देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काग्रेंस महाधिवेशनको उद्‍घाटन २० गते १ वजे

देशान्तर

काठमाडौं । काग्रेंसको १३ औं महाधिवेशन उद्‍घाटन फागुन २० गते रत्नपार्कस्थित खुलामञ्चमा दिउँसो १ बजे हुने भएको छ ।  महाधिवेशनको उद्‍घाटनको तयारी भइरहेको महाधिवेशन व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए । उद्घाटन समारोहमा सम्पूर्ण शीर्ष नेताहरुसहित २ सय ४० नै निर्वाचन क्षेत्रबाट आएका करिब ३२ सय प्रतिनिधिको सहभागिता हुनेछ । फागुन २४ सम्म चल्ने महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधि आउने छन् । साथै, सम्पर्क समिति र भातृसंगठनका प्रतिनिधि समेत हुने छन् । दोस्रो दिन फागुन २१ मा भृकुटीमण्डपको प्रदर्शनी हलभित्र बन्द सत्र हुने छ ।

तेस्रो दिन फागुन २२ मा प्रतिनिधिहरुले उमेद्धवारी दर्ता गर्ने छन् । फागुन २३ मा निर्वाचन हुने छ । ‘निर्वाचन पहिले पार्टी कार्यालय हुने भनिएको थियो, ’ बानियाले भने, ‘प्रदर्शनी हलमै निर्वाचन गरेर पछि पार्टी कार्यालयमा मत परिणाम गर्ने पनि भनिएको छ । यस बारेमा अझै टुंग्लो लाग्न बाकि छ ।’ पाँचौ तथा अन्तिम दिन फागुन २४ मा मतगणना काग्रेंसको पार्टी कार्यालय सानेपामा रहेको बीपी स्मृति भवनमा गरिने कार्यक्रम छ । यस पटकको काग्रेंस महाधिवेशनमा विद्युतीय प्रणाली अनुसार मत हालिने योजना समेत रहेको छ । ‘तर यस बारेमा अझै प्रष्ट भइसकेको छैन,’ निर्वाचन समितिका एक सदस्यले भने ।

महाधिवेशनको उद्घाटन समारोहमा सांस्कृतिक प्रस्तुती हुने छन् । पार्टीको सांस्कृतिक विभागकी प्रमुख समेत रहेकी मिना सुब्बाको नेतृत्वमा सांस्कृतिक समितिले उद्घाटन समारोहमा राष्ट्रियताले भरिएको गीतसहित उहि अनुसारको नाचको प्रदर्शनी गर्ने छ । ‘हामीले महाधिवेशनका लागि नयाँ गीत बनाएका छौं,’ उनले भनिन् ‘हिमाल, पहाड र तराई मुलुकका सबै क्षेत्रको झल्को दिने गरि नृत्य पनि तयार पारेका छौं ।’

महाधिवेशनस्थित तयार पार्न मञ्च व्यवस्थापन समितिले काम गरिरहेको छ । केन्द्रिय सदस्य नविन्द्रराज जोशीको संयोजक रहेको उक्त समितिले खुलामञ्चको काम गरिरहेको छ । उपत्यका बाहिरबाट आउने महाधिवेशन प्रतिनिधिलाई खाना र बसोबासको व्यवस्थाको काम भोजन–आवास व्यवस्थापन समितिले गरेको छ । समितिका संयोजक बलबहादुर केसीले भने,‘१९ गते बेलुकीबाट महाधिवेशन प्रतिनिधिहरुले आवास र खानाको सुविधा पाउने छन् । आवासको सुविधा ५ दिन र भोजन ८ छाकको व्यवस्था गरिएको छ ।’

]]>