो । कांग्रेसको समाजवाद । समाजवादी कांग्रेस । कांग्रेस र समाजवाद पूरक लाग्थ्यो । भलै विश्वेश्वरप्रसाद कोइरालाले जयप्रकाश नारायणको विचारलाई नेपालीकरण गरेर कांग्रेसभित्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्थायी नारा बनाए (यो पाटोमा अर्को बहस गर्न सकिन्छ ।) र नेपाली कांग्रेसको त्राण र प्राण दुनियाँले देख्न सक्ने बनाए । तर, उनको शेषपछि यो क्रमशः क्रमशः शिथिल हुँदै देउवाको आजको कार्यकालसम्म आइपुग्दा मृतप्रायः छ ।
विश्वेश्वरप्रसाद कोइरालाको वैचारिक विरासत जसले नेपाली कांग्रेसको मौलिकताको प्रतिनिधित्व गरेको मानिन्छ, त्यो भुत्ते भएको छ । जानकारहरू तथ्य र प्रमाण लिएर भन्न सक्ने भएका छन्, ५० को दशकको गिरिजाप्रसाद कोइराला र ६० को दशकको शेरबहादुर देउवाकालीन नेतृत्वले नेपाली कांग्रेसलाई विचार र संगठन दुवैमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक, अस्पष्ट र कार्यदिशाहीन बनाइदिएका छन् । र, हुँदाहुँदा विचार, नीति, सिद्धान्त र कार्यक्रममा नेपाली कांग्रेस वामपन्थीहरूको कठपुतलीमा रूपान्तरित हुँदै गएको छ । दोस्रो दिल्ली सम्झौता उर्फ १२ बुँदे सम्झौतादेखि २०७८ साल असार २५ गतेसम्म आइपुग्दा नेपाली कांग्रेस वामपन्थीको कठपुतली मात्र बनेर पालैपालो यता र उता हल्लिरहेको दृश्य ‘सोलिड’ देखिन्छ ।
आसन्न महाधिवेशनमा नेपाली कांग्रेसले मौलिक रूप र स्वरूपको खोजी गर्ने वा वामपन्थीकै कठपुतली बन्ने बाटोलाई निरन्तरता दिने ? सवाल चाहिँ यो हो ।
नेपाली कांग्रेसको पुँजीवाद, उदारवाद र समाजवादको धारणा र अभ्यासबारे अर्को अध्यायमा चर्चा गरौंला । उदारवादको लँगौटीले अवरुद्ध बनाएको समाजवादी परिकल्पनाबारे पनि क्रमशः बहस गरौंला । पार्टीका टाउकाहरूले कट्टुभित्र हात हालेर निकाल्ने कागजी चिर्कटोमा सीमित ट्रेड युनियनबारे पनि पछि बहस गरौंला । उद्योगको राष्ट्रियकरण र उद्योगमाथि राज्यको नियमन एवम् नियन्त्रणबारे पनि पछि कुरा गरौंला । आत्मनिर्भर अर्थतन्त्रविरुद्ध परनिर्भर अर्थतन्त्रका उसले प्राप्त गरेको सफलतालाई नाप्ने विश्व बैंकको मापदण्ड पनि पछि हेरौंला । श्रेणीगत समाजवाद र क्रमिक विकासको समाजवादी अवधारणा जसभित्र फेबियनवादी अवधारणालाई सर्लक्क काँध थापेर नेपाली कांग्रेसले आधा शताब्दी लामो यात्रा कसरी ग¥यो ? त्योबारे यहाँ बहस सम्भव छैन । नेपाली कांग्रेसको बाँसुरीमा मौलिक धुन भर्ने वा वामपन्थीकै राग निरन्तर बजाउने ? भागवत् गीतामा कृष्णले भनेझैं नेपाली कांग्रेसले नयाँ कर्म निधारण गर्ने वा पुरानै कर्मको कर्मफल भोग्ने ? कम्तीमा नेपाली कांग्रेसको पछिल्लो दुई दशकको यात्रा नियालेर सबैले प्रश्न गर्दा हुन्छ– आसन्न महाधिवेशनबाट नेपाली कांग्रेस मौलिक स्वरूपमा फर्कने वा वामपन्थीकै कठपुतली बन्ने ?
नेपाली राजनीतिका केही मुख्यमुख्य परिघटनाहरू नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवासँग गएर ठक्कर खान्छन् । द्वन्द्वको उदय, त्यसप्रतिको सम्बोधनमात्र होइन राजतन्त्रकालीन संसद् र त्यसको अभ्यासका सन्दर्भमा पनि शेरबहादुर देउवाका किस्सा बजारिया छन् । हिजोको राज्यसत्ताको उपरी संरचनामा रहँदा पनि र आजको राज्यसत्ताको नवीन अभ्यासको सन्दर्भमा पनि शेरबहादुर देउवा दोहोरिरहने पात्र हुन् । केपी शर्मा ओलीले दोस्रोपटक गरेको संसद् विघटन र त्यसपछि बूढानीलकण्ठले प्रचण्ड र माधव नेपालको तातो खोज्दै आइरन (इस्त्री) लगाएको दौरासुरुवालसम्म आइपुग्दा यसभित्र थप किस्सा जोडिन्छन् ।
अफसोच, यी दुवै दृष्टान्तमा पटकपटक परीक्षण भएर पनि कहीँ कतै सफल हुन नसकेको नेतृत्वको सग्लो उदाहरण देउवाभित्र आएर समेटिन्छ । यसैले विश्लेषकहरू भन्छन् गिरिजाप्रसाद नेतृत्वले पार्टीभित्र दाइजो एवम् पुस्तौनी सम्पत्तिकै शैलीमा सही, विचारै मारेर भए पनि संगठनमा प्राण भर्न यथाशक्य प्रयत्न गरे तर देउवाले विचार र संगठन दुवैलाई धुजाधुजा बनाइदिए । कोइरालाको नेतृत्वमा भएको दिल्ली सम्झौताको दोस्रो संस्करणदेखि नेपाली कांग्रेसभित्र सुरु भएको वैचारिक राजनीतिक संक्रमणलाई देउवा नेतृत्वको कांग्रेसले उत्कर्षमा पुर्यायो।
यो संक्रमणको जरो नेपालको संविधानको प्रस्तावनासम्म पुगेर जोडिन्छ । यो संक्रमणको जरो वामपन्थीका मुद्दाहरूलाई महादेवले सतीदेवी बोके जसरी बोक्दै बिसाउँदै शक्तिपीठ बनाउँदै हिँड्ने नेपाली कांग्रेससँग जोडिन्छ । यो संक्रमणको जरो कहिले बोकाको टाउको जोडिएको दक्ष प्रजापतिजस्तो नेपाली कांग्रेससँग जोडिन्छ त कतै हात्तीको टाउको जोडिएको गणेश स्वरूपमा नेपाली कांग्रेससँग गएर जोडिन्छ । यो जोडिन्छ वामपन्थीले अपहरण गरेको नेपाली कांग्रेसको समाजवादसँग । यो जोडिन्छ कोटेश्वर र भैंसेपाटीले तय गरिदिने नेपाली कांग्रेसको प्रजातन्त्र वा लोकतन्त्रको रक्षासँग । यो जोडिन्छ भीम रावलले पानी छर्केर ब्युँझाइदिनपर्ने सत्ताको प्रतिपक्षी नेपाली कांग्रेससँग । यो जोडिन्छ प्रचण्डले धारण गरेको धनुषामा माधव नेपालले साँधेको तीरले सत्ताको सिकार खोज्ने लाचार र निरूपाय नेपाली कांग्रेससँग । यो जोडिन्छ राष्ट्रिय मुद्दाहरूमा सम्बोधनदेखि अन्तर्राष्ट्रिय सम्बन्धका पर्खालहरूसम्म । यो संक्रमण क्रमशः जात र धर्मको बाटो हुँदै नेपाली कांग्रेसको फोक्सो, कलेजो र मुटुसम्म पुग्ने क्रममा छ । भवितव्य नभए कांग्रेस नेपाली कांग्रेस हुन्छ वा वामपन्थीको कठपुतली ? उत्तर दिने नै छ ।
२०७८ असार २७ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित
प्रतिक्रिया